मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसदीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध

संसदीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरूले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । 
 
प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि काङ्ग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा पुगेर नाराबाजी गर्दै विरोध जनाएका थिए । 
 
काङ्ग्रेस र राजपाका सांसद्ले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् । 
 
पौडेल नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाहीका इन्चार्ज थिए । यस्तै अवैध बालुवा निकाल्ने क्रममा खनिएको खाल्डोमा परेर १२ वर्षीय बालक रायको मृत्यु भएको थियो । बालक मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका केवल महतोको प्रहरीसँगको झडपमा निधन भएको थियो । 
 
संसद चल्नुपर्छ : सभामुख 
 
सभामुखले संसदीय सर्वोच्चता कायम गर्नका लागि संसद् चलाउने वातावरण बनाउन र छलफल गर्न दिन आग्रह गरे । उनले सांसद्हरूले उठाएको विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको भन्दै संसद् चल्न दिन र आ–आफ्नो आसनमा बस्न गरेका थिए । 
 
सभामुख महराले प्रतिनिधिसभाको बैठक नचल्दा देश र जनताको विविध विषय छलफलमा जान नपाएको भन्दै विरोध गरेर समय खेर नफाल्न आग्रह गरे । सभामुखको आग्रहलाई अस्वीकार गर्दै काङ्ग्रेस र राजपाका सांसदले लगातार नाराबाजी गर्दै संसदीय सर्वोच्चता कायम गर्न माग गरेका थिए । 
 
लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभयो । बैठक १ बजे सुरु भएको थियो । विपक्षी दलका सांसदले करिब ४० मिनेट नाराबाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते दिउँसो ११ बजे बस्ने गरी स्थगित भएको छ ।