– वासुदेव पौडेल
बीजदेखि ब्रह्मसम्मको जीवन-यात्रालाई बुझ्न तपशिलका दुई मौलिक प्रश्नहरूमाथि उत्तर खोज्नु आवश्यक देखिन्छ:
– म कहाँबाट आएको हुँ ? र
– म कहाँ पुग्नुपर्छ ?
यी प्रश्नहरु केवल आध्यात्मिक चिन्तन-मननका विषय मात्र होइनन्; यी त आत्म-अन्वेषणका मूल आधार पनि हुन्। सनातन दर्शनले यी दुवै प्रश्नहरुको उत्तर शिव-तत्त्वमा देखाउँछ। शिव-तत्त्व को न आदि छ, न अन्त्य। यो त्यो ‘शून्य’ (आकाशीय आधार) हो, जहाँबाट सबै कुरा उत्पन्न हुन्छ र अन्ततः सबै कुरा विलीन हुन्छ। विज्ञानको भाषामा यसलाई Singularity वा Cosmic Space सँग तुलना गर्न सकिन्छ।
शिवलिङ्ग सृष्टिको बीज र अस्तित्वको आदि प्रतीक हो भने भगवान् शिव मोक्ष, ज्ञान र परम शान्तिका अधिष्ठाता हुनुहुन्छ। यसरी हेर्दा, सृष्टिको आरम्भदेखि मुक्तिको शिखरसम्मको सम्पूर्ण यात्रा नै शिव-तत्त्व हो। शिवलिङ्गको पूजा गर्नु भनेको आफ्नो अस्तित्वको मूल स्रोतलाई स्वीकार गर्नु हो, र शिवको ध्यान गर्नु भनेको परम शान्तिको अनुभूति गर्नु हो।
(क) निराकार र साकारको दिव्य मिलन:
भगवान् शिवको उपासना मुख्यतया दुई स्वरूपमा गरिन्छ- “निराकार र साकार”। शिवलिङ्ग निराकारको अनन्त प्रतीक हो । ‘लिङ्ग’ शब्दको वास्तविक अर्थ ‘चिह्न’ वा ‘सङ्केत’ हो। शिवलिङ्ग भगवान् शिवको त्यस्तो निराकार स्वरूपको प्रतीक हो, जसमा कुनै मानवीय आकृति वा सीमा कोरिएको हुँदैन। यसले एउटा शाश्वत सन्देश प्रवाह गर्छ- “परम सत्य कुनै सीमित आकारमा बाँधिन सक्दैन”। शिवलिङ्ग ब्रह्माण्डको ‘शून्य’ र ‘अनन्त ऊर्जा’ को सङ्केत पनि हो।
शिवलिङ्ग निराकार परमात्माको अनन्त प्रतीक हो भने भगवान् शिव उहाँको साकार र सगुण स्वरूप हुनुहुन्छ।
जटामा गङ्गा, कण्ठमा विष (नीलकण्ठ), हातमा त्रिशूल र डमरु धारण गर्नुभएका भगवान् शिवको साकार र सगुण रूप हुन्। यो स्वरूपले शिवका दिव्य विभूतिहरू: करुणा, त्याग, ज्ञान, वैराग्य र सरलता लाई जीवन्त रूपमा अभिव्यक्त गर्दछ।
वस्तुतः निराकार सत्यलाई आत्मसात् गर्न कठिन हुने हुनाले साकार रूपले साधकलाई एकाग्रता, ध्यान र भक्तिमा सहजता प्रदान गर्दछ। यसरी निराकार र साकार एक-अर्काका विरोधी होइनन्; बरु यी त एउटै परम सत्यका दुई परिपूरक आयाम हुन्।
(ख) पौराणिक सन्दर्भ; ज्योतिर्लिङ्गको प्राकट्य:
शिव पुराणको विद्येश्वर संहितामा वर्णित कथाअनुसार, सृष्टिको उषाकालमा ब्रह्मा र विष्णुबीच “को श्रेष्ठ ?” भन्ने विषयमा गम्भीर विवाद उत्पन्न भयो। दुवैले आफूलाई नै ब्रह्माण्डको सर्वोच्च सत्ता र सृष्टिकर्ता दाबी गर्न थाल्नुभयो।
त्यही अहङ्कारपूर्ण विवादको समाधानार्थ उहाँहरूको बीचमा अचानक एउटा अनन्त ज्योतिर्लिङ्ग (अग्निस्तम्भ) प्राकट्य भयो। त्यो दिव्य स्तम्भको न कुनै आदि (आरम्भ) देखिन्थ्यो, न त कुनै अन्त्य।
ब्रह्मा हंस रूप धारण गरी त्यसको शिखर खोज्न आकाशतर्फ उड्नुभयो। विष्णु वराह रूप धारण गरी त्यसको फेद पहिल्याउन पातालतर्फ लाग्नुभयो।
हजारौँ वर्षको अथक प्रयासपछि पनि विष्णुले त्यसको फेद फेला पार्न सक्नुभएन र आफ्नो पराजय स्वीकार गरी विनम्रताका साथ फर्कनुभयो। यता ब्रह्माले पनि शिखर त फेला पार्नुभएन, तर केतकी पुष्पलाई साक्षी राखेर असत्य दाबी गर्नुभयो। तत्पश्चात् त्यस ज्योतिर्लिङ्गबाट साक्षात् भगवान् शिव प्रकट हुनुभयो। उहाँले विष्णुको सत्यनिष्ठा र विनम्रताबाट प्रसन्न भई आशीर्वाद दिनुभयो भने ब्रह्मालाई असत्य वाचन गरेकोमा दण्डित गर्नुभयो। यस गाथाको दार्शनिक सन्देश स्पष्ट छ:
– परम सत्य अनन्त र अपरिमेय छ।
– अहङ्कारको कसीले अध्यात्मको उचाइ नाप्न सकिँदैन।
– मोक्षको पहिलो पाइला नै “विनम्रता र पूर्ण समर्पण” हो।
(ग) चेतना र ऊर्जाको अविभाज्य सम्बन्ध:
भगवान् शिवलाई ‘परम चेतना’ मानिन्छ भने शिवलिङ्ग त्यो चेतना प्रकट हुने दिव्य आधारको प्रतीक हो।
– शिव र शक्ति: शिवलिङ्गमा निहित ‘लिङ्ग’ (पुरुष-तत्त्व) ले शुद्ध चेतनाको प्रतिनिधित्व गर्दछ भने ‘योनी’ (शक्ति-तत्त्व) ले सृजनात्मक ऊर्जाको। यी दुई तत्वको अनन्त मिलनबाटै यो चराचर सृष्टिको प्रादुर्भाव सम्भव भएको हो।
– अद्वैत भाव: जसरी सूर्य र त्यसको प्रकाशलाई अलग गर्न सकिँदैन, त्यसरी नै शिव र शक्ति पनि एक-अर्काबाट पृथक् छैनन्।
जसरी एउटा सूक्ष्म बीजभित्र विशाल वृक्षको सामर्थ्य गुप्त रूपमा लुकेको हुन्छ, ठ्याक्कै त्यसरी नै शिव-चेतनामा यो सम्पूर्ण दृश्य-अदृश्य ब्रह्माण्ड अनन्त सम्भावनाका रूपमा निहित रहन्छ। बीज फुट्नु सृष्टिको आरम्भ हो भने वृक्षको विशालता शिवको लीला हो।
(घ) लय र सृष्टिको शाश्वत चक्र:
शिवलाई ‘लयकर्ता’ भनिन्छ। तर अध्यात्ममा ‘लय’ को अर्थ केबल विनाश वा संहार मात्र होइन; लय त रूपान्तरणको एउटा महान् प्रक्रिया हो।
– सृष्टिको केन्द्र: शिवलिङ्ग ब्रह्माण्डको त्यो अविचल केन्द्र हो- जहाँबाट जीवनको अङ्कुरण हुन्छ, जहाँ यो अस्तित्व टिक्छ र अन्त्यमा जहाँ आएर सबै कुरा विलीन हुन्छन्।
– भगवान् नटराजको ताण्डव नृत्य यही सृष्टि र लयको महाचक्रको जीवन्त प्रतीक हो:
— डमरु: नादब्रह्म, जसले सृष्टिको आरम्भ गर्छ।
— अग्नि: रूपान्तरणकारी लय र संहारको ज्वाला।
— अभय हस्त: भक्तको संरक्षण र सुरक्षाको ईश्वरीय आश्वासन।
— अपस्मार: अज्ञानता र अन्धकारको समूल अन्त्य।
जसरी दिनपछि रात र रातपछि पुनः प्रभातको आगमन निश्चित छ, त्यसरी नै शिव-तत्त्वमा सृष्टि र लयको यो चक्र अनवरत रूपमा चलिरहन्छ।
(ङ्ग) दार्शनिक र वैज्ञानिक समन्वय; शिव-तत्त्वको गहिराइ:
दर्शनशास्त्रमा ‘लिङ्ग’ शब्दको अर्थ हुन्छ “प्रमाण, लक्षण वा सङ्केत”। जसरी टाढा देखिएको धुवाँले अदृश्य अग्निको अस्तित्व प्रमाणित गर्छ, त्यसरी नै शिवलिङ्गको दर्शनले निराकार परमात्माको सर्वव्यापी उपस्थितिको बोध गराउँछ।
भगवान् शिव त्यो परम चेतना हुनुहुन्छ, जसको न कुनै आदि छ, न त कुनै अन्त्य। दार्शनिक रूपमा उहाँलाई ‘महाकाल’ भनिन्छ- अर्थात् समयको सीमाभन्दा परको निरपेक्ष सत्ता। समयको गतिले संसारका हरेक वस्तुलाई परिवर्तन गर्छ, तर शिव त्यो परिवर्तनभन्दा माथि हुनुहुन्छ। उहाँ कुनै निश्चित आकार वा संकुचित सीमामा कहिल्यै बाँधिनुहुन्न।
शिवलिङ्गले ‘शून्य’ र ‘पूर्ण’ दुवैको रहस्यमय सङ्केत गर्दछ। जसरी गणितमा शून्यबाटै संख्याहरूको अनन्त विस्तार सम्भव हुन्छ र अन्त्यमा सबै गणनाहरू शून्यमै विलीन हुन्छन्, त्यसरी नै शिव-तत्त्वबाटै यो विराट सृष्टिको प्रादुर्भाव हुन्छ र अन्ततः सबै चराचर जगत शिवमै समाहित हुन्छ। शिवलिङ्गको अण्डाकार स्वरूपले यही ब्रह्माण्डीय अनन्तता र पूर्णताको जीवन्त अनुभूति गराउँछ।
आधुनिक विज्ञान, विशेष गरी क्वान्टम भौतिकी (Quantum Physics) र ब्रह्माण्ड विज्ञान (Cosmology) का कतिपय सिद्धान्तहरू शिवलिङ्गको प्रतीकात्मक अर्थसँग आश्चर्यजनक रूपमा मेल खान्छन्।
(१) ब्रह्माण्डको उत्पत्ति (Singularity): आधुनिक विज्ञानका अनुसार यो विशाल ब्रह्माण्डको प्रादुर्भाव अत्यन्तै सूक्ष्म तर असीम ऊर्जा सञ्चित भएको एउटा बिन्दु (Singularity) बाट भएको हो। शिव-पुराणमा वर्णित ‘अनन्त ज्योतिर्लिङ्ग’ को प्राकट्यलाई ठ्याक्कै यही ब्रह्माण्डीय ऊर्जा विस्फोट (Big Bang) को आध्यात्मिक रूपकका रूपमा बोध गर्न सकिन्छ।
(२) अण्डाकार स्वरूप (Cosmic Egg): शिवलिङ्गको अण्डाकार बनावटलाई ‘कस्मिक एग’ अर्थात् ब्रह्माण्डीय बीजसँग तुलना गरिन्छ। अन्तरिक्षका अनेकन् ग्यालेक्सी र खगोलीय पिण्डहरू पूर्ण गोलाकार नभई अण्डाकार (Elliptical) स्वरूपमा रहेका हुन्छन्। यसर्थ, शिवलिङ्गले यो विशाल ब्रह्माण्डको लघु रूप (Microcosm) लाई सङ्केत गरेको देखिन्छ।
(३) ऊर्जाको प्रवाह (Energy Flow): विज्ञानको शाश्वत नियम छ “ऊर्जा कहिल्यै नष्ट हुँदैन, यो केवल रूपान्तरित हुन्छ”। शिवलिङ्गमा निरन्तर जलधारा अर्पण गर्ने पवित्र परम्पराले पनि यही ऊर्जा-चक्रको गतिशीलता र शीतलताको प्रतीकलाई उजागर गर्दछ।
यसका अन्तर्निहित सङ्केतहरू:
– ब्रह्माण्ड कुनै स्थिर वस्तु होइन; यो त निरन्तर गतिशील र प्रवाहमान छ।
– सृष्टिका प्रत्येक सूक्ष्म कणमा ऊर्जा प्रवाहित छ, र यही ऊर्जा नै वास्तवमा शिव-तत्त्वको सङ्केत हो।
दार्शनिक दृष्टिले शिवलाई ‘परम चेतना’ भनिन्छ भने वैज्ञानिक दृष्टिले ब्रह्माण्डको मूल आधार ‘ऊर्जा’ हो। यी दुवै शब्दावलीले एउटै गहिराइतर्फ सङ्केत गर्छन- एउटा यस्तो अदृश्य, सर्वव्यापी र अनन्त आधारतत्त्व, जसले सम्पूर्ण ब्रह्माण्डलाई आफ्नो काखमा थामेको छ।
जहाँ दर्शन ‘चेतना’ को भाषामा बोल्छ, विज्ञान ‘ऊर्जा’ को भाषामा प्रस्तुत हुन्छ; तर दुवैले अन्वेषण गरेको अन्तिम सत्य एउटै हो। यसलाई यसरी बुझ्न सकिन्छ: “जहाँ दर्शनको भाषा मौन हुन्छ, त्यहाँ विज्ञानले प्रश्न गर्न थाल्छ; र जहाँ विज्ञानको गणितीय गणना रोकिन्छ, त्यहाँबाट शिव-तत्त्वको अलौकिक अनुभूति सुरु हुन्छ।”
शिवलिङ्गको पूजा गर्नु भनेको ब्रह्माण्डीय चेतना र ऊर्जा-तत्त्वको संयुक्त प्रार्थना गर्नु हो। यो सृष्टिदेखि मोक्षसम्मको यात्रामा हाम्रो अस्तित्वको वैज्ञानिक र आध्यात्मिक प्रमाण हो।
सारमा भन्नुपर्दा,
शिवलिङ्गको पूजा र भगवान् शिवको ध्यान जीवनको सुरुदेखि अन्त्यसम्मको एउटा पूर्ण यात्रा हो, जसलाई मुख्यतया तपशिलका चार बुँदाहरूमा सूत्रबद्ध गर्न सकिन्छ:
– अस्तित्वको सम्मान: शिवलिङ्गको पूजा गर्नु भनेको “म यो ब्रह्माण्डको एउटा अंश हुँ र म त्यही दिव्य चेतनाबाट जन्मेको हुँ” भन्ने सत्यलाई स्वीकार गर्नु हो।
– अज्ञानबाट मुक्ति नै मोक्ष: मोक्ष मृत्युपछिको कुनै परलोक मात्र होइन; यो जीवित छँदै मनको भ्रम, बुद्धि र अहंकारभन्दा माथि उठेर अज्ञानताबाट मुक्त हुनु हो।
– आरम्भ र लक्ष्य: शिवलिङ्ग सृष्टिको बीज (आरम्भ) हो भने भगवान् शिव मुक्तिको मार्गदर्शक (अन्तिम लक्ष्य) हुनुहुन्छ।
– आफैंभित्र शिवको खोजी: शिव बाहिरी संसारमा मात्र सीमित हुनुहुन्न; उहाँ हाम्रो अस्तित्वको मूल आधार र अन्तिम सत्य हुनुहुन्छ।
अन्ततः शिव-तत्त्व केवल पूजाको विषय होइन; यो चेतना, ऊर्जा र अस्तित्वको गहिरो एकत्वको जीवन्त अनुभूति हो। जब हामी आफ्नै भित्रको त्यो परम चेतनालाई चिन्छौं, तब मात्र हृदयको गहिराइबाट स्वतः गुञ्जिन्छ- “ शिवोऽहम् ” अर्थात् ” म नै शिव हुँ ”
ॐ नमः शिवाय !













प्रतिक्रिया