विश्वको इतिहास केलाउने हो भने महिलाहरूले समाजका सबै क्षेत्रमा निर्वाह गरेका भूमिकाका बारेमा अनेकौँ रोचक घटना पाइन्छन् । देशको राजनीति, स्वाभिमान तथा विकासमा महिलाहरूको ठूलो योगदान रहेका दृष्टान्त पनि छन् । महिलाहरूको सकारात्मक एवम् नकारात्मक कार्यको गाथाका विषयमा अनेकौँ कृतिहरू पनि प्रकाशनमा आएका छन् । यस आलेखमा नेपालको इतिहासमा महŒवाकाङ्क्षी महिलाको कारण तत्कालीन राजनीतिमा परेको प्रभावको चर्चा गर्न खोजिएको छ ।
युरोपका विभिन्न मुलुकका इतिहासमा पनि भेटिन्छन् । तत् तत् स्थानका शासकहरूले विभिन्न कालखण्डमा महिलाको वशमा परेर अनेकौँ अवाञ्छित र अप्रत्यासित निर्णयहरू पनि गरेका थिए । फ्रान्सको राज्यक्रान्तिमा लुई सोह्रौँकी रानीको पनि त्यत्तिकै भूमिका थियो । त्यसैगरी विश्व परिदृश्यमा नेपोलियन बोनापार्ट, हिटलर तथा रसियन जारका स्त्री प्रसङ्ग पनि रोचक र कहालीलाग्दा छन् ।
एसियाका सभ्य देश भनेर चिनिने चीन तथा जापान जस्ता देशमा पनि महिलाको महत्वाकाङ्क्षाका कारण षड्यन्त्रकारी राजनीतिको उदय भएका दृष्टान्त पाइन्छन् । यसैगरी हिन्दुस्तानको राजनीतिमा पनि नारीहरूका रोचक र घोचक प्रसङ्ग धेरै छन् । नेपाली समाजका लोकप्रिय ग्रन्थ रामायण र महाभारतका केन्द्रबिन्दुमा पनि नारी पात्र नै छन् । नेपालको इतिहासमा विशेषतः शासकवर्गका महिलाहरूको तत्कालीन राजनीतिमा उल्लेख्य प्रभाव परेका दृष्टान्त छन् । दरबारका रानीहरूले कतिपय समयमा षड्यन्त्रकारी राजनीतिमा पनि आफूलाई सहभागी गराई आफ्नो अभिष्ट पूरा गर्ने धृष्टता गरेका उदाहरणहरू पनि छन् । यसै पृष्ठभूमिमा पृथ्वीनारायण शाहले विजय अभियान सञ्चालन गरी नव नेपाल निर्माणको थालनी गरेपश्चात नेपालको राजनीतिमा दरबारिया महिलाहरूको महत्वाकाङ्क्षा र त्यसबाट परेका प्रभावहरूको सङ्क्षिप्त चर्चा यस आलेखमा गर्न खोजिएको छ ।
दरबारिया महिलाकै कारण उपत्यकाका मल्ल राजाहरू कमजोर भएको तथ्यबाट पृथ्वीनारायण शाह परिचित नै थिए । जयप्रकाश मल्लकी रानी दयावतीको गरुड सिंह भडेलसँग गुप्त प्रेम रहेको चर्चा पाइन्छ । तिनै रानीका कारण उनले राज्यच्यूत हुनुपरेको (बालचन्द्र शर्मा, नेपालको ऐतिहासिक रूपरेखा पृष्ठ ः ९७६) हुँदा पृथ्वीनारायण शाहले आफ्ना रानीहरूलाई रानीकै ठाउँमा मात्र सीमित राखेका थिए । तर, उनको मृत्युपश्चात् दरबारिया महिलाहरू महत्वाकाङ्क्षी भएर निस्किए । यस्तो हुनुमा तत्कालीन शासकहरूकै कमजोरी प्रमुख कारण बनेको देखिन्छ ।
प्रतापसिंह शाह तन्त्रमन्त्रतिर ढल्किई सुरा र सुन्दरीप्रति आशक्त भए । उनले आफ्नी विवाहिता रानी राजेन्द्रलक्ष्मी छँदाछँदै पाटनका वीरनरसिँहकी छोरी मैजुरानीसँग अर्को विवाह गरे । अन्ततः मैजुरानी नै शासनको हर्ताकर्ता हुन पुगिन् । यसको उदाहरण स्वरूप निज राजाकै आदेशलाई प्रस्तुत गर्न सकिन्छ । विसं १८३२ मा पाटनका अमालीदारलाई पठाएको पत्रमा राजाको भित्रेनीले गुह्वेश्वरीमा सुकन्दराजका फूल एकलाख चढाउने भाकल परेकोमा त्यस इलाकामा भए जति सुकन्दराजका फूल दरबारमा ल्याउन आदेश दिइएको थियो (दिनेशराज पन्त, विसं १८३२ देखि १८५८ सम्म नेपालको इतिहासमा नयाँ प्रकाश पार्ने केही पत्रहरू, पूर्णिमा पूर्णाङ्क १७, २०२५ पृष्ठ २८) ।
प्रतापसिंह शाहको २६ वर्षकै उमेरमा निधन भयो । त्यसपछि साढे दुई वर्षका नाबालक रणबहादुर शाह विसं १९७७ मा नेपालको राजगद्दीमा बसे । त्यसबेला मैजुरानी गर्भवती भएकाले उनले तत्काल त सती जानुपरेन तर बालक (शेरबहादुर शाही)को जन्मपछि उनलाई सती जान बाध्य बनाइयो । मैजुरानीको सती गमनमा राजनीतिक षडयन्त्रको गन्ध भेटिन्छ । तत्पश्चात् राजेन्द्रलक्ष्मी र बहादुर शाह मिलेर विगतमा राजाका सन्निकट हुने तथा राजालाई प्रभाव पार्नेहरूमाथि प्रतिशोध लिन थाले । आफ्ना साझा विरोधीहरूको दमन गर्न देवरभाउजूबीच खुबै मेल रह्यो ।
यसै बीचमा बहादुर शाह र राजेन्द्रलक्ष्मीबीच गुप्त सम्बन्धको पनि चर्चा भयो (विशेष जानकारीका लागि चित्तरञ्जन नेपाली, श्री ५ रणबहादुर शाह भन्ने पुस्तक अध्ययन गर्न सकिन्छ) तर दुवै महŒवाकाङ्क्षी भएकाले लामो समय उनीहरूबीच मेल कायम हुन सकेन । छोटै समयमा खटपट सुरु भइहाल्यो । बहादुर शाहले राजेन्द्रलक्ष्मी र सर्वजित रानाबीच अनुचित सम्बन्ध रहेको आरोपमा सर्वजित रानालाई मृत्युदण्ड दिए । उनी दरबारमै काटिए (तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्र, नेपालको राजनैतिक इतिहास, पृष्ठ ः १०८–१०९) ।
यसबीचमा बहादुर शाह र राजेन्द्रलक्ष्मीबीच चरम सत्ता सङ्घर्ष चलिरह्यो । यस किसिमको सत्ता सङ्घर्षमा बहादुर शाह नै निर्बल ठहरिए । अन्ततः उनी बेतिया पलायन हुन पुगे । त्यसपछि राजमाता राजेन्द्रलक्ष्मी स्वतन्त्र रूपमा राज्य सञ्चालन गर्न थालिन् । यस सम्बन्धमा इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । बहादुर शाह भागेपछि राजेन्द्रलक्ष्मी निश्चिन्त भई आमोद प्रमोदतिर लागिन् । र, उनले राजदरबारमा रहेको पर्दा प्रथा नराम्रो मानेर त्यसलाई हटाउनका निमित्त आफू हात्ती वा घोडामा चढी अरूलाई पछि लगाएर काठमाडौँमा सयर गर्न लागिन्….उनको यस्तो कदम समयअनुकूल नहुनाल गोर्खाली भारदारले पनि रुचाएनन्..।…े (बाबुराम आचार्य, नेपालको सङ्क्षिप्त वृत्तान्त, पृष्ठ ः ८०) ।
राजेन्द्रलक्ष्मीसितको सत्ता सङ्घर्षमा पुनः शक्तिशाली हुन पुगेका बहादुर शाह पनि रणबहादुर शाहको कोपभाजनको सिकार हुन पुगे । अन्ततः कैदमा नै उनको मृत्यु भयो । यस घटनामा पनि दरबारिया महिलाकै परोक्ष हात रहेको अनुमान हुन्छ ।
नेपालको इतिहासमा नै सर्वाधिक स्त्रीलम्पट शासकको गणना गर्दा रणबहादुर शाह अग्रपङ्क्तिमा आउँछन् । उनी आफ्ना राजराजेश्वरी र सुवर्णप्रभा २ जना रानी हुँदाहुँदै शिवरात्रिमा पशुपति दर्शन गर्न आएकी तिरहुतकी मिश्र ब्राह्मणकी विधवा छोरी कान्तिवतीप्रति आशक्त हुन पुग्छन् । क्रान्तिवती पुनर्विवाह गर्न मन्जुर भइनन् । त्यसबेला सुवर्णप्रभाबाट रणोद्योत शाह –हेमिल्टन, पृ.२०) रणोद्वीप शाह जन्मिसकेका थिए । उता राजराजेश्वरी सुवर्णप्रभाका छोरा राजा नहून् भन्ने चाहन्थिन् । त्यसैले उनले कान्तिवतीलाई विवाह गर्न प्रेरित गरिन् । कान्तिवतीबाटै जन्मिने छोरालाई राजा बनाउने सर्तमा रणबहादुरले उनीसित विवाह गरे (वैद्य र मिश्र, पूर्ववत्, पृष्ठ ः ११४) । सर्तअनुसार कान्तिवतीबाट जन्मेका गीर्वाणलाई राजा घोषणा गरी रणबहादुर शाह नाबालक राजाको नायवी भए । कान्तिवतीको मृत्युपश्चात् पनि रणबहादुर शाहको स्त्रीलम्पट स्वभावमा कुनै परिवर्तन आएन । यस्तै कमजोरीका कारण उनी बनारस पलायन हुन पुगे । बनारसमा पनि उनी अनेकौँ रासलीलामा लिप्त भए । उनले पछि कान्तिवतीकी बहिनी चन्द्रावती र ललित त्रिपुरासुन्दरीसित पनि विवाह गरे (पूर्ववत् ) ।
राजराजेश्वरी र सुवर्णप्रभाका बीचमा शत्रुताका अनेकौँ रूप देखिए । सुवर्णप्रभा र किर्तिमान सिंहबीच अनुचित सम्बन्धको चर्चा भएकै बेला कीर्तिमान पनि मारिए (पूर्ववत्, पृष्ठ ः ११६) । स्त्री राजनीतिले चरमोत्कर्षको रूप लिँदै गर्दा रणबहादुर शाह आफ्नै भाइबाट काटिए । राजराजेश्वरीलाई सती जान बाध्य बनाइयो (पूर्ववत्, पृष्ठ ः १३१) । अन्ततः स्त्रीकै कारण रणबहादुर शाहको अन्त्य भयो ।
भीमसेन थापा रणबहादुर शाहको आर्शीवादले दरबारमा प्रवेश गरेका भए पनि कालन्तरमा रानीकै कृपाबाट एकछत्र शासन गर्न सफल भए । ललित त्रिपुरासुन्दरी र भीमसेन थापाबीच सदैव आत्मीयता नै रह्यो । ललित त्रिपुरासुन्दरीको मृत्युपश्चात् भीमसेन थापाका पनि दुःख दिन आए ।
राजेन्द्र विक्रम शाहका दुवैजना रानीहरू महŒवाकाङ्क्षी थिए । जेठी साम्राज्यलक्ष्मी पाँडे पक्षधर थिइन् भने कान्छी राज्यलक्ष्मीदेवी थापा पक्षधर थिइन् । जेठी महारानी र कान्छी महारानी दुवैलाई प्रशन्न बनाउन खोज्ने राजा राजेन्द्र सफल हुन सकेनन् । जेठी महारानीको गुटले गर्दा नै भीमसेन थापा आत्महत्या गर्न बाध्य भए । अन्ततः रानीबाट शक्तिशाली हुन पुगेका भीमसेन थापा रानीबाटै अन्त्य पनि भए । जेठी महारानी छउन्जेल पाँडेको चकचकी रह्यो भने उनको देहावसानपछि कान्छी रानी शक्तिशाली भइन् । जसको कारण थापाहरू पुनः शक्तिशाली भए । कान्छी महारानीले आफ्नै छोरा रणेन्द्रलाई राजा बनाउन चाहेकी थिइन् । कान्तिवतीको प्रसङ्गले उनको मनोबल बढ्नु स्वभाविकै पनि थियो । यही इच्छा पूर्ति गर्न उनले माथवरसिंह थापालाई प्रधानमन्त्री बनाइन् तर उनको इरादा पूर्ण हुन सकेन । तसर्थ प्रधानमन्त्रीका आफ्नै भानिज जंगबहादुरबाट माथवर सिंहको हत्या गराइन् । जंगबहादुर र गगनसिंह दुवै कान्छी महारानीका प्रिय पात्र बन्न पुगे । गगनसिंह र लक्ष्मीदेवीको अनैतिक सम्बन्धका विषयमा अनेकौँ चर्चापरिचर्चा भयो ।
सन् १४ सेप्टेम्बर १८४६ मा कान्छी रानीका प्रिय पात्र गगनसिंहको हत्या भयो । जसबाट रानी विक्षिप्त झैँ भइन् । सबै प्रमुख भारदारहरूलाई कोतमा सामेल गराउने आदेश दिइन् । यस काण्डमा भाइभारदारहरू सोत्तर भए । जसलाई नेपालको इतिहासमा कोत पर्व भनिन्छ । यस पर्वमा चौतारिया र प्रमुख भारदारहरूको हत्या भयो । अब जंगबहादुर एक मात्र हस्ती बाँकी रहे । उनी महारानीकै कृपाबाट प्रधानमन्त्री बन्न पुगे ।
लक्ष्मीदेवीले युवराज सुरेन्द्रको बदला आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउने काममा सहयोगको अपेक्षा गरेकी थिइन । तर उनको इच्छा जंगबहादुर पूरा गर्न चाहदैन थिए । कोतमा राजा पक्षका भारदार मारिइसकेकाले अव रानी र जंगबहादुरका बिचमा सत्ता संघर्ष प्रष्ट थियो । कोत हत्यााकाण्डबाट सुरक्षित बसेका रानी पक्षका भारदार बस्नेतहरुलाई समाप्त पार्ने योजना मुताविक जंगबहादुरले बस्नेतहरुलाई समाप्त पारे र रानी लक्ष्मीदेवीलाई देश निकालाको आदेश दिए ।
जंगबहादुर पनि स्त्रीलम्पट थिए । उनका रानी र श्रीमती विषयमा उनैका छोरा पद्मजंगले धेरै लेखेका छन् । बेलायत र फ्रान्समा पनि उनको स्त्री प्रसङ्गको चर्चा गरिएको छ तर राजनीतिमा कुनै महिला देखा परेनन् । आफ्नै कालगतिबाट परलोक हुने पहिलो प्रधानमन्त्री जंगबहादुर नै थिए ।
जंगबहादुर राजकाज तथा षड्यन्त्रमा दरबारिया महिलाको भूमिका भएका अप्रिय घटनाबाट परिचित नै थिए । त्यसैकारण दरबारमा आफ्नो पहुँच विस्तार गर्ने उद्देश्यले युवराज त्रैलोक्यसित आफ्ना ३ जना छोरीहरूको विवाह गराइदिएका थिए । यिनै जंगबहादुरका छोरीबाटै पृथ्वीविक्रमको जन्म भएको थियो । यस घटनाबाट राणा परिवारको विशेष उपस्थितिसमेत राजदरबारमा हुन पुग्यो । दरबार पसी महारानी हुन पुगेका जंगबहादुरका छोरीहरू बीचमा शीतयुद्ध थियो । राजमाताको समर्थन आफ्ना भाइहरूप्रति भन्दा वीरशमशेर तथा खड्गशमशेरहरूप्रति थियो ।
त्रैलोक्यको युवराज हुँदै मृत्यु भएको हुँदा श्री ५ सुरेन्द्रको देहावसानपछि नाबालक पृथ्वीविक्रम गद्दीमा आरोहण गराइए । नाबालक राजा भएका कारण राजमाता सर्वेसर्वा बन्न पुगिन् ।
श्री ३ जंगको मृत्युपश्चात् रणोद्वीप सिंह श्री ३ महाराज र प्राइममिनिस्टर हुन पुगे । सोझा तथा जालझेलको राजनीति नजान्ने यी व्यक्ति तत्काल विकसित राजनीतिमा बिल्कुल योग्य देखिएनन् । धीरशमशेरको मृत्युपछि रणोद्वीपका संरक्षक कोही भएनन् । रणोद्वीपमा आफ्नै रानी हरिप्रियाको विशेष प्रभाव थियो । जो जंगबहादुरका छोराहरू जगतजंग र जितजंग पक्षधर थिइन् भने राजमाता वीरशमशेर पक्षधर थिइन् ।
पुनः एकपटक नेपाली राजनीतिमा महिलाहरू महत्वाकाङ्क्षी हुन पुगे । श्री ५ नाबालक तथा श्री ३ सोझा र जोइटिङ्ग्रे भएकाले दरबारिया महिलाहरूको हैसियत बढ्न गयो । जंगबहादुरका छोराहरू र धीरशमशेर छोराहरू बीचमा वैमनस्यता थियो । उनीहरू एकले अर्कोलाई सिध्याउने दाउमा थिए । राजमाता आफ्नो पक्षमा भएकाले धीरशमशेरका पुत्रहरू रणोद्वीपको हत्या गरी जंगबहादुरका छोरालाई सदाका लागि पन्छाउने उद्योगमा लागे । यस विषयमा काशीनाथ आचार्यको भनाइ यस्तो छ ः श्री ५ कान्छा मैयासित र श्री ५ माहिला बडामहारानीसित श्री ज. खड्गको ज्यादा हेलमेल थियो । यही मेलले ४२ पर्व हुन गयो ।खड्ग सम्शेरको कान्छी मुमा रानी ललित कुमारी र दीप कुमारीको.अनुेचित सम्बन्धले ४२ सालको हत्याकाण्ड हुन गयो ( प्रमोद सम्शेर राणा, पृ ७५ र त्रिरत्न मानन्धर पृ.८९) । श्री ५ कान्छी मैया वागको पनि खड्गशमशेरको खुलमखुला चाकडी देखेर मानिसहरूले शंका पनि गरे (नेपाली, पूर्णाङ्क, पृष्ठ ः २२) ।
दरबारका रानीहरूसित अनुचित सम्बन्ध राखेका कारण कर्णेल देवीबहादुर सिजापति दण्डित भएका थिए (पूर्ववत्, पृष्ठ ः २३) ।
तत्कालीन स्थितिमा दरबारिया महिलाको षड्यन्त्रमूलक राजनीतिमा संलग्नताका विषयमा इतिहासकारहरूको टिप्पणी यस्तो रहेको छ ः
षड्यन्त्र र दाउपेजको तत्कालीन राजनीतिमा प्राइममिनिस्टर रणोद्वीप सिंहका रानीहरू, बागदरबारका रानीहरू, त्रैलोक्यका रानीहरू, जंग र शमशेर गुटमा विभाजित थिए । जगतजंगलाई रणोद्वीपकी जेठी रानी हरिप्रियादेवी, त्रैलोक्यकी जेठी महारानी ताराकुमारी तथा बागदरबारकी चिरीबिरी मैयाको समर्थन थियो भने त्रैलोक्यकी माहिली महारानी, रणोद्वीपकी कान्छी रानी तथा बागदरबारकी कान्छी रानीले शमशेरको पक्ष लिएका थिए । … (त्रिरत्न मानन्धर, नेपाल ः दि इयर्स अफ ट्रभल, पृष्ठ ः ८९ ः ९०) ।
ब्रिटिस भारत सरकारको दिल्लीमा हुने सैनिक प्रदर्शनमा भाग लिन पठाउने नेपाली फौजको तैनाथ पाएका वीरशमशेरले सोही अवसरलाई आफ्नो अनुकूल बनाई भाइहरू खड्ग, चन्द्र, डम्बर आदि लिएर दूतावासबाट खबर आएको बाहना बनाई श्री ३ रणोद्वीपको शयनकक्षमा गई उनको हत्या गरे । गोली हान्नेमा वीर, खड्ग र डम्बरशमशेर थिए । स्वास्नीको फरियामुनि घुसी जगतजंगलाई खडा गर्न खोजेको फल यही हो भनी खड्गले पहिलो गोली प्रहार गरेका थिए । राजाको पञ्जा छाप पनि राजमातासितै भएकाले उसै रात वीरशमशेर श्री ३ महाराज तथा प्राइममिनिस्टर घोषित भए । अब राणाशाही धीरशमशेरका छोराहरूमा मात्र सीमित हुन गयो (काशीनाथ आचार्य, ४२ साल पर्व, नेपाली, पूर्णाङ्क २२) ।
श्री ३ वीरशमशेर र राजमाताको अनुचित सम्बन्धबाट सन्तानकै जन्म भएको तर सो बालकको जन्म वीरशमशेरकै कुनै भित्रेनी रानीबाट हुन पुगेको भनिएको कुरा राणा परिवारमा चर्चा चलेको थियो । कुनै राणाजीले अन्तरवार्ताका क्रममा सो कुरा खुलाएका पनि थिए । अन्य राणास्रोतले पनि त्यस कुरालाई सत्य ठहराएको थियो । यो कुरा प्रायः सबैलाई थाहा त थियो तर तैँ चुप मै चुप भए ।
श्री ३ देवशमशेर ४ महिनामै लखेटिए । यिनको बर्खास्तीका धेरै कारणहरू छन् । तीमध्ये एउटा उनको बानी कन्याराशिको पनि थियो । विलासिता तथा अधिकांश समय स्त्रीसुखमा रुमलिने उनको बानी नै थियो । त्यसमा श्री ५ को दरबारमा रहेका नानी सुसारेलाई पनि आँखा लगाउँदै उनले आफ्नै दरबारमा तान्न थालेका थिए । श्री ५ पृथ्वीकै मनपर्ने नानीकेटी तान्न थालेपछि श्री ५ पनि देवशमशेरका विरोधी भए र चन्द्रशमशेरको कदमलाई समर्थन गरे ।
प्रायः सबै राणा श्री ३ हरूमा स्त्रीमोह त छँदै थियो । कसैको यो कमजोरी बाहिर आयो भने कसैको आएन । कुरा यति मात्रै हो । श्री ३ भीमको भित्रेनीहरूप्रति अत्याधिक मोह थियो । त्यसैले उनले भित्रेनीपट्टिका लागि पनि रोलक्रम राखे । विलासिता र रसरङमा श्री ३ जुद्ध कहलिएकै थिए । उनको दरबारमा नानी सुसारेहरूको ठूलै जत्था थियो । ९० साल पर्व हुनुमा पनि यिनै महिलाहरूको हात थियो ।
राणा शासक सबैका धेरै श्रीमतीहरू थिए । तिनीहरूको आपसमा मेल हुने कुरै भएन । र, यसको प्रभाव उनीहरूका छोराहरूमा पनि पर्न गयो । राणाका छोराहरू बाबुभन्दा आमाको नजिक हुन पुगेका छन् । यो सामान्य कुरा नै भयो । महिलाकै कारण र महिलाकै लागि ३८ र ४२ साल पर्व हुन पुगे । ९० साल पर्व पनि यिनै महिलाको कारण थियो । ए र सी क्लासका राणाहरू बीच चलेको झगडाकै कारण राणाशासन धरासायी भयो । यस अर्थमा हेर्ने हो भने राणाशासनको उदय र पतन महिलाहरूकै कारण भयो ।
केही राजाहरूको उमेर नपुगी निधन भयो । उनीहरूका रानीहरूले आफ्नो इच्छापूर्तिका लागि परपुरुषहरूसँग सम्बन्ध राख्न थाले । कसैको बाहिर आयो कसैको आएन । त्यत्ति मात्र फरक हो । अर्कोतिर धेरै श्रीमती हुँदा श्रीमान्ले सबैसँग समान व्यवहार गर्न नसक्ने हुँदा खेताला खोज्नै पर्ने बाध्यता भएको मनोवैज्ञानिक कारण पनि थियो । जे होस् राणाकालमा महिला नै षड्यन्त्रकारी राजनीतिका सूत्रधार थिए ।
विसं २००७ सालको परिवर्तनपश्चात् राजनीतिमा शासकका महिलाहरूको त्यस्तो हस्तक्षेप देखिन्न । रत्नसित विवाहकै विषयमा राजा त्रिभुवन र महेन्द्रको खटपट भने चलेको थियो । श्री ५ महेन्द्रका भित्रेनीबाट रवीन्द्र शाह जन्मिएका हुन् भन्ने कुरा धेरै पछि मात्र जगजाहेर भयो ।
श्री ५ वीरेन्द्र राजा भएपछि ऐश्वर्यको दबाब बढ्न थाल्यो । राज्य सञ्चालनमा उनको भूमिका देखिन थाल्यो । राजा रानीका सामु लाचार देखिन थाले । ऐश्वर्यबाटै निकाशा पुकाशा हुन थाल्यो । उनको पहिरन पनि असामान्य हुन थाल्यो । रानी ऐश्वर्यको राजनीतिक हस्तक्षेप र अनुदारवादी छविका कारण कारण पनि एउटा यस्तो कारण थियो जसले गर्दा नेपाली जनताहरू दरबारसँग टाढिन पुगे (पोखरेल, नारायणहिटी दरवार र देशभक्तको अवसान, पृ.१५) । नेपालको इतिहासमा देखिएका अन्य युगान्तकारी घटनामा जस्तो २०४६ सालको परिवर्तनका लागि महिला नै कारण भने बनेनन् ।
महिलाकै कारण २०५९ (२०५८ जेड १९ गते) मा राजा वीरेन्द्रको वंशनाश भएको घटनाले दरबारमा नारी सक्रियता र नारीको षड्यन्त्रकारी राजनीतिमा भएको संलग्नताको स्मरण गरायो । विसं २०५८सालको घटनाको तत्कालीन कारणका विषयमा धेरै प्रश्न अझै अनुत्तरित छन् भने अनुत्तरित नै रहिरहने सम्भावना पनि छ । तर, मौलिक कारण भने महिला नै थिए भन्नै पर्ने हुन्छ ।
विसं २०४७ पछि बनेका सरकारमा सहभागी भएका प्रधानमन्त्री तथा मन्त्रीहरूका श्रीमतीका कारण पनि धेरै विवाद भएका दृष्टान्त पाइन्छन् । मन्त्री र अन्य विशिष्ट पदमा बसेका मानिसहरुको महिलासंगको अनुचित सम्बन्धका विषयमा स१चार जगतका विभिन्न माध्यमहरुले चर्चामा नल्याएका होइनन् । पत्रिकामा यस्ता कुराहरु प्रचारमा ल्याएको आरोपमा राजनीतिको आवरणमा रहेका मानिसहरुको जत्थाले पत्रकार तथा कवि भवानी घिमिरेको शरिरमा कालो मसी दलिएको घटना पनि कुनै समय सुन्नमा आएको थियो ।। जसको लेखाजोखा समयले गर्नेछ । महिलाकै कारण कृष्णबहादुर महराले सभामुख पद गुमाउनुप¥यो ।
विसं २०४६ पछि धेरै मन्त्री, नेता, सरकारी तथा गैरसरकारी संस्थाहरूमा हाकिमभन्दा उनीहरूका श्रीमती रिझाउनुपर्ने सास्ती खेप्ने पनि धेरै छन् ।
भनिन्छ, कुनै पुरुषको सफलतामा नारीको भूमिका रहन्छ । नेपालको इतिहासमा महिलाको विविध क्षेत्रमा उल्लेख्य योगदान भएको पाइन्छ । ती योगदानको अवमूल्यन गर्नु लेखकको उद्देश्य कदापि होइन । यस लेखमा त महिलाकै असीमित आकाङ्क्षाबाट पर्न गएको प्रभाव विषयमा मात्र चर्चा गर्न खोजिएको हो । अस्तु ।
प्रतिक्रिया