काठमाडौँ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रूपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैककको शून्य समयमा सांसदहरूले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसँग आग्रह गरे ।
सांसद कृष्णगोपाल श्रेष्ठले आज काठमाडाँैको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेङ्गु रोगका कारण निधन हुनपुगेको जानकारी गराए ।
सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेङ्गु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताइन् । उनको प्रश्न गरिन्, “डेङ्गु नियन्त्रण गर्ने काम नेपाली सेनाको हो ? के सेना परिचालन गर्न मिल्छ ?”
सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रूपमा फैलिएको डेङ्गु नियन्त्रण गर्न सरकार असफल बनेको बताइन् । सांसद नरमाया ढकालले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउन आग्रह गरिन् ।
मन्त्रालयका अनुसार पछिल्लो समय सो रोग ४८ जिल्लामा फैलिएको, तीन हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र चारजनाको अकालमा मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले विशेषगरी कीटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाइँ परेको जनाइएको छ ।
आजको शून्य समयमा विद्यालय जान लागिरहेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि शुक्रबार वीरगञ्जमा भएको आक्रमणको भत्सर्ना गर्दै उनले काठमाडांैस्थित कीर्तिपुरमा उपचारत खातुनलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र एसिड प्रहार गर्नेमाथि कडा कारबाही गराउन पनि सांसदहरूले सरकारको ध्यानाकर्षणसमेत गराइन् । सांसद श्रेष्ठ र पार्वती डिसी चौधरीले कीर्तिपुरमा उपचारत् खातुनको निःशुःल्क उपचारको व्यवस्था गर्न माग गरे ।
बैठकमा सांसद टेकबहादुुर बस्नेतले असार मसान्तमा नै खर्च गर्ने प्रवृत्ति कानूनले अन्त्य गरे पनि व्यावहारिकरूपमा अन्त्य नभएकोतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । अर्का सांसद तेजुलाल चौधरीले धान रोप्ने समयमा तराई÷मधेसमा बाढी डुवान भएको यो अहिले सुख्खाग्रस्त भएकाले सङ्घीय सरकारले ध्यान दिन आग्रह गरे ।
सांसद दामोदर भण्डारीले बैतडी जिल्लाका तीन पालिकामध्ये शिवनाथ गाउँपालिकामा हिंस्रक बाघको आतङ्क भएकाले नियन्त्रणको लागि माग गरे ।
सांसद दिलकुमारीले महिला माथि हुने हिंसा अन्त्य गर्न सरकारले विशेष कार्ययोजना ल्याउन र शुक्रबार वीरगञ्जका किशोरी मुस्कान खातुनमाथि एसिड प्रहार गर्नेलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद देवप्रसाद गुरुङले एनसेलको लाभकरका विषयमा भएको आदेशमाथि सरकारले पुनरावलोकन गर्न माग गरे । अर्का सांसद देवप्रसाद तिमल्सिनाले कृषकले उत्पादन गरेका ऊखुको मूल्य नपाएको चर्चा गर्दै ऊखुको मूल्य नदिने उद्योगमाथि कारवाही गर्न माग गरे ।
सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशय आयोजना कार्यान्वयन गर्न सरकारले पहिलो प्राथमिकता दिन माग गरे । सांसद देवेन्द्रराज कणेलले नवलपरासी जिल्लामा हालै विभत्सरूपमा गाईको मृत्यु भएकोतर्फ ध्यानाकर्षण गराउँदै हत्या गर्नेमाथि कारवाही गर्न माग गरे । अर्का सांसद नवीना लामाले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया