मुख्य समाचार


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

धनगढी । प्रि–मनसुन सक्रिय भएसँगै सुदूरपश्चिमका नदी तथा खोलामा पानीको बहाव बढ्न थालेको छ। यसैक्रममा कञ्चनपुरका विभिन्न स्थानमा बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयका अनुसार जेठ १४ गते रातिदेखि परेको अविरल वर्षापछि कञ्चनपुरको दोधा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका स्थानीयवासीको उद्धार गरिएको हो ।

Advertisement

पुनर्वास नगरपालिका–९ सीता बस्तीस्थित दोधा नदीमा पानीको बहाव एक्कासि बढेपछि नदीपारिको जंगलमा निउरो टिप्न गएका पाँच जना महिला अलपत्र परेका थिए। सशस्त्र प्रहरी बलको बिचफाँटा बीओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा खटिएको विपद् व्यवस्थापन तालिमप्राप्त टोलीले डोरी (रोप रेस्क्यु) को सहायताले उनीहरूको उद्धार गरेको हो ।

उद्धार गरिएकामा पुनर्वास नगरपालिका–८ कंकडकी ३५ वर्षीया जनैमती राना, ४५ वर्षीया रामबेटी राना, २८ वर्षीया रविना राना, २१ वर्षीया सङ्गीता राना र २४ वर्षीया देवकी राना रहेका छन् । उद्धारपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही दिन पुनर्वास नगरपालिका–९ हरियालीटोलस्थित बाहुन खोलामा पानीको सतह बढेपछि दाउरा तथा घाँस काट्न गएका १५ जना महिला खोलापारि फसेका थिए। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूको पनि सकुशल उद्धार गरिएको जनाइएको छ ।

यसैबीच, जेठ १६ गते बैतडीको दशरथचन्द नगरपालिका–४ बिनासौँमा भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको छ। स्थानीयवासीको सूचनापछि अस्थायी मनसुन प्रतिकार्य बेस बैतडीबाट सशस्त्र प्रहरी नायब निरीक्षक गोपालसिंह साँउदको नेतृत्वमा १० सदस्यीय टोली घटनास्थल पुगेको थियो। टोलीले साँझ ७ः५५ बजे ३५ वर्षीय सन्तोष कार्कीको शव भिरबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी पठाएको जनाएको छ ।

मनसुन सुरु भएसँगै पहाडी क्षेत्रमा परेको वर्षाका कारण तराईका नदी तथा खोलामा एक्कासि पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन सशस्त्र प्रहरी बल नेपाल नं। ७ वैद्यनाथ बाहिनी मुख्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।