मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

रातो पर्खाल भत्काउँदै बाइडेन ह्वाइट हाउस प्रवेशनजिक

रातो पर्खाल भत्काउँदै बाइडेन ह्वाइट हाउस प्रवेशनजिक


वासिङ्टन । अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै लगेका छन् ।  

कुल ५३८ इलोक्टोरल मतमध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । वाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल मत प्राप्त गरिसकेका छन् भने बाँकी ६ मत उनले गणना गर्न बाँकी ठाउँबाट सहजै प्राप्त गर्ने देखिएको छ । 

पूर्व उपराष्ट्रपति बाइडेनसँग प्रतिस्र्धामा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल मतमात्रै प्राप्त गरेका छन् । उनी धेरै पछाडि रहेकोले उनले जित्ने सम्भावना न्यून देखिएको छ । उनी दुई ठाउँमा मात्रै अगाडि देखिएका छन् ।  

आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिएका छन् । अमेरिकाका कुल ५० राज्यमध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको हो । 

अहिले गणना भइरहेका अधिकांश ठाउँमा पनि बाइडेन नै अगाडि देखिएकोले समेत उनको जीतको सम्भावना बढी देखिएको हो । अहिले मतगणना भइरहेकामध्ये पेन्सिल्भानिया, उत्तर क्यारोलिना, जर्जिया र नेभाडामा वाइडेन अगाडि नै देखिएका छन् ।  

वाइडेनले अहिलेसम्म सात करोड ३४ लाख ८१ हजार मत ल्याइसकेका छन् । यो मत राष्ट्रपतिको उम्मेदबारले पाएको अहिलेसम्मकै धेरै भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नेपालको समयानुसार मंगलबार बेलुकादेखि सुरु भएको मतदान राती अबेर सम्पन्न भएको थियो भने बुधबार विहानदेखि मतगणना शुरु भएको थियो । 

त्यसैगरी हुलाक दिइएको मत भने केही संकलन भइसकेको छ भने केही ठाउँबाट आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । ती सबै मत गणना भएपछिमात्रै अन्तिम नजिता घोषणा गरिने छ । 

अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौँ मतदाताले मतदान गर्दछन् । त्यसैगरी इलोक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको छ । 

अमेरिकामा हरेक चार चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

अमेरिकी राष्ट्रपतिको काम कारबाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्त्वका साथ हेर्ने गरिएको छ । एपी/एएनआई