मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

४८ जिल्लामा फैलियो डेङ्गु रोगको प्रकोप, नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप

४८ जिल्लामा फैलियो डेङ्गु रोगको प्रकोप, नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप


काठमाडौँ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रूपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैककको शून्य समयमा सांसदहरूले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसँग आग्रह गरे ।
 
सांसद कृष्णगोपाल श्रेष्ठले आज काठमाडाँैको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेङ्गु रोगका कारण निधन हुनपुगेको जानकारी गराए ।  
 
सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेङ्गु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताइन् । उनको प्रश्न गरिन्, “डेङ्गु नियन्त्रण गर्ने काम नेपाली सेनाको हो ? के सेना परिचालन गर्न मिल्छ ?”
 
सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रूपमा फैलिएको डेङ्गु नियन्त्रण गर्न सरकार असफल बनेको बताइन् । सांसद नरमाया ढकालले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउन आग्रह गरिन् । 
 
मन्त्रालयका अनुसार पछिल्लो समय सो रोग ४८ जिल्लामा फैलिएको, तीन हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र चारजनाको अकालमा मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले विशेषगरी कीटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाइँ परेको जनाइएको छ ।
 
आजको शून्य समयमा विद्यालय जान लागिरहेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि शुक्रबार वीरगञ्जमा भएको आक्रमणको भत्सर्ना गर्दै उनले काठमाडांैस्थित कीर्तिपुरमा उपचारत खातुनलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र एसिड प्रहार गर्नेमाथि कडा कारबाही गराउन पनि सांसदहरूले सरकारको ध्यानाकर्षणसमेत गराइन् । सांसद श्रेष्ठ र पार्वती डिसी चौधरीले कीर्तिपुरमा उपचारत् खातुनको निःशुःल्क उपचारको व्यवस्था गर्न माग गरे । 
 
 बैठकमा सांसद टेकबहादुुर बस्नेतले असार मसान्तमा नै खर्च गर्ने प्रवृत्ति कानूनले अन्त्य गरे पनि व्यावहारिकरूपमा अन्त्य नभएकोतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । अर्का सांसद तेजुलाल चौधरीले धान रोप्ने समयमा तराई÷मधेसमा बाढी डुवान भएको यो अहिले सुख्खाग्रस्त भएकाले सङ्घीय सरकारले ध्यान दिन आग्रह गरे । 
 
सांसद दामोदर भण्डारीले बैतडी जिल्लाका तीन पालिकामध्ये शिवनाथ गाउँपालिकामा हिंस्रक बाघको आतङ्क भएकाले नियन्त्रणको लागि माग गरे ।
 
सांसद दिलकुमारीले  महिला माथि हुने  हिंसा अन्त्य गर्न सरकारले विशेष कार्ययोजना ल्याउन र  शुक्रबार वीरगञ्जका किशोरी मुस्कान खातुनमाथि एसिड प्रहार गर्नेलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । 
 
सांसद देवप्रसाद गुरुङले एनसेलको लाभकरका विषयमा भएको आदेशमाथि सरकारले पुनरावलोकन गर्न माग गरे । अर्का सांसद देवप्रसाद तिमल्सिनाले कृषकले उत्पादन गरेका ऊखुको मूल्य नपाएको चर्चा गर्दै ऊखुको मूल्य नदिने उद्योगमाथि कारवाही गर्न माग गरे । 
 
सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशय आयोजना कार्यान्वयन गर्न सरकारले पहिलो प्राथमिकता दिन माग गरे । सांसद देवेन्द्रराज कणेलले नवलपरासी जिल्लामा हालै विभत्सरूपमा गाईको मृत्यु भएकोतर्फ ध्यानाकर्षण गराउँदै  हत्या गर्नेमाथि कारवाही गर्न माग गरे । अर्का सांसद नवीना लामाले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।