नेपाल

संसदीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध

संसदीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरूले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । 
 
प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि काङ्ग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा पुगेर नाराबाजी गर्दै विरोध जनाएका थिए । 
 
काङ्ग्रेस र राजपाका सांसद्ले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् । 
 
पौडेल नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाहीका इन्चार्ज थिए । यस्तै अवैध बालुवा निकाल्ने क्रममा खनिएको खाल्डोमा परेर १२ वर्षीय बालक रायको मृत्यु भएको थियो । बालक मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका केवल महतोको प्रहरीसँगको झडपमा निधन भएको थियो । 
 
संसद चल्नुपर्छ : सभामुख 
 
सभामुखले संसदीय सर्वोच्चता कायम गर्नका लागि संसद् चलाउने वातावरण बनाउन र छलफल गर्न दिन आग्रह गरे । उनले सांसद्हरूले उठाएको विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको भन्दै संसद् चल्न दिन र आ–आफ्नो आसनमा बस्न गरेका थिए । 
 
सभामुख महराले प्रतिनिधिसभाको बैठक नचल्दा देश र जनताको विविध विषय छलफलमा जान नपाएको भन्दै विरोध गरेर समय खेर नफाल्न आग्रह गरे । सभामुखको आग्रहलाई अस्वीकार गर्दै काङ्ग्रेस र राजपाका सांसदले लगातार नाराबाजी गर्दै संसदीय सर्वोच्चता कायम गर्न माग गरेका थिए । 
 
लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभयो । बैठक १ बजे सुरु भएको थियो । विपक्षी दलका सांसदले करिब ४० मिनेट नाराबाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते दिउँसो ११ बजे बस्ने गरी स्थगित भएको छ ।