काठमाडौँ । संयुक्तराज्य अमेरिकाको ४६औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी र उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजयी भएकी छन् ।
जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो । उनीहरुकी जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमै कमलाका बाबु र आमाको सम्बन्ध विच्छेद भएको थियो ।
पितासँग अलग भएपछि कमला र उनकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए । हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरेकी थिइन् । ५५ वर्षीया कमला ह्यारिसले सुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताएकी थिइन् । तर, उनी गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् ।
क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय हुन् । उनकी आमा भारतमा जन्मिएकी र पिता जमैकामा जन्मेकाले उनलाई अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरिरहेका छन् ।
उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । उनले सधैँ आफूलाई “एक अमेरिकी“ भन्ने गर्थिन् । भारतीय–जमैकन मूलकी उनी क्यालिफोर्नियाकी सांसद् थिइन् र कुनैबेला त उनले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिएको चर्चा पनि व्यापक भएको थियो ।
पछि उनी राष्ट्रपतिको उम्मेदवारको दाबीबाट पछि हटेपछि पनि उनको नाम चर्चामा नै रहेको थियो । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसकेकी थिइन् । उनले केही समयमात्र अघि अमेरिकामा देशव्यापीरूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राखेकी थिइन् ।
त्यस क्रममा पनि उनी चर्चामा आएकी थिइन् । उनले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वानसमेत गरेकी थिइन् । कमला ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला थिइन् ।
श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उनकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गरेकी थिइन् ।
केही समयअघि अमेरिकाका एकजना अस्वेत नागरिकलाई प्रहरीले गरेको दुव्र्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अस्वेत नागरिकको पक्षमा लागेर काम गरेकी थिइन् । रासस
प्रतिक्रिया