वासिङ्टन । विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड दस लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १० लाख ५३ हजार २४१ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ ।
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या १० लाख ५३ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २६ लाख ५२ हजार २८९ व्यक्ति कोरोना मुक्त भएका छन् ।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६९ लाख ७२ हजार ४४० भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार ८८१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।
मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५४ लाख नाघेको छ ।
ब्राजिलमा १ लाख ३६ हजार ५६५ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८६ हजार ९०९ जनाको मृत्यु भएको छ । रुसमा ११ लाख ३ हजार ३९९ सङ्क्रमितसहित चौंथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ६२ हजार ८६५ व्यक्ति सङ्क्रमित छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।
प्रतिक्रिया