मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

रिपब्लिकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

रिपब्लिकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत


वासिङ्टन । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लिकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । 
 
ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनीविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव अद्यापि विचाराधीन छ । 
 
डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित गरी सिनेटमा छलफलका लागि पठाइसकेको छ । उक्त प्रस्तावमा आगामी फेब्रुअरी ९ देखि सिनेटमा छलफल गर्नेगरी कार्यतालिका सार्वजनिक भइसकेको छ । 
 
ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित हुन कम्तीमा १७ जना रिपब्लिकन सिनेटरले डेमोक्रेट पार्टीलाई साथ र समर्थन गर्नु पर्नेछ जुन डेमोक्रेटका लागि फलामको च्यूरा चपाएसरह हुनेछ । अमेरिकी कानुन बमोजिम कुनै पनि राष्ट्रपतिविरुद्धको महाभियोग पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक पर्दछ । हाल सिनेटमा रिपब्लिकन र डेमोक्रेट पार्टीबाट ५०–५० सदस्य छन् । 
 
पूर्वराष्ट्रपति ट्रम्पको कार्यकाल समाप्त भई बिदा भइसकेको अवस्थामा महाभियोगमाथि छलफल गर्नुको औचित्य छैन भन्ने केन्टकी राज्यका रिपब्लिकन सिनेटर रान्ड पलको भनाइलाई सिनेटमा भएको मतदानमा ५५–४५ ले अस्वीकार गरेको थियो । 
 
मतदानपछि बोल्दै सिनेटर पलले ४५ जना सिनेटर महाभियोगको विपक्षमा रहेकाले महाभियोग प्रस्तावको संवैधानिक आधार समाप्त भइसकेको जिकिर गरेका थिए ।  
 
महाभियोगको सुनुवाईको अध्यक्षता गरेका ८० वर्षीय सिनेटर प्याट्रिक लेही मङ्गलबारको प्रारम्भिक सुनुवाईपछि एकाएक अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए । तर, उनको स्वास्थ्य अवस्था सुधार भइसकेको उनका प्रवक्ताले बताएका छन् ।
 
पछिल्ला राजनीतिक घटनाक्रम र अर्कान्सा राज्यको गभर्नरका लागि ह्वाइट हाउसकी पूर्वप्रेस सचिव सराह हक्याबी स्यान्डर्सको मनोनयनले रिपब्लिकन पार्टीभित्र ट्रम्पको प्रभाव निकै रहेको अनुमान गरिएको छ । एजेन्सी