मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

‘आइ कान्ट ब्रिद’अहिलेको अमेरिका र ट्रम्प सिर्जित सास्ती

‘आइ कान्ट ब्रिद’अहिलेको अमेरिका र ट्रम्प सिर्जित सास्ती


 एउटा भनाई छ–संसारका १९४ देशका शासक नालायक भए भने तत् त्यसका नागरिकले दुःख पाउँछन् । तर अमेरिकाका शासक नालायक आएभने संसारका एकसय ९५ नै देशका जनताले पीडा, सास्ती र हण्डर खेप्नुपर्छ ।
 
अहिले चाहे कोभिड–१९ का नामले परिचित भाइरसलाई लिउँ या एकजना अश्वेत वर्णका जर्ज फ्लायडको हत्यापछि सिर्जित समस्यामा होस् अमेरिकी शासकबाट विश्वलाई नै नेतृत्व दिने खालको बुद्धिमत्ता र विवेकपूर्ण काम नहुँदाको सास्ती संसारले खेप्नुपरिरहेको छ । यतिखेर अमेरिकाका हरेक ठूला शहरमा कर्फू लगाइएको छ । म बस्दै आएको ड्यालस शहरमा पनि कर्फू लागेको छ । छिमेकी फोटवर्थ पनि मध्यरातसम्म तनावग्रस्त थियो ।
 
पूर्बमा बोस्टनदेखि लिएर पश्चिममा लसएन्जलससम्म स्थानीय मेयरहरुले स्थिती सम्हालिसाध्य नभएर कर्फूको घोषणा गरेका छन् । कर्फू जारी भएका शहरहरूनै ४० को हाराहारीमा छन् । पुलिसका भ्यान, अफिस जलेका छन् । स्टोरहरु तोडफोड भएका छन् ।
 
मौकामा चौका हान्दै अपराधिक मानिसकता भएका व्यक्ति समूहहरु भने अवसर छोप्दै लुटपाट गर्दै छन् ।
 
ठूला स्टोरहरुमा हुलका हुल मानिसहरु पसेर सामानहरु लुटिएको छ । सरकार मुकदर्शक भएर बसेको छ । साना स्टोरहरु पनि सुरक्षित छैनन् । कुनबेला कुन व्यक्ति वा समूह आएर लुट्ने हो भन्ने आतंक व्याप्त छ । यतिसम्म असुरक्षाको अनुभूति शायद अमेरिकी इतिहासमा शायद कहिल्यै थिएन ।
 
२० डलरको बिल (नोट) को नक्कली या सक्कली को निहुँमा सिर्जित विवादमा प्रहरीले आफ्नो अधिकार दुरुपयोग गर्दा यो रापबाट अमेरिका आक्रान्त हुन पुगेको छ । यो रापलाई घिउ थपेर अझै चर्काउने काम अमेरिका लाई नेतृत्व दिईरहेका   डोनाल्ड जोन ट्रम्पले गरेका छन् । ट्रम्पले ६० को दशकमा अश्वेतहरुलाई दिइने धम्कीकै शैलीलाई पछ्याउँदै ‘गोलीले सिध्याइदिने’ भने  दिएपछि अवस्था झनै विथोलिएको छ ।
 
कानुनी रुपमा अमेरिकामा रंग, राष्ट्रियता, लिङ्ग, जात, वर्ण, भूगोल कुनै पनि आधारमा भेदभाव गर्न पाइदैन । अमेरिका आफैँमा संसारभरिबाट आएका आप्रवासीहरुबाट बनेको देश भएकोले संबिधान र त्यस अन्तरगत बनेका कानुनहरुले कसैलाई पनि दोस्रो दर्जामा राखेको छैन ।
 
तर बेलाबखतमा अश्वेतमाथि विशेषगरि प्रहरीबाट अमानवीयता प्रदर्शन हुँदै आएका छन् । आफूलाई असुरक्षा महसुस भयो भन्ने तर्कका आधारमा अश्वेत माथि सिधै गोली हानिएका थुप्रै घटनाहरु छन् । संविधान र कानुनले सबैलाई समान अधिकार र व्यवहार गरेपनि अश्वेतमाथि व्यबहारिक रुपमा निकै ठूलो भेदभाव जिउँदै छ ।
 
गाडीको चक्का मुन्तिर, नौ मिनेटसम्म घाँटी न्याकेकै कारण फ्लायडको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । हत्कडी लगाएको र निहत्था व्यक्तिको नौ मिनेटसम्म घाँटी थिचिरहनु मार्ने नियतभन्दा अरु केही होइन । तर त्यो घटनामा संलग्न प्रहरी डेरिक चौभिनलाई थर्ड डिग्री मर्डर अन्तरगत मुद्धा चलाइएको छ । थर्ड डिग्री म्यान–स्लटर भनेको मार्ने नियत नभएको तर दुर्घटनावशः मरेको भन्ने जनिन्छ । यस अन्तरगत २५ वर्षसम्म जेल सजायँ हुने मिनिसोटाको कानुनमा उल्लेख छ ।
 
एउटा पुलिस अफिसरको दादागिरीले सारा अमेरिकाले यतिखेर पीडा भोग्नुपरेको छ । कोरोनाबाट तङ्ग्रिनका लागि एक नम्बर गियर हाल्दै गरेको व्यबसायलाई विरोध प्रदर्शनी, कर्फु, निषेधाज्ञा, लुटपाटले अर्को समस्या थपेको छ ।
 
पुलिसले स्थिती नियन्त्रण गर्ने भन्दा पनि भड्काउने अवस्था आएपछि २० वटा राज्यले नेसनल गार्ड परिचालन गरेर नियन्त्रणको प्रयास गरेका छन् । पुलिसले आवश्यक भन्दा ज्यादा बल प्रयोग गरेको घटनापछि जर्जियामा शनिबार दुई प्रहरी अधिकृतहरु बर्खास्तीमा परेका छन् । आन्तरिक रुपमा कुनै रोगव्याधी, संकट आइपर्दा हरेक राज्यहरुले सुरुमा नेसनल गार्डलाई परिचालन गर्ने गर्छन् ।
 
फ्लायडको जन्म टेक्ससको सामुद्रिक किनारको शहर ह्युस्टनमा भएको थियो । उनी केही वर्ष अघिमात्र रोजगारीका सिलसिलामा मिनापोलिस सरेका थिए ।
 
जर्ज फ्लायडको हत्यापछि स्थितीलाई सम्हाल्न राष्ट्रपतिबाट कुनै पहल भएको छैन । नत व्यबसायको सुरक्षाको लागि उनले कुनै आश्वासननै दिन सकेका छन् । सुरुमै प्रदर्शनकारीलाई भड्काउने र उत्तेजित बनाउने अभिव्यक्ति दिएका राष्ट्रपति ट्रम्प ह्वाइट हाउसभित्रको बंकरमा लुकेर बसेको भनेर सिएनएन लगायतका सञ्चार माध्यमहरुले टिप्पणी गरिरहेका छन् ।
 
कोरोना संकटका बीच संसारका बाँकी देशले अमेरिकाबाट ठूलो आशा र अपेक्षा राखेको छ । किनकी संसारमै ख्याति आर्जन गरेका बैज्ञानिक, अन्वेषक अमेरिकामै छन् । प्रविधिमा संसारलाई नेतृत्व गरेको अमेरिका कोरोना प्रकोपमा पनि नेतृत्व गरेर अरु देशलाई बचाउन सफल हुन्छ भन्ने धेरैको आशा थियो । तर राष्ट्रपतिले सधैँभरि चीनलाई मात्र दोष थोपर्ने, विश्व स्वास्थ संगठनलाई गाली गर्ने, अनुदान रोक्ने जस्तो बहुलठ्ठी कार्यले राष्ट्रपति संसारका निम्ति हाँसोका पात्र बनेका छन् ।
 
आफ्ना नागरिकलाई न्याय दिन नसक्ने, अझै पनि वर्णका आधारमा भेदभाव हुँदा पनि समयमै उचित संबोधन गर्न नसक्ने ट्रम्पको रगतमा थोरै पनि राजनीतिक स्वभाव र चरित्र नरहेको पुष्टी भैसकेको छ । जस्ले आफ्ना नागरिकको गैर न्यायीक हत्या हुँदा सहानुभूति प्रकट गर्न सक्दैन, उर्लिएको जनसागरलाई संबोधन गर्न सक्दैन भने अमेरिकालाई ग्रेट बनाउँछ भनेर कसरी पत्याउने ? बरु पूर्ब शासकहरुले बनाइदिएको अमेरिकी समाज, अर्थतन्त्र, न्याय प्रणाली, समानतालाई ट्रम्पले एकएक गरि भताभुङ्ग बनाउदैछन् ।
 
विश्वलाई नयाँ बाटो देखाउन सक्नुपर्ने अमेरिका लामो समय लगाएर अमेरिकाले आर्जन गरेको ख्याती कुन रुपमा पुग्छ चिन्ताको विषय भएको छ । तर ट्रम्प र उनका सपोर्टरहरु भने पूर्ब शासकले खडा गरेको बलियो जगमा सोइसाला खेलेर कथित राष्ट्रवादको आवरणमा भत्काउन तल्लिन छन् । 
 
ट्रम्पको खेलाँचीपनका कारण ‘आइ कान्ट ब्रिद’ (मैले स्वाश फेर्न सकिन) लेखिएका प्लेकार्ड सहितको प्रदर्शन संसारभरि पुगेको छ । बेलायतको लण्डन र जर्मनीको बर्लिनमा समेत प्रदर्शनी भएका छन् । प्रदर्शनीमा अश्वेतको मात्र सहभागिता छैन, न्याय र समानताको पक्षमा रहेका श्वेत, हिस्पानिक, एसियन समुदायको त्यत्तिकै सहभागिता छ ।
 
अमेरिकाले राजनीति नबुझेको, हरेक विषयलाई नाफा–घाटाको कोणबाट मात्र हेर्ने शासकलाई झेल्नु परेको परिणाम निकै अप्ठेरो अवस्था आइपरेको छ । बाँकी विश्वलाई समेत निकै निकै सास्ती खेप्न वाध्य बनाउँदैछ । तस्बिर: सामाजिक संजाल