मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

के डोनाल्ड ट्रम्प फेरि दोहोरिएलान् ?

के डोनाल्ड ट्रम्प फेरि दोहोरिएलान् ?


अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुन भरमजदुर प्रयास गरेका छन् । चुनावको अन्तिम साता शनिबार उनले चौथो चुनावी सभालाई सम्बोधन गरे । आइतबार पाँच वटा चुनाव र्‍यालीमा भाषण गरे । उनको सक्रियताले के मुख्य प्रतिस्पर्धी डेमोक्र्याटिक पार्टीका जो वाइडेनलाई रोक्न सक्ला ? कुनै आकस्मिक घटना भएन भने मंगलबार साँझ झण्डै १८ महिना लामो यो राजनीतिक बहस किनारा लाग्ने छ ।

अहिलेसम्म मिडियामा आएका चुनावी मत सर्वेक्षण मान्ने हो भने वाइडेन अगाडि छन् । तर, यस्तो सर्वेक्षण यसअघि नमिलेकाले यसै भन्न भने सकिँदैन । निर्वाचनमा कसले बाजी मार्ला भन्ने विश्लेषण अब साँघुरो हुँदै करिब दुई दर्जन जति काउन्टीमा पुगेको छ । ती काउन्टीमा बाजी मार्नेले चुनाव जित्छ भन्ने विश्लेषण हुँदैछ । जो होस् दुवै उम्मेदवारबीच प्रतिस्पर्धा निकै कडा छ । लोकप्रिय भोट अर्थात् सबैभन्दा बढी भोट ल्याउने उम्मेदवारले पनि हार्न सक्छन् । २७० इलेक्ट्रोल मत कसको पोल्टामा जान्छ यो भन्न जटिल देखिन पुगेको छ ।

डोनाल्ड ट्रम्पले पुन जित्ने आधार भनेको रोजगारीको राम्रो अवस्था, मजबुत अर्थतन्त्र, चीनको दबदबा नरुचाएका अमेरिकी मतदाता, अनुदार इमिग्रेसन नीति हुन् । अधिकांश अमेरिकी जनताका लागि सवैभन्दा ठूलो रोजगारी हो । ट्रम्पको तीन वर्ष नौ महिनाको कार्यकालमा अमेरिकामा बेरोजगारी दर निकै तल झर्‍यो । कोभिड १९ सुरु नहुँदासम्म बेरोजगारी दर ४ प्रतिशतभन्दा पनि कम थियो । यो ५० वर्ष यताकै सबैभन्दा कम बेरोजगारी दर हो ।

अमेरिकाको अर्थतन्त्र ट्रम्पको कार्यकालमा मजबुत रह्यो । काभिड १९ को संकट आउँदासमेत अर्थतन्त्रमा मन्दी आएन । यो ट्रम्प प्रशासनको सवैभन्दा ठूलो सफलता हो ।

तर, ट्रम्पले मिडियालाई गाली गर्ने, विरोधाभासपूर्ण अभिव्यक्ति सार्वजनिक गर्ने बोलीमा लगाम नलगाउनेजस्ता व्यवहार भने राष्ट्रपति भएपछि पनि छाडेनन् । यसले गर्दा विश्वमा अमेरिकाले आफ्ना परम्परागत मित्रहरुलाई पनि चिढ्यायो । ट्रम्पलाई अभरपर्दो नेताका रुपमा पनि लिइएको छ ।

जे होस् अमेरिकामा मंगलबार साँझमा तीव्र गतिमा विभाजित यसपटकको चुनावले विश्राम लिने छ । तर, यो निर्वाचनले अमेरिकी राजनीतिमात्र होइन विश्वमै आदर्श मानिने अमेरिकी प्रजातान्त्रिक अभ्यासमा चोट भने पुर्‍याएको छ । रिपब्लिकन बाहुल्यता रहेको टेक्सस राज्यमा वाइडेनको चुनाव प्रचारमा गुडिरहेको बसलाई अवरोध गरियो । डोनाल्ड ट्रम्पले चुनावी र्‍यालीमा आफ्ना मुख्य प्रतिपक्ष वाइेडनलाई निकै तल्लोस्तरको व्यक्तिगत हमला गरे ।

वाइडेनले जित्नु भनेको चीनले जित्नु हो सम्मको आरोप ट्रम्पले लगाए । वाइडेनले विदेशीलाई अमेरिकामा खुलारुपमा आउन दिन्छन्, अमेरिकी नागरिकको जागिर खोसिन्छ भन्नेजस्ता आरोप पनि ट्रम्पले लगाए ।

वाइडेनले पनि ट्रम्पलाई आलोचना गर्न बाँकी राखेनन् । उनले अमेरिकालाई विभाजित गर्ने व्यक्तिलाई अब राख्नु हुँदैन भनिरहेका छन् । यसरी हेर्दा यो चुनावमा अमेरिकाका मुख्य विषय अर्थतन्त्र, रोजगारी, स्वास्थ्य बीमामात्र होइन विश्वका विभिन्न देशहरु पनि जोडिएर आए । पहिले पहिलेका चुनावमा यस्तो तल्लोस्तरमा बहस हुन्थेन । अमेरिकाको विश्वका देशहरुसँग अन्तर्राष्ट्रिय सम्बन्ध के हुने जस्ता विषय मुद्दाका रुपमा उठ्थे । गालीगलौजका रुपमा होइन । कोभिड १९ को संक्रमणले पनि चुनावमा परम्परागतरुपमा उठ्ने मुद्दामा केही ओझेलमा परे । अर्थतन्त्र, रोजगारी, स्वास्थ्य बीमा, इमिग्रेसनजस्ता विषयमा पहिलेजस्तो गहन विश्लेषणहरु भएनन् ।

मंगलबार साँझमा नै अमेरिकाको प्रजातन्त्रका मुख्य दुई पिलर कार्यकारी र व्यवस्थापिका संसदको नतिजा आउने छ । सिनेट र कांग्रेसमा कुन पार्टीको बहुमत हुन्छ यो पनि अमेरिकी राजनीतिमा महत्त्वपूर्ण हुनेछ । राष्ट्रपति र सिनेट र कांग्रेसमा डेमोक्र्याटिक पार्टीको बहुमत आएमा अमेरिकी राजनीति असन्तुलित हुने जोखिम पनि छ । जे होस् मंगलबारको साँझ अमेरिकाको राजनीति र प्रजातान्त्रिक अभ्यासका लागि महत्त्वपूर्ण भने अवश्य हुने छ ।