मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

प्रमाण नपुगेपछि ट्रम्पको उजुरी खारेज, वैध मत गनिए जित्ने दाबी

प्रमाण नपुगेपछि ट्रम्पको उजुरी खारेज, वैध मत गनिए जित्ने दाबी


वासिङ्टन । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेका छन् । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । 

निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल हुनुभएको छ । मतगणना तत्काल रोक्न माग गर्दै उहाँले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका हुन् । बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उनका समर्थकहरूले मतगणना रोक्ने माग गरेका थिएनन् ।

ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिएका थिए । उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।  

जोर्जिआमा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो । मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मत गन्तीको प्रक्रियामा पहुँचको माग गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए ।

ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का भएको छ । 

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेको छ । शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको समाचारमा जनाइएको छ । प्रमाण नदिइएको सो मु्द्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमिता र ३,००० भन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ ।

अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन् । पेन्सिल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुई वटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनु हुनेछ । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीनवटा राज्यमा जित्नैपर्ने हुन्छ ।

यसअघि ट्रम्पको अग्रता पेन्सिल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जिआमा पनि उस्तै स्थिति देखा परिरहेको छ । अमेरिकामा अहिले मतगणना र मुद्धामामिला भइरहेका बेला दुवै उम्मेदवारले विभिन्न प्रतिक्रिया दिएका छन् ।  

प्रतिस्पर्धामा रहेका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् भने अर्का प्रतिस्पर्धी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले संयमित हुन सवैलाई आह्वान गरेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गरेपछि उनका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत पहिलोपटक राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको दाबी गरेका थिए । उनले भने, यदि तपाईं वैध मतहरूमात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु । यहाँ धेरै अवैध मतदान भएको छ । मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिएका छन् । 

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए ।  

अन्तिम नतिजा आउनै लाग्दा उनले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उनको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् । अर्का प्रतिस्पर्धी बाइडेनले भने विरोध प्रदर्शनमा उत्रिएका तथा त्रसित र उत्तेजित भएकाहरुलाई संयमता अपनाउन आह्वान गरेका छन् । 

“लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ,” उनले भने, “तर, प्रक्रियाले काम गरिरहेको छ ।” प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, “अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । त्यसलाई मानिसहरुले कसरी व्यक्त गरेका छन् भन्ने हेरौँ ।”

मतगणना सकेपछि आफू र आफ्नो समूहकी उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस विजयी हुने कुरामा “कुनै शङ्का नरहेको” पनि बाइडेनले बताएका छन् ।  त्यसबाहेक अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

हुलाकबाट आएको मत गणनापछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने छ । तर हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने संभावना कम हुने गरेको छ । नेपाली समयअनुसार मंगलबार राति अबेरसम्म भएको मतदान सकिएपछि बुधबार बिहानदेखि मत गणना सुरु भई परिणाम सार्वजनिक हुन थालेको हो ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्त्वका साथ हेर्ने गरिएको छ ।

अमेरिकामा हरेक चार चार वर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ। त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ । एएनआई