मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
विचार / ब्लग    

अति भयो ! हरिबोल अब अन्तिम हुनुपर्छ

अति भयो ! हरिबोल अब अन्तिम हुनुपर्छ


मंगलबार मध्यान्ह सवा १२ बजेतिर मित्र विकासजी (विकासराज न्यौपाने) को कल आयो । ‘हरिबोलजीको बारेमा के के सुनियो । उहाँको घर ग्रेनबेरी जान लागेको’ उहाँले संक्षिप्तमा भन्नुभयो ।
‘के के सुनियो’ भन्नासाथ मेरो दिमागमा बिरामी पर्नुभएछ कि भन्ने लाग्यो । दोहोर्याएर सोधेँ ।

‘सेरिएसको कुरो छ, त्यहीँ पुगेपछि पत्ता लाग्छ होला । अहिले त कसैले केही भन्नै सकेका छैनन् के भएको हो भनेर’ उहाँले अलिक विस्तारमा जानकारी दिनुभयो ।

म काममै थिएँ । तर मेरो शरिर काममा भएपनि मन भने हरिबोलजीको त्यो मसिनो अनि तिखो बोली, स्टेफनभीलमा रहेको बेलामा होस् या ग्रेनबेरी सरिकसेपछि होस् युलेस आउँदा फोन गरेर अवस्था सोध्ने, नेपाली कांग्रेसका कोही नेता आउँदा कार्यक्रम राखेर निम्ता गर्ने त्यो फराकिलो सोच र स्वभाव मस्तिष्कमा फनफनी घुम्न थाल्यो ।

साँझ साढे ५ बजेतिर विकासजीले एउटा सानो टिपोट पठाउनुभयो घटनास्थल र हरिबोलजीका बारेमा । म खंग्रंग परेँ । केही दिन अघिसम्म कुराकानी गरेको मान्छेलाई आफ्नै हातले स्वर्गीय भन्दै समाचार लेख्नुपर्ने अवस्था आइलाग्यो ।

उमेरले म भन्दा सिनियर भएर पनि हरिबोलले भेटेको दिनदेखि, चिनेको दिनदेखि मलाई सम्मानका साथ ‘दाई’ भनेर संवोधन गर्ने गरेको दिमागमा घुमिरह्यो ।

उहाँले घरको भर्यांगको रेलिङ्गमा पासो लगाएर झुण्डिएर आत्महत्या गर्नुभएको रहेछ । अढाई वर्ष अघिमात्र उहाँसँग साह्रै मिल्ने कृष्ण लामिछानेले घरमै झुण्डिएर आत्महत्या गरेका थिए । कृष्ण दाईको उक्त घटनापछि निकै पीडामा परेका भण्डारीले प्रायः कुराकानीमा भन्थे-‘कृष्ण दाईको सपना साकार बनाउने दायित्व हामीसँग छ । दाईले गर्नु नहुने काम गर्नुभयो । शुन्यबाट भएपनि उकास्न हामी मद्धत गर्नेथियौँ ।’

तर बिडम्बना कृष्ण दाईको उक्त कदम प्रति सधै असन्तुष्ट देखिएका भण्डारीले त्यही विधि अपनाएर आफ्नो जीवन समाप्त गर्लान् भनेर कसैले सोचेकै थिएन, कुनै संकेत थिएन । मानिसको मनमा स्वभाविक रुपमा खुशी, पीडा, सन्तुष्टी, चिन्ता सबै हुन्छन् । तर हरिबोलले खुशी हुँदा देखाउँथे भने पीडालाई पनि सदा स्विकार गरेका हुन्थे । पछिल्ला केही वर्षहरुमा आफूले समर्थन र सहयोग गरेकाहरु गैर आवासीय नेपाली संघ (एनआरएनए), नेपाली समाज टेक्सस लगायतका संस्थाहरुमा पराजित हुँदा स्वभाविक रुपमा पीडा थियो । तर प्रजातान्त्रिक प्रकृया हो भनेर स्वभाविक रुपमा लिएको भेटिन्थ्यो ।

नेपाल फर्किएर काठमाडौं क्षेत्र नम्बर ३ बाट सांसद हुने भण्डारीको योजना थियो । अघिल्ला दुई चुनावहरुमानै प्रदेश सभाका टिकट पाएको, तर उनले अस्विकार गरेर संघीय संसदको टिकटको प्रतिक्षामा रहेको चर्चा हुने गर्दथ्यो । पछिल्ला केही वर्षहरुमा भण्डारीको बसोबास र सकृयता अमेरिकामा भन्दा पनि नेपालमा ज्यादा हुने गरेको थियो । बिक्रम सम्वत् २०८४ को चुनावलाई टार्गेट गरेर उनी नेपालमा बढी फोकस थालेका थिए ।

एक सातापछि अर्थात सेप्टेम्बर २२ तारिक दम्पत्ति सहित दशैंको लागि नेपाल जाने गरि भय भैसकेको थियो । तर अकस्मातको उनको निर्णयले अब परिवारको योजना सबै लथालिङ्ग बनेको छ ।

नेपालमा छँदा पस्मिना व्यबसाय गरेर भण्डारी सुरुमा फ्लोरिडा आएका थिए । उनी नेपालीहरु भएको स्थान र व्यबसाय गर्न सजिलो ठाउँको खोजीका टेक्सस आइपुगेको उनी निकटहरुले बताएका छन् । आइतबार अन्तिम विदाई समारोहमा पछिल्ला केही वर्षदेखि उनीसँग अति निकट रहेका एनआरएनएका महासचिव गौरीराज जोशीले हरिबोलले आफूमात्र व्यबसायी नभएर एकसयको हाराहारीमा नेपालीहरुलाई व्यबसायी बनाउन सहयोग गरेको स्मरण गरे ।

पछिल्लो समयमा ड्यालस फोर्टवर्थ क्षेत्रमा एकपछि अर्को गर्दै समाजसेवामा सकृय व्यक्तित्वनै आत्महत्याको लाइन लागे । अरुलाई प्रेरणा दिनुपर्ने पद र पोजिसन बोकेका व्यक्तिहरुनै मनोबल कमजोर बनाउँदै सुन्दर जीवनलाई सिध्याउन थालेका छन् । यसले गर्दा अब यसपछि अर्को को हो ? भन्ने चिन्ता, शंका र भय समाजमा थपिएको छ ।

वितेको एक दशकको अवधिमा मेरो स्मरणमा भएसम्म यस क्षेत्रका केही नोटेबल घटनाहरु निम्न अनुसार छन् ।

नौ वर्ष अघि कोलोनी टेक्ससका नवराज शिवाकोटीले नजिकैको राज्य ओक्लोहामा पुगेर आफैलाइ गोली हानेर आत्मत्या गरे । उक्त घटनाको १४ महिना अघिमात्र लुटेराले उनकी पत्नी समिराको आफ्नै स्टोरमा कार्यरत रहेको समयमा गोली हानेर हत्या गरेका थिए । पत्नी वियोगको पीडामा उनले आत्महत्या गरे ।

१० वर्ष अघि नेपाली समुदायकै अग्रज सरोज जोशीले पनि आत्महत्या गरेका थिए । नेपाली समुदायकै अर्का अगुवा रमेश सुवेदीले पनि केही वर्ष अघि तालमा डुबेर आत्महत्या गरे ।
नेपाली समाज टेक्सस जस्तो ठूलो संस्थाको नेतृत्व गरेका कृष्ण लामिछानेले सन् २०२३ को मार्चमा आफ्नै घरमा पासो लगाएर आत्महत्या गरे ।

ठीक एक महिना अघिमात्र भुटानी नेपाली समुदायका ललित प्रधानले पत्नी र तीन वर्षिय छोराको हत्या पछि आत्महत्या गरे ।

अघिल्लो सातामात्र ड्यालस फोर्टवर्थको प्राइम लोकेसनका रुपमा लिइने आर्लिंगटनको भेरिडियनमा घर किनेर बसेका सरोज लामिछानेले घरमै पासो लगाएर आत्महत्या गरे । भरखरका अविवाहित युवा लामिछानेको आत्महत्याले नेपाली समुदाय हल्लिरहेको थियो ।

त्यो सेलाउन त छाडौं शवको अन्तिम संस्कार समेत गर्न नभ्याउँदै अमेरिकाको नेपाली समुदायमा चीर परिचित हरिबोलले पनि पासो लगाएर घरमै आत्महत्या गरे । नेपालमा नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सकृय र अमेरिकामा पनि भातृसंस्था जनसम्पर्क समितिमा कृयाशील नेता भण्डारीको आत्महत्याले त अमेरिकाको सिंगो नेपाली समाज अनुत्तरित छ ।

नेपालीहरु, अझै समाजमा समाजसेवी, नेतृत्वकर्ताको ब्राण्ड बनाउन सफल व्यक्तिहरुले समेत किन ज्यान मिल्काइरहेका छन् ? विजगणितको शुत्र जस्तो ठ्याक्कै एकीन जवाफ यतिखेर कसैसँग छैन । प्रश्न र चासो सबैसँग छ, तर जवाफ कसैसँग छैन ।

कृष्ण लामिछानेले नेपाली समाज टेक्ससको नेतृत्व मात्र सम्हालेका थिएनन् । उनले नेपाली समुदायमा मर्दा र पर्दाको सारथीको भूमिका समेत निर्वाह गरेका थिए । अघिल्लै शताव्दी अर्थात सन् १९९८ मा स्थापना भएको संस्था हो नेपाली समाज टेक्सस ।

टेक्ससभन्दा बाहिर निस्किने हो भने रक्तदानको क्षेत्रमा रेकर्ड कायम गरेका अर्जुन मैनालीले डेढ वर्ष अघि नर्थ क्यारोलाइनामा गाडीभित्रै आगो लगाएर आत्महत्या गरे ।

समाजका अगुवाहरुलेनै पालोमा बसेर जसरी आत्महत्या गर्दा अमेरिकाको नेपाली समुदाय चिन्तित त छँदैछ, थपमा गंभीर सोचनीय मोडमा पुगेको छ । समुदायको अगुवाहरु, सर्वसाधारणको एउटै धारणा छ पीडा छ भने बाहिर ल्याउ । समस्या छ भने साझेदारी गर । नत्र समाधान गर्न सकिने कुराको लागि अर्को पटक नपाईने यो मानव जीवन खेर नमिल्काउ ।

समुदायका अगुवाहरुले आइतबार स्व. भण्डारीको पार्थिब शरिरमा पुष्प अर्पण गरेर बाहिर निस्किएपछि भन्दैथिए- ‘समाजले कतिसम्म, कहिलेसम्म यस्तो क्षती हुन दिने ? रोक्नलाई ढिला भैसक्यो ।’

समाजका अग्रजहरु अझै भन्दैथिए -‘यो अति भयो, यस्तो मृत्युवरण गर्ने हरिबोल अब अन्तिम हुनुपर्छ ।’

शेयर गर्नुहोस:

16.5k
Shares