मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शाहीले चौबिसघन्टा नबित्दै फेरिन बयान : ‘सभामुख रिसको झोकमा पर्नुभयो’

शाहीले चौबिसघन्टा नबित्दै फेरिन बयान : ‘सभामुख रिसको झोकमा पर्नुभयो’


काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले चौबिसघन्टा पनि नबित्दै एकाएक आफ्नो बयान फेरेकी छन् ।
 
उनले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको उल्लेख गरेकी छन् । 
 
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू चार÷पाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन् । 
 
“मेरी आमाको निधन भएपछि म मानसिक रुपमा कमजोर भएको छु । निद्रा नलाग्ने भएपछि औषधि खानुपर्ने स्थिति थियो”, उनले भनिन् ।
 
चिकित्सकले बिहान र बेलुकी एकएक ओटा चक्की औषधि खान सुझाव दिए पनि रिस उठेमा आफूले कहिलेकाहीँ एकैचोटि पाँच–छ तथा दश वटा पनि औषधि खाइदिने गरेको उनले सुनाइन् । 
 
आवेगका क्रममा कसलाई फोन गरेँ, कसलाई के भनेँ, के बोलेँ भन्ने नै पत्तो नपाउने उनको भनाइ छ । “शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला”, उनले भनिन् । 
 
“कहिलेकाहीँ कोहीकसैसँग रिस उठ्यो भने औषधिको मात्रा बढी खाइदिने मेरो समस्या हो । एक्कासि औषधिको मात्रा बढाएपछि अत्यन्त रिस उठ्ने, कसलाई के भन्ने नै थाहा नहुने समस्या छ । कसलाई फोन गरेँ, कसलाई के गरेँ भन्ने नै थाहा पाउँदिन”, उनले भनिन् । 
 
केही वर्षअघि स्वयं आफू पनि सञ्चारकर्ममा रहेको सन्दर्भ पेश गर्दै उनले अहिले सञ्चारमाध्यमले ‘हाइलाइट’ हुने नाममा कोहीकसैलाई दोषी करार गर्न लागिपरेको देख्दा आफू अचम्मित भएको समेत बताइन् । 
 
“सम्मानित पदको पछाडि रहने व्यक्तिलाई प्रयोग गरेर पदच्यूत गराउने र आफू त्यो स्थानमा स्थापित हुने कारणले यस विषयलाई अनावश्यक उचालिएको हो”, उनले भनिन्,  “बाबु समानको मान्छेसँग आफ्नो सम्बन्धलाई अनावश्यक रुपमा जोडेको देख्दा म छक्क छु ।”
 
आफूले सभामुखलाई सधैँ अभिभावकका रुपमा हेर्ने गरेको उल्लेख गर्दै उनले आफूहरुको पारिवारिक सम्बन्ध रहेको पनि बताइन् । 
 
“विसं २०४७ देखि नै हामी महरा सरलाई चिन्छौँ । हाम्रो परिवारिक सम्बन्ध रहेको छ । सभामुख भएपछि मात्र हाम्रो चिनजान भएको होइन”, उनले भनिन् ।
 
आफूले महरालाई बुबासमान ठानेको जनाउँदै उनले बाबु र छोरीबीच अनैतिक सम्बन्ध हुनै नसक्ने बताइन् । 
 
“समाजले बाबु र छोरीबीच भिन्नता ठान्न सकेन”, अचम्म प्रकट गर्दै उनले भनिन्, “निर्दोष व्यक्तिको पछाडि अनावश्यक हल्ला फैलाइयो । यस विषयमा उहाँको कुनै दोष नै छैन ।” 
 
अघिल्लो दिनको भिडियोमा आफैंले भनेका धेरै कुरालाई उनी आफैँले खण्डन गर्दै गरेकी छन् । महराले रक्सीको नशामा आफूलाई बलात्कार गरेको र कुटपीट गरेको निलडाम देखाउँदै महराको जुत्ताको तलुवा र फुटेको चस्मा देखाएकी थिइन् ।
 
तर, दोस्रो दिनको भिडियोमा उनी जुत्ताको तलुवा र चस्मा आफ्नै श्रीमानको भएको दाबी गर्छिन्।
 
अघिल्लो दिन महराबाट "यतिसम्म होला भन्ने नचिताएको" बताउने उनले एकाएक बयान फेरेर 'महरा आफ्नो घरमा आउँदै नआएको" बताएर सबैलाई आश्चर्य चकित बनाएकी छन्। रासस