मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को-अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका छन् ।

चाइना इन्टरनेशनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।

सम्झौताअनुसार चीनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिएका छन् । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एक अर्काका आकाङ्क्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

उनले चिनियाँ राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्‍याएको बताए । उनले ती दुवै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी भएकाहरूको कार्यान्वयनमा जोड दिए ।

चिनियाँ प्रतिनिमिण्डलको नेतृत्व गरेका लियु झाओ हुईले नेपाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैँ साथ रहेको बताए । राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एक-एक गर्दै कार्यान्वयन हुँदै जाने उनले बताए । उनले आफूहरू तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा नेपाल आएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा चिनियाँ लगानी भित्रिने विश्वास व्यक्त गरेका छन् ।