मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा बढ्यो एसियनहरुमाथीको आक्रमण

अमेरिकामा बढ्यो एसियनहरुमाथीको आक्रमण


अमेरिका- केही हप्ता अघि क्यालिफोर्नियामा नेपाली चालक शोभाकर खडकामाथी केही महिलाहरुले गरेको आक्रमणको भिडियो संसारभरी भाइरल बन्यो । मास्क लगाउन अनुरोध गरेकै निहुंमा छालाको रंगको आधारमा खडकामाथी ती महिलाहरुले आक्रमण गरेका थिए, जुन भिडियोले नै प्रष्ट्याउंथ्यो । अहिले आक्रमणकारीहरु प्रहरीको नियन्त्रणमा छन भने उनीहरुमाथी छानविन भइरहेको छ। 
 
त्यस्तै अर्को घटना,
न्युयोर्कका नेपाली आशिष सापकोटामाथी आक्रमण भयो। गाडीमा सवार दुइजना यात्रु एकआपसमा झगडा र आक्रमण गर्न थालेपछि गाडी भित्र झगडा नगर्न अनुरोध गरेकै आधारमा सापकोटामाथी आक्रमण गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 
 
नेपालीमाथी नै आक्रमण भएका माथी उल्लेखित केही प्रतिनिधि घटनाहरु हुन। यस्ता कैयन आक्रमणका घटनाहरु छन जुन बाहिर नआइकनै सेलाइसक्छन । कतिपय घटनाहरु पीडितहरुले नै सार्वजनिक गर्न चाहंदैनन भने कतिपय घटनाका बारे प्रहरीसम्म जानकारी भएपनि सञ्चार माध्यमसम्म पुग्दैनन। यस्ता घटनामध्ये केही त मान्छेका सनकका भरमा हने गरेको पाइन्छ भने अधिकांश छालाको रंग र बाहिरी महादेशबाट आएकै आधारमा हुने गरेको अनुसन्धानले देखाउछ। 
 
त्यस्तै यसै हप्तामात्रै क्यालिफोर्नीयामा ७४ बर्षीया चीनीयाँ महिला जीया जेनलाई एक ३७ बर्षीय पुरुषले आक्रमण गरी घाइते बनाए । पीडित महिलाको आँखामा गम्भीर चोट लागेको छ । महिलाको प्रतिकारमा आक्रमणकारीपनि घाइते भएका छन । त्यस्तै सोही क्षेत्रमा केही दिन अघि एक ८५ बर्षीय एसियन पुरुषमाथी पनि आक्रमण भएको थियो । दोषीको खोजी भइरहेको क्यालीफोर्नीया प्रहरीले जनाएको छ।  
 
अब प्रसंग, जर्जियाको एटलाण्टामा भएको मसाज केन्द्रमा भएको आक्रमणको,
मार्चको १६ तारिखमा जर्जियाको एटलाण्टाका केही मसाज केन्द्रहरुमा श्रृङ्खलाबद्ध आक्रमण अमेरिकामा मात्र होइन विश्वभरीनै प्रमुख समाचार बन्यो। अमेरिकामा दैनिक जसो कुनै न कुनै शहरमा गोली काण्ड भइनै रहन्छन। तर एटलान्टाको योजनाबद्ध र श्रृङ्खलाबद्ध आक्रमणमा एसियनहरुलाई नै निशाना बनाइको हुदापनि संसारभरी चासोको विषय बन्यो । यद्यपि सो घटनाका बारे अनुसन्धान चलिरहेको छ भने केही संदिघ्धहरु पक्राउ परिसकेका छन । यो सामग्री तयार पार्दासम्म सो घटनाका मृतक ८ जना पुगिसकेका छन। घटनाबारे चौतर्फी आलोचना भइरहेको छ। घटनामा मृतकहरु एसियन मुलका रहेको भने प्रष्टिएको छ। मृतकहरु मध्ये अधिकांश दक्षिण कोरीयाका महिलाहरु हुन। 
तस्बिर: सामाजिक संजाल

तस्बिर: सामाजिक संजाल
यी र यस्तै घटनाहरुले नै देखाउंछन, अनुहारको बनौट र छालाको रंगकै आधारमा अमेरिकामा आक्रमणका घटना दिन दोगुना रात चौगुनाको दरले बढीरहेका छन । यी बाहेक सार्वजनिक सवारी, ग्रोसरी स्टोर तथा अन्य सार्वजनिक स्थानहरुमा हुने अभद्र व्यवहारका घटना त तथ्यांकमै सामेल हुदैनन । पछिल्ला बर्षहरुमा अमेरिकामा एसियनहरुमाथीको आक्रमण तिव्र रुपमा बढीरहेको चिन्ता त थियो नै । अघिल्लो बर्ष जब कोरोना भाइरस फैलिन थाल्यो तब भाइरस सम्बन्धी हिंशामा चीनीया सहित कैयन एसियनहरु निशानामा परे। पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प देखि सामान्य स्वेत र अश्वेत अमेरिकीहरुले कोभिड १९ लाई चीन तथा एसियनहरुको उत्पादनको रुपमा टीप्पणी गरेका कारणपनि एसियन मुलका मानिसहरु मारमा परीरहेका छन। 
 
झण्डै चार हजार हिंसा एक बर्षमै 
एसियन अमेरिकीहरुको हितमा काम गर्ने संस्था एसीयन अमेरिकन र प्यासीफीक आइल्याण्डर कम्युनीटी अन्तर्गतको स्टप एएपीआइ हेटले गरेको अनुसन्धान अनुसार कोभिड १९ शुरु भएपछिको एक बर्षको अवधिमा मात्र तीन हजार सात सय ९५ वटा हिंशाका घटनामा एसियनहरुलाई तारो बनाइएको थियो । सन २०२१ शुरु भएपछि नै पाँच सय भन्दा धेरै एसियनहरुमाथी आक्रमण गरिएको छ । एसियनमाथी भएका आक्रमणका घटनाका शिकार महिला भएको पनि एएपीआइ हेटको रिपोर्टमा उल्लेख छ । आक्रमण र दुव्र्यवहारको कारण रंगभेद र जातीभेद नै रहेको बताइएको छ । हिंशा अन्तर्गत  एसियनहरुलाई गाली गर्ने होच्याउने र दुव्र्यवहार गरिएको छ । तथ्यांकमा जनाइएका हिंशामा ६८ प्रतिशत भन्दा धेरै यस्तै प्रकारका हिंसा रहेका छन । त्यस्तै झण्डै २१ प्रतिशत घटनाहरुमा एसियनहरुलाई विभेद गरिएको तथा बहिष्कार गरिएको छ। 
 
एसियन महिलाहरु झन पीडित
रिपोर्टका मुताबिक एसियन तथा प्यासीफीक आइल्याण्डरमाथी हुने  हिंशाका शिकार ६८ प्रतिशत महिलाहरु भएका छन भने २६ प्रतिशत पुरुषहरु छन । पुरुषको तुलनामा एसियन महिलाहरु दुई दशमलव तीन प्रतिशत धेरै गुणा हिंसाको सिकार भएका छन । महिलाहरु अधिकांश समय सार्वजनिक यातायातहरुमा हिंसाबाट प्रताडित भएको तथ्यांकमा उल्लेख गरिएको छ । 
 
न्युयोर्कमा एसियनमाथीको हिंसा ८ सय प्रतिशतले बढ्यो 
आप्रवासीको सहर अर्थात अमेरिकामै सबैभन्दा धेरै एसियन जनसंख्या भएको न्युयोर्क सीटीमा कोरोना भाइरस शुरु भएयता एसियनहरुमाथीको आक्रमण र हिंसाका घटनामा अत्यधिक बृद्धि भएको तथ्यांकले देखाउंछ । अघिल्लो बर्ष जम्मा तीन जना एसियनहरुमाथी हिंशा भएकोमा गत बर्ष २८ जना एसियनहरुमाथी आक्रमण गाली गलौज तथा विभेदजन्य हिंशा भएको छ । यसलाई प्रतिशतमा निकाल्दा ८ सय तीस प्रतिशत भन्दा धेरै हुन आउछ । त्यसै गरी अमेरिकाका अन्य राज्य र सहरहरुमा पनि एसियनहरुमाथीको आक्रमण तिब्र रुपमा बढ्दो छ । फिलाडेल्फीया र आहायोमा एसियनहरुमाथीको हिंशा दुई सय प्रतिशतले बढेको छ भने लस एन्जलस र बोष्टनमा एक सय पचास प्रतिशतको हाराहारीमा बढेको तथ्यांक छ । अधिकांश अमेरिकी सहरमा गत बर्ष एसियनहरुमाीको हिंसा निकै बढेको देखिन्छ। 
 
फरक भाषा, संस्कृति तथा ऐक्यबद्धताको अभावका कारणपनि एसियनहरु पीडित बन्नु परेको अनुमान लगाउन सकिन्छ । एसियन देख्दासाथ अन्य ग्रहबाट आएको जस्तो व्यवहार गर्ने तथा उनीहरुलाई आफ्नो भाग खोस्न आएको ठान्ने मानसिकताका कारणपनि उनीहरु तारो बनेको अनुमान लगाउन गाह्रो पर्दैन । अर्को तर्फ अधिकांश एसियनहरु आफुमाथीको हिंसालाई बाहिर ल्याउन नचाहने तथा जे हुनु भैहाल्यो भन्ने स्वभावका कारणपनि हिंसा बढ्दै गएको अनुमानपनि लगाउने गरिन्छ।