मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन


वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट सम्बोधन गरेका छन् ।  

राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उनीबाट कोरोनाभाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो । 

राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोरानाभाइरसका लक्षणहरु नदेखिएको र उनी पूर्ण स्वस्थ रहेको बताएका छन् । 

अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोरानाभाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ । राष्ट्रपति स्वयंले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नीतिमाथि व्यङ्ग्य गर्दै आएका छन् ।  

ह्वाइट हाउसको शनिबार बेलुकी आयोजित सार्वजनिक समारोहमा पनि राष्ट्रपति ट्रम्पले मास्क लगाएनन् । तर, उहाँका वरिपरि अरु व्यक्ति थिएनन् । कोरोना उपचार पछि उनी गत सोमबार ह्वाइट हाउस फर्किएका थिए ।  

राष्ट्रिय मत सर्वेक्षणमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि देखिएका राष्ट्रपति ट्रम्पले अब विभिन्न राज्यमा चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ । 

राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा सम्बोधन गरी मंगलबार र बुधबार क्रमशः पेन्सिलभेनिया र आयोवा राज्यमा चुनावी सभामा सम्बोधन गर्नेछन् । 

ह्वाइट हाउसको सम्बोधनमा उनी निकै आत्मबलका साथ बोलेका थिए । उनले विगतमा झैं विपक्षी डेमोक्रेटमाथि “समाजवादी” र “वामपन्थी” एजेन्डा बोकेको आरोप लगाएका थिए । आफूले कानुनी शासन र अर्थतन्त्रलाई सही बाटोमा ल्याउन निरन्तर कार्य गरिरहेको दाबी उनको थियो । एपी