हिमालय खबर टेक्सास I अप्रिल २५, २०१५ मा नेपालमा गएको महाभूकम्पबाट एथेन्स, टेक्सासमा दिनेश मैनाली धेरै आहत भई आफु काम काम गरिरहनु भएको स्टोरमा एउटा चन्दा बाकस राख्नु भएको थियो| मुर्चिसन र भ्यान काउन्टीका ग्राहकहरुले राम्रो चन्दा रकम दिईरहनु भएको थियो| प्राप्त भएको रकम आफु संलग्न भएको संस्था “डेभलपमेन्ट फर पिस” (डीएफपि) को कोषमा दाखिला हुन्थ्यो| डीएफपिले यस्तै विभिन्न श्रोतबाट संकलन भएको रकमबाट रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट आदि जिल्लाहरुमा सक्दो राहत सामग्रीहरु वितरण गरिरहेको थियो|
यसै सिलसिलामा उहाँको कारेन क्रुगर संग चिनापर्ची बढ्यो| कारेन क्रुगर र उहाँको श्रीमानलाई नेपाल र नेपाली प्रति विशेष माया थियो| इराकमा सुरक्षा सम्बन्धि काममा खटिंदा नेपाली सहयोगी/मित्रहरुसंग उहाँहरुको हार्दिक निकटता थियो| उहाँहरु नेपालमा भूकम्पपिडितहरुलाई सक्दो सहयोग पुरयाउन तल्लिन हुनुहुन्थ्यो| मे १०, २०१५ मा टेक्सासको पूर्वी भागमा भयंकर आँधीबेहरी (टोरनाड़ो) आयो र भ्यान काउन्टीका धेरै घरहरु ध्वस्त भए| दिनेश मैनाली र कारेन क्रुगरलाई यस अवस्थाले अझै केहि गर्न घच्घच्यायो|
डेभलपमेन्ट फर पिस र अरु सहयोगी मित्र, संस्थाहरुसंग मिलेर चन्दा संकलन गर्ने निर्णय गरियो| मे २५, २०१५ मा मुर्चिसनमा यार्डसेल र बार्बिक्यु गरियो र त्यसबाट यु.यस.डलर १७००.०० जम्मा भयो| त्यसपछि वूडफरेस्ट ब्यांकको प्रांगणमा चन्दा संकलन गर्दा उक्त रकम बढेर डलर २०००.०० भयो| जून ७, २०१५ मा “डेभलपमेन्ट फर पिस” (डीएफपि) र सहयोगीहरूका तर्फबाट भ्यान काउन्टी टोर्नाडो राहत कोषलाई उल्लेखित रकमको चेक हस्तान्तरण गरियो| सोहि दिन डीएफपिका स्वयमसेवकहरु टोर्नाडोबाट पूर्णरुपमा ध्वस्त एक घरको भग्नावशेष सफा गर्ने काममा सहभागी भए| नेपाली मूलका र रैथाने वासिन्दा बिच एक अर्कालाई आपद-विपद पर्दा सहयोग गर्ने भावनाले यसरि मूर्त रुप लियो- भ्यान काउन्टीको टोर्नाडो राहत र नेपालको भूकम्प राहतको लागि चन्दा संकलन र परिचालनमा| सिलसिला जारी छ, जारी रहनेछ- कारेन क्रुगर, मिसेइल हाफिज, स्कट म्याकनेर, जुआन कामार्गो आदि डेभलपमेन्ट फर पिस” (डीएफपि) संग आबद्द हुनुहुन्छ- मानवीय सेवाको काममा|
प्रतिक्रिया