मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससको युलेस सिटीमा नयाँ मन्दिर र स्तुपाको निर्माण अघि बढ्यो

टेक्ससको युलेस सिटीमा नयाँ मन्दिर र स्तुपाको निर्माण अघि बढ्यो


ड्यालस (अमेरिका) । नेपाल बाहिरको संभवत सबैभन्दा ठूलो पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा निर्माणको औपचारिक सुरुवात शनिबारदेखि टेक्ससको युलेस सिटीमा सुरु भएको छ । 

 
शनिबार अपरान्ह वैदिक तथा बौद्ध परम्पराअनुसार पूजा आराधनासहित पुरानो भवनको पुनरसंचरना सुरु भएको छ । गत वर्ष करिब ११ लाख डलरमा खरिद गरिएको १५ हजार वर्गफिटको भवनलाई पुनरसंरचना गरेर केही महिनाभित्रै त्यहाँ मन्दिर सार्ने काम हुनेछ । 

 
‘यो भवन कम्युनिटी सेन्टरका रुपमा रहनेछ । यसमा सभा हल, बच्चाहरुका लागि स्कुल, कार्यालय सञ्चालनका लागि कोठाहरु, क्याफ्टेरिया लगायतका संरचनाहरु हुनेछन्’ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालले भने । दोस्रो चरणमा भने भव्य पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाको निर्माण हुनेछ । तेस्रो चरणमा बौद्ध हल तथा मेडिटेसन हलको निर्माण हुनेछन् । 

 
आउँदो ६ महिनाभित्र पहिलो चरणमा पुरानो भवनलाई पूरै संरचना फेरेर अस्थायी रुपमा मन्दिर सार्ने र सवारी साधन पार्किङलट, जमिनलाई सुधार गर्ने काम गरिसक्ने योजनामा समिति रहेको छ । पहिलो चरणमै पिकनिक टहरा, हिँड्ने पेटी निर्माण गरिसक्ने योजनामा समिति रहेको छ । यी सबै कार्य सम्पन्न गर्नका लागि थप १५ लाख डलर संकलन गर्नुपर्ने अनुमान मन्दिरका पदाधिकारीहरुले गरेका छन् । 
 
दोस्रो चरणमा भने २५ लाख डलरमा पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपाको निर्माण हुनेछ । दोस्रो चरण सबैभन्दा महत्वपूर्ण चरण हो । यो पुरा भैसकेपछि नेपाली समुदायले गर्व गर्न लायक भव्य संरचना सहितको मन्दिर, सामुदायिक केन्द्र तयार हुनेछ । 
 
तेस्रो चरणको मेडिटेसन सेन्टर, बौद्ध हलको लागत १० लाख डलर रहेको छ । यी सबै संरचनाको निर्माण पुरा भएपछि लामो समयदेखि नेपाली समुदायले राख्दै आएको चाहना पुरा हुनुका साथै विवाह, व्रतबन्ध लगायतको कार्यक्रमहरु गर्नका लागि हल समेत उपलव्ध हुनेछन् । 

 
युलेसको हाइवे–१० सँगै दक्षिणतर्फको रोयल लेनमा नयाँ मन्दिर रहनेछ । अग्लो स्थान भएकोले उत्तर तथा पूर्वी भागमा हेरेर आनन्द लिन सकिने र सररर हावा चल्ने स्थान समेत भएकोले यो स्थान मन्दिरमात्र नभएर बालबालिकालाई खेल्न, वृद्धवृद्धाहरुलाई भजनकिर्तन गर्न र वयष्कहरुलाई भेटघाटको अतिनै राम्रो स्थल हुने धारणा शनिबार उपस्थित सहभागीहरुको रहेको थियो । 

 
शनिबारमात्र पहिले मन्दिरको लागि प्रतिवद्धता जनाएका र नयाँ गरि झण्डै एकलाख डलर संकलन भएको छ । ‘अबको तीनवर्ष हामी यहाँ हरेक दिन निर्माणमा संलग्न हुनेछौँ । हरदिन निर्माण भैरहेको हुनेछ’ मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेलले भने । 

 
शनिबार मन्दिर निर्माणस्थलमा पूर्वअध्यक्षहरु डा. मुरली अधिकारी, रमेश पोखरेल, मन्दिरका महासचिव छवि चापागाईं, बासु भण्डारी, आमोद श्रेष्ठ, गगन केसी, स्वयम्भू शाक्य, मकर बज्राचार्य, धनञ्जय ढकाल, बासु श्रेष्ठ, भेषराज शिवाकोटी, अजय बगाले, कृष्ण भण्डारीलगायतले खुसी व्यक्त गरेका थिए । 
 
मन्दिरको निर्माण सुरुसँगै चन्दा दिन र सदस्यता ग्रहणका लागि व्यापक रुपमा चासो बढेको छ । यही चासो र जागरुकता देखेर मन्दिरका पदाधिकारीहरु निर्धारित मितिभन्दा अघि नै निर्माण सम्पन्न हुनेमा ढुक्क छन् । 

 
‘निर्माण ढिला हुँदा लागतसमेत बढ्दै जान्छ । दुई वर्षअघि ५० लाखको अनुमान गरेकोमा अहिले निर्माण सामग्री, मजदुरको ज्याला बढेका कारण ६० लाख पुग्ने संशोधित अनुमान गरेका छौँ । यो लागत घटाउन पनि हामीले सबै सहृदयी, कम्युनिटीलाई मायाँ गर्नेहरुसँग सकेसम्म चाँडो सहयोग पाउने आशा लिएका छौँ’ बोर्ड अफ ट्रष्टी अध्यक्ष अर्यालले भने ।