काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले चौबिसघन्टा पनि नबित्दै एकाएक आफ्नो बयान फेरेकी छन् ।
उनले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको उल्लेख गरेकी छन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू चार÷पाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन् ।
“मेरी आमाको निधन भएपछि म मानसिक रुपमा कमजोर भएको छु । निद्रा नलाग्ने भएपछि औषधि खानुपर्ने स्थिति थियो”, उनले भनिन् ।
चिकित्सकले बिहान र बेलुकी एकएक ओटा चक्की औषधि खान सुझाव दिए पनि रिस उठेमा आफूले कहिलेकाहीँ एकैचोटि पाँच–छ तथा दश वटा पनि औषधि खाइदिने गरेको उनले सुनाइन् ।
आवेगका क्रममा कसलाई फोन गरेँ, कसलाई के भनेँ, के बोलेँ भन्ने नै पत्तो नपाउने उनको भनाइ छ । “शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला”, उनले भनिन् ।
“कहिलेकाहीँ कोहीकसैसँग रिस उठ्यो भने औषधिको मात्रा बढी खाइदिने मेरो समस्या हो । एक्कासि औषधिको मात्रा बढाएपछि अत्यन्त रिस उठ्ने, कसलाई के भन्ने नै थाहा नहुने समस्या छ । कसलाई फोन गरेँ, कसलाई के गरेँ भन्ने नै थाहा पाउँदिन”, उनले भनिन् ।
केही वर्षअघि स्वयं आफू पनि सञ्चारकर्ममा रहेको सन्दर्भ पेश गर्दै उनले अहिले सञ्चारमाध्यमले ‘हाइलाइट’ हुने नाममा कोहीकसैलाई दोषी करार गर्न लागिपरेको देख्दा आफू अचम्मित भएको समेत बताइन् ।
“सम्मानित पदको पछाडि रहने व्यक्तिलाई प्रयोग गरेर पदच्यूत गराउने र आफू त्यो स्थानमा स्थापित हुने कारणले यस विषयलाई अनावश्यक उचालिएको हो”, उनले भनिन्, “बाबु समानको मान्छेसँग आफ्नो सम्बन्धलाई अनावश्यक रुपमा जोडेको देख्दा म छक्क छु ।”
आफूले सभामुखलाई सधैँ अभिभावकका रुपमा हेर्ने गरेको उल्लेख गर्दै उनले आफूहरुको पारिवारिक सम्बन्ध रहेको पनि बताइन् ।
“विसं २०४७ देखि नै हामी महरा सरलाई चिन्छौँ । हाम्रो परिवारिक सम्बन्ध रहेको छ । सभामुख भएपछि मात्र हाम्रो चिनजान भएको होइन”, उनले भनिन् ।
आफूले महरालाई बुबासमान ठानेको जनाउँदै उनले बाबु र छोरीबीच अनैतिक सम्बन्ध हुनै नसक्ने बताइन् ।
“समाजले बाबु र छोरीबीच भिन्नता ठान्न सकेन”, अचम्म प्रकट गर्दै उनले भनिन्, “निर्दोष व्यक्तिको पछाडि अनावश्यक हल्ला फैलाइयो । यस विषयमा उहाँको कुनै दोष नै छैन ।”
अघिल्लो दिनको भिडियोमा आफैंले भनेका धेरै कुरालाई उनी आफैँले खण्डन गर्दै गरेकी छन् । महराले रक्सीको नशामा आफूलाई बलात्कार गरेको र कुटपीट गरेको निलडाम देखाउँदै महराको जुत्ताको तलुवा र फुटेको चस्मा देखाएकी थिइन् ।
तर, दोस्रो दिनको भिडियोमा उनी जुत्ताको तलुवा र चस्मा आफ्नै श्रीमानको भएको दाबी गर्छिन्।
अघिल्लो दिन महराबाट "यतिसम्म होला भन्ने नचिताएको" बताउने उनले एकाएक बयान फेरेर 'महरा आफ्नो घरमा आउँदै नआएको" बताएर सबैलाई आश्चर्य चकित बनाएकी छन्। रासस
प्रतिक्रिया