दुई महिना जति भयो । चिसो भरखरै सुरु भएको थियो । पत्नीले भनिन्थ-‘थर्मोस्ट्याटलाई ७० डिग्रीमा राखेर हिटर लगाउँदा पनि कोठाहरुमा चिसै छ । एक पटक एसी बनाउने प्राविधिकलाई बोलाउनुपर्ने हो कि ?’
भोलीपल्टै मैले एभरेष्ट एसी एण्ड हिटिंग कम्पनीका सञ्चालन राम शर्मालाई मेसेज गरेँ । ‘हुन्छ दाजु म आएर हेरेर इस्यु देखियो भने समाधान गरिदिन्छु नि’ उहाँले भन्नुभयो । दुई दिनपछि आएर हेरिदिनुभयो । २० वर्ष पुरानो एसी र हिटिङ्ग सिस्टम भएपनि समस्या नभएको उहाँले बताउनु भएपछि मनमा सन्तोष भयो ।
अमेरिकाका घरहरुमा सबैभन्दा महंगो एउटै चिज भनेको एअर कण्डिसन हो । सेन्ट्रल एसी सिस्टम हुने कारणले कथंकदाचित बिग्रिहाल्यो भने ढाड सेकिने मूल्य यसको पर्छ । त्यसो हुँदा मैलै वर्षमा दुई पटक (समर सुरु हुनु अघि र विन्टर सुरु हुनु अघि) रामजीलाई बोलाएर एसीको ट्युनिंग गर्दै अाएको छु । यसले एकातिर संभावित ठूलो क्षती हुन रोकेको छ भने अर्कातिर नियमित सर्भिसिङ्गले एसीको आयु पनि बढाउँछ । नत्र भने २०/२२ बर्षसम्म एउटै एसी सिस्टमले काम गरिरहनु भएको दुर्लभ घटना भएको प्राविधिकहरुनै बताउँछन् ।
टेक्ससको नेपाली समाजमा रामजी जस्ता थुप्रै व्यक्तिहरु यतिखेर आवश्यक परेको छ । विगत पाँच वर्षयता घर किनेर व्यबस्थित रुपमा बस्नेहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । पहिले पहिले नेपालबाट आएर ७/८ वर्षसम्म पसिना बगाएर केही रकम जम्मा गर्ने अनि त्यसलाई व्यबसायमा लगानी गर्ने चलन देखिन्थ्यो । तर विगत ५/७ वर्षदेखि व्यबसाय भन्दा पनि घर किनेर सुविधासँग बस्ने लहर बढेको छ ।
घर किनेपछि घरमा रहेका मेसिन, एप्लायन्सहरुको व्यबस्थित सञ्चालनमा ध्यान दिनेहरु कमै हुन्छन् । म्यानुअल अनुसार चलाउने भन्दा पनि जोर जवरजस्तीसाथ ओभन, माइक्रोवेभ, वासर-ड्रायर, डिस वासर, रेफ्रिजेरेटर, एसी, गराज डोर,स्प्रिङ्कलर चलाउने प्रवृत्तिले वारेन्टी अवधि ननाघ्दै समस्या आएका थुप्रै घटनाहरु छन् । वारेन्टी अवधिमा बिग्रियो भने त निशुल्क मर्मत संभार कम्पनीले गरिदिन्छ । तर वारेन्टी अवधि सकिएपछि बिग्रिदा त्यसको लागत निकै महंगो पर्छ ।
फेरि अमेरिकी व्यबस्थाको एउटा नकारात्मक पक्ष के हो भने सामानको भन्दा पनि लेबर कस्ट (जडान, मर्मत खर्च) अत्यधिक चर्को पर्छ । अर्को दृष्टान्त । तीन वर्ष अघि टेक्ससमा भएको भारी हिमपातले घरभित्रको पाइप फुट्यो । घरभरि पानी । धन्न घरमै भएकोले मेन लाइन तत्काल बन्द गरेर ठूलो क्षती हुनबाट जोगाइयो ।
मेन लाइन बन्द गरेर घरमा लामो समयसम्म पानीको आपूर्ति रोकेर बस्न अवस्था थिएन । त्यस्तो आपत पर्दा ड्यालस फोर्टवर्थमा सबैको दिमागमा आउने नाम टीका पौडेलको हो । ‘दाइ, पाइप फुट्यो । कस्ले मर्मत गरिदेला ?’ म हतास थिएँ । दाइलाई फोनमा सोधेँ । धेरैको घरमा यस्तो समस्या रहेछ । ‘भाइ, मेन लाइन बन्द गरिहाल्नु । एकजना नेपाली प्लम्बर भाई छन् । तिनको नम्बर पठाउँछु । कल गर्नुस् है’ दाईले भन्नुभयो ।
उहाँले अरु दुई तीनजना स्पेनिसमुलका प्लम्बरहरुको नम्बर पनि दिनुभयो । वास्तवमा टिका दाई युलेसको बासिन्दा भएपनि ड्यालस फोर्टवर्थ मेट्रोप्लेसका हरेक घर, परिवारलाई कुनै पनि समस्या पर्दा तत्काल उपाय निकाल्न सक्ने, सान्त्वना दिनसक्ने, जानेको कुरा तत्काल घरमै पुगेर समाधान गरिदिनसक्ने खुबी भएको व्यक्ति हुनुहुन्छ ।
दाईले नम्बर दिएको ती नेपालीलाई फोन गरेँ । उनी बडो टर्रो स्वभावका परेछन् । ‘एक हप्ता यता मेरो फुर्सद छैन । अहिले बनाइहाल्यो भने भोलीनै फेरि फुट्न पनि सक्छ । त्यसोहुँदा म चाहि भ्याउँदिन’ उनको जवाफले बेकार यस्ता मान्छेलाई फोन गरेछु भन्ने लाग्यो ।
भरखरै प्लम्बिङ्ग, इलेक्ट्रिसिएसन काम सिक्दै गरेको किरण कार्की भाईलाई फोन गरेँ । सर्टिफाइड नभएपछि, औपचारिक तालिम नलिएको भएपनि किरणसँग औजार पनि छ र उनले गर्न सक्छन् भन्ने मनले खाएर फोन गरेको थिएँ ।
‘भोली आएर बनाउँला दाई । आजलाई कतैबाट पानी ल्याएर काम चलाउनुहोला’ किरणको यति भनाईले सान्त्वना मिल्यो ।
भोलीपल्ट चार घण्टा लगाएर उनले फुटेको ठाउँ पत्ता लगाएर जोडिदिए । भित्तामा रंगरोगन काम बाहेक सबै उनले गरिदिए । ठूलो समस्याबाट पार पाएको महसुस भयो । त्यो बेला मलाई पैसा भन्दा पनि तत्काल पानी चाहिएको थियो । चिनेजानको, एकै ठाउँमा बस्ने भाई भएर पनि मैले उनले सोचेको भन्दा बढी रकम पारिश्रमिक दिएँ । उनको कामको बारेमा फेसबुकमा केही लाइन लेखिदिएँ । उनका बारेमा धेरैले जानकारी पाएँ । बिहानको समयमा उनी प्लम्बिङ्ग, इलेक्ट्रिसियनको काममा उनी व्यस्त हुन थाले ।
अपार्टमेन्टमा बसुन्जेल बिग्रिए, भत्किएको ठाउँमा तुरुन्त व्यबस्थापनले मेन्टेनेन्स प्राविधिकलाई पठाएर समाधान गरिदिन्छन् । तर जब घर किनिन्छ, तब सबै आफ्नै थाप्लोमा पर्छ । त्यतिखेरका लागि चिनेजानेको प्लम्बर, इलेक्ट्रिसियन कोही नभेटिँदा समाजका सदस्यहरु नराम्रोसँग ठगिनु परेको छ ।
केही महिना अघिको मात्र घटना हो । किचनको धारो एक्कासी बिग्रियो । नयाँ नफेरि नहुनेभयो । घरमा ठूलै जमघट छ । तर पानी ठप्प हुनपुग्यो ।
फेरि टिका दाईको सहयोगमा एकजना स्पेनिसलाई बोलाइयो । आइतबार भएपनि टिका दाइले भनेका कारण उ दौडिदै घर आइपुग्यो । म चाँही होम डिपोट पुगेर नयाँ सेट ल्याउन तिर लागेँ । आधा घण्टामा उस्ले फिक्स गर्यो । डेढसय डलर लिएर उ गयो । समस्या समाधान भएकोमा मलाई डेढसय तिर्दा कुनै पछुताउ भएन ।
हाम्रो समुदायमा यतिखेर समाजसेवाका नाममा उही परम्परा हावी छ । अर्थात समाजसेवा भनेको चन्दा उठाएर कसैको उपचारमा सहयोग पुर्याउनु, रक्तदान गर्नु, हेल्थक्याम्प चलाउनु मात्र हो भन्ने गहिरो छाप छ । यी पनि समाजसेवाका रुप हुन् । तर समाजको बदलिदो परिवेश, आवश्यकता बमोजिम गरिने हरेक कार्यलाई समाजसेवाको परिभाषा भित्र राख्नुपर्ने देखिन्छ ।
अमेरिकाको सन्दर्भमा माथि उल्लेखित प्लम्बिङ्ग, इलेक्ट्रिसिन, मर्मत संभारका कामहरु गर्नेहरुलाई समाजसेवामा राखेर त्यस्ता क्षेत्रमा शीप सिक्न चाहनेहरुलाई अब समुदायले सहयोग गर्नुपर्ने जरुरी छ । किनकी हाम्रो समुदायको संख्या बढेसँगै यस्ता सेवा दिने व्यक्ति वा कम्पनीहरुको माग बढ्दै जाने निश्चित छ । तर आफ्नै समुदायमा यस्तो सेवा दिने कोही नहुँदा अरु समुदायका व्यक्तिहरुलाई बोलाएर उनीहरुले जति भन्यो त्यति मूल्य तिर्नुपर्ने अवस्था छ । यसलाई अन्त्य गर्न नेपाली समाज टेक्सस, गैर आवासीय नेपाली संघ (एनआरएनए) लगायत प्रभावशाली संस्थाहरुले अब समुदायलाई आवश्यक पर्ने शीपको तालिम दिने संस्थाहरुसँग समन्वय गरेर सहुलियत दरमा दिलाउन सुरु गर्नुपर्ने देखिन्छ ।
समुदायकै सदस्यहरुले सुरु गरेका गाडी मर्मत केन्द्र, बीमा गर्नेहरुसँग बिशेष प्रस्ताव माग गरेर समुदायका लागि सहयोग गर्ने अभियान तत्काल थाल्नुपर्ने जरुरी भैसकेको छ । मान्छे बिरामी हुन पाएको छैन गोफण्डमा रकम उठाउने र वास्तविक पीडितले त्यस्तो रकम नपाएको गुनासो छ । जीवन बीमा भएका व्यक्तिहरुको जिउज्यान केही भएको अवस्थामा उनीहरुका नाममा समेत गोफण्ड खोलेर व्यक्ति र संस्थाहरुले हिनामिना गरेका घटनाहरु समाजमा भुसको आगो जसरी भित्रभित्रै बेलाबेलामा पुतपुताईरहेको पाइन्छ ।
समुदायले आवश्यक सहयोग नगर्ने र सित्तैमा काम गराउन खोज्ने घातक प्रवृत्ति देखिएको छ । प्लम्बिङ्ग र इलेक्ट्रिसियनको तालिम गर्दै गरेको मेरो साथी किरणले हिजोआज त्यो काम चटक्कै छाडे ।
‘मलाई केही घटनाले दिक्क लागिसकेको थियो । एक दिन एउटा नेपालीले ३५ माइल पर फोर्टवर्थमा बिजुलीको काममा बोलाए । त्यहाँ पुग्न मलाई ३५ मिनेट लाग्यो । उनको समस्या समाधान गर्न एक घण्टा लाग्यो । घर आउन आधा घण्टा लाग्यो । ती मान्छेले मलाई १५ डलर दिए । त्यो घटनाको दिन देखि मैले यो काम चटक्क छाडेँ । भिकारी जस्तो व्यबहार गरेपछि म किन त्यो काममा लागिरहुँ ?’ उनले गुनासो गरे ।
हातमा शीप बोकिसकेका यस्ता व्यक्तिहरु अब समुदायबाटै फ्रष्टेट भएर जान वाध्य पार्ने यस्ता घटना अब समाजमा हुन हुँदैन । समुदायले ‘नेपाली त हो नि’ भनेर नेपाली मुद्रामा हिसाब गरेर यता पारिश्रमिक दिन खोज्ने सोचलाई सबैले त्याग्नैपर्छ । लामो समय लगाएर पढेर, तालिम लिएर, लाइसेन्स परिक्षा पास गरेर काम गर्न थालेकालाई प्रोफेसनल हिसाबलेनै हामीले व्यबहार गर्न सक्यौ भने भोली समुदायलाई सहयोग पुग्नेछ । नत्रभने भोलीका दिनमा स्पेनिस, गोरा प्राविधिकहरुले जति भन्यो त्यसमा एक पेनी पनि बार्गेनिङ्ग गर्न नसकेर तिरेर सेवा लिनुपर्ने अवस्थाको निरन्तरता हुनेछ ।
प्रतिक्रिया