मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी र चिनियाँ कूटनीतिज्ञहरुबीच अर्को साता भेटवार्ता तय

अमेरिकी र चिनियाँ कूटनीतिज्ञहरुबीच अर्को साता भेटवार्ता तय


वासिङ्टन । वरिष्ठ अमेरिकी तथा चिनियाँ अधिकारीहरुबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो । 
 
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ । अझ पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा दुवै मुलुकबीचको सम्बन्ध निकै खराब स्थितिमा पुगेको थियो । 
 
ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभान र चीनका वरिष्ट कूटनीतिक पदाधिकारीहरु स्टेट काउन्सिलर वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख याङ जेचीबीच अलास्काको एन्कोरेजमा यही मार्च १८ मा भेटघाट गर्ने जनाएका छन् । 
 
कङ्ग्रेसको बैठकमा बुधबार पहिलो पटक उपस्थित विदेश मन्त्री ब्लिन्केनले सांसदहरुलाई तिब्बत, हङकङ र पश्चिम सिनजियाङ क्षेत्रको मानव अधिकार तथा व्यापारका साथै कोरोनाभाइरस महामारीका विषयमा दुई देशबीच देखिएका असमझदारीलाई लिएर छलफल गर्ने यो राम्रो अवसर हुने बताएका छन् । साथै उत्तर कोरिया र यसको आणविक हतियार कार्यक्रमका बारेमा पनि छलफल हुन सक्ने बताइएको छ ।
 
सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै विदेश मन्त्री ब्लिन्केनले इरान, क्युबा, इथियोपिया, रसिया र भेनेजुएला मामिलामा बाइडेन प्रशासनको दृष्टिकोणका बारेमा पनि जानकारी गराएका थिए । उनले यी जल्दाबल्दा अन्तर्राष्ट्रिय तथा अमेरिकी चासोका विषयमा कङ्ग्रेससँग निकट सम्बन्ध र सम्पर्क गर्न बाइडेन प्रशासन सधैं तत्पर रहने बताए । 
 
अलास्कामा चिनियाँ अधिकारीहरुसँगको भेटवार्ताअघि विदेशमन्त्री ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले जापानी र दक्षिण कोरियाली समकक्षीहरुसँग टोकियो र सियोलमा भेटवार्ता गर्नेछन् । यी भेटवार्तामा अमेरिका र जापान–दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउन अमेरिकाले पहल गर्नेछ । 
 
राष्ट्रपति जो बाइडेनले यही साता भारत, जापान र अस्ट्रेलियाका प्रधानमन्त्रीहरुसँग हिन्द–प्रशान्त नीतिका बारेमा पनि भर्चुअल छलफल गर्दैछन् । 
 
कङ्ग्रेसको विदेश मामिला समितिमा विदेश मन्त्री ब्लिन्केनले भन्नुभयो, “कुरा एकदमै सरल छ । यो अवसरमा हामी हाम्रा चासोका विषयलाई खुला रुपमा उनीहरु समक्ष राख्नेछौँ ।”
 
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले यसअघि नै चिनियाँ अधिकारीहरुसँग हाम्रा गहिरो असहमतिसमेत विविध विषयमा छलफल हुने बताइसकेका छन् । 
 
अमेरिकी राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प रहँदा अमेरिका र चीनबीचको सम्बन्ध निकै नाजूक स्थितिमा पुगेको थियो । ट्रम्प प्रशासनले चीनमाथि उइगुर मुस्लिम, सिनजियाङका अल्पसंख्यक र तिब्बत मामिलामा बहुआयामिक कारबाहीहरु गरेको थियो भने हङकङ, ताइवान र दक्षिण चीन सागरमाथि चीनको हस्तक्षेपलाई लिएर चीनमाथि दबाब दिएको थियो ।
 
तर, जो बाइडेनले ह्वाइट हाउसको प्रशासन सम्हालेयता पनि चीनमाथिका कारबाहीहरु फुकुवा भइसकेका छैनन् । अर्थात् ट्रम्पका अधिकांश नीतिहरुलाई बाइडेन प्रशासनले पनि निरन्तरता दिने सङ्केत देखिएको छ । एपी