यदि तपाईं अमेरिकाको टेक्ससमा बस्दै आउनुभएको छ र युट्युबमा कुनै पनि कार्यक्रम हेर्नुहुन्छ भने, हिजोआज आक्रामक रूपमा एउटा अनिच्छित विज्ञापन हेर्नैपर्ने बाध्यता आइलाग्छ। टेक्ससमा गभर्नर पदमा चौथो अवधिका लागि उम्मेदवार रहेका ग्रेग एबटको पक्षले प्रतिद्वन्द्वी जिना हिनाहोजाले कर घटाउन अवरोध गरेको र कर बढाउने पक्षमा मतदान गरेको भन्दै विज्ञापनमा दाबी गरेको छ।
अमेरिकाको चुनावको अनौठो पक्ष के देखिन्छ भने— यहाँ आफ्नो नीति, कार्यक्रम र एजेन्डाभन्दा पनि विपक्षी उम्मेदवारलाई अयोग्य देखाउन र खुइल्याउनका लागि तयार पारिएका चुनावी प्रचार-सामग्रीहरू सामाजिक सञ्जालमा व्यापक रूपमा राखिन्छन्। युट्युब, फेसबुक, टिकटक, र एक्स (ट्विटर) मा डलर खर्च गरेर विपक्षीमाथि आरोप लगाइएका अनेकौँ विज्ञापनहरू देख्न सकिन्छ।
त्यस्तै, टेक्ससबाट सिनेटरका उम्मेदवार रहेका जेम्स टेलरिकोको विरोध गर्दै उनलाई क्रिश्चियन धर्मविरोधी, जनतालाई कर लगाउने नीति बोकेको, समाजवादी विचारधारा लिएको, र लिङ्ग परिवर्तनको पक्षधर भनेर रिपब्लिकन उम्मेदवार केन पाक्सटन अनि ‘मागा’ (MAGA) सुपर प्याकको नामबाट विज्ञापनमा ठूलो धनराशि खर्च गरिएको छ।
टेक्ससमा डेमोक्रेटिक पार्टी सत्तामा नभएको लामै समय भइसक्यो। विगत ३० वर्षदेखि टेक्ससमा रिपब्लिकनहरूले बहुमतका साथ शासन गर्दै आएका छन्। पछिल्लो डेमोक्रेटिक गभर्नरका रूपमा सन् १९९१ देखि १९९५ सम्म एन रिचार्डसन थिइन्। १९९६ देखि अहिलेसम्म (३० वर्ष) यस राज्यमा रिपब्लिकनले एकछत्र शासन गरेको छ। सन् २००३ देखि टेक्ससको तल्लो सदन (हाउस) मा डेमोक्रेटिक पार्टी अल्पमतमा छ। सन् २००१ मा डेमोक्रेटिक पार्टीले ७७ र रिपब्लिकन पार्टीले ७१ सिट जितेका थिए। त्यसयता डेमोक्रेटिक पार्टी दुवै सदनमा अल्पमतमा पर्दै आएको छ।
यस हिसाबले रिपब्लिकन गभर्नरले ल्याएका कुनै पनि विधेयक वा कानुनमा डेमोक्रेटिक पार्टीको विरोध र असहमतिले कुनै काम गरेको छैन। विगत अढाई दशकमा रिपब्लिकनहरूले टेक्ससमा जे चाहे, त्यही भइरहेको छ; जे मन लाग्यो, त्यही नीति-नियम बनाएर एकछत्र शासन गरिरहेका छन्।
कतिसम्म भने, अहिले हुन लागेको चुनावमा आफ्नो बहुमत गुम्ने डरले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकनलाई फाइदा पुग्ने गरी अमेरिकी तल्लो सदनका ५ सिटको चुनावी क्षेत्र फेरबदल गर्न गभर्नर एबटलाई निर्देशन दिए। अमेरिकामा राष्ट्रपतिले दिएको निर्देशन वा अनुरोधलाई राज्यका गभर्नरले मान्नैपर्छ भन्ने हुँदैन, किनकि राज्यमा गभर्नर नै सबैभन्दा शक्तिशाली हुन्छन्। तर ट्रम्पको निर्देशन भुइँमा नझर्दै गभर्नर ग्रेग एबटले निर्वाचन क्षेत्र फेरबदल गर्ने नीति टेक्सस संसद्मा पेस गरे, जुन अहिले जेरीम्यान्डरसिङ (Gerrymandering) का रूपमा परिचित छ।
दशकको बीचमा हुने चुनावअघि जेरीम्यान्डरसिङद्वारा निर्वाचन क्षेत्र हेरफेर गर्नु सर्वथा अनुचित कदम थियो। तर पपेट सांसदहरूले ग्रेग एबटको प्रस्तावलाई आँखा चिम्लिएर समर्थन मात्र गरेनन्, पास समेत गराए। अमेरिकाभरि यो पद्धतिको विरोध भयो। कतिपय रिपब्लिकन राज्यका गभर्नरहरूले यो नीति आफ्नो राज्यमा लागू नगर्ने अडान लिए। तर टेक्ससले विधि र पद्धतिलाई पाखा लगाउँदै यसलाई पास गर्यो।
रिपब्लिकनले जे चाह्यो त्यही भइरहेको राज्यमा, डेमोक्रेटिक पार्टीका सांसद रहेका जेम्स टेलरिको र जिना हिनाहोजाले ‘कर छुट दिन चाहेनन्’ भनेर अफवाह फैलाइएको छ। सन् २०१४ देखि ग्रेग एबट गभर्नर छन् र उनको तीन कार्यकाल पूरा हुँदै छ। उनले जनतालाई कर छुट दिन चाहेको भए जुनसुकै बेला दिन सक्थे, डेमोक्रेट्सको विरोधले उनलाई कुनै छेकबार लगाउँदैनथ्यो। किनभने टेक्ससको तल्लो सदन (हाउस) का १५० सदस्यमध्ये ८८ जना रिपब्लिकन छन् भने सिनेटका ३१ सिटमध्ये २० सिट रिपब्लिकनकै छन्। रिपब्लिकन पार्टी दुवै सदनमा सुविधाजनक बहुमतमा छ।
यस्तो अवस्थामा डेमोक्रेटिक पार्टीका सांसदहरूले कर छुट दिन चाहेनन् भनेर आरोप लगाउनु ग्रेग एबटको ‘राँडो रुवाइ’ बाहेक अरू केही होइन। चौथो पटक गभर्नर पदमा चुनाव जिताइदिएमा कर छुट दिन्छु भनेर अहिले उनले चुनावी फन्डा गर्दै छन्। तर तीन कार्यकालसम्म उनले कर छुट दिनेतर्फ के गरे?
के डेमोक्रेटले कर कटौती रोकेका हुन्?
कर कटौतीको चुनावी फन्डालाई यसरी बुझौँ- एबटको चुनावी अभियानले हिनाहोजालाई “कर कटौती विरोधी” का रूपमा प्रस्तुत गरे पनि डेमोक्रेटिक पक्ष र हिनाहोजाको सचिवालयले यस आरोपको खण्डन गर्दै आएका छन्। एबटको विज्ञापनले प्रस्तुत गरेका ४० वटा मतदानका रेकर्डहरू प्रायः प्रक्रियागत प्रस्ताव, संशोधन र कर सुधारका विभिन्न ढाँचाहरूसँग सम्बन्धित छन्।
सार्वजनिक शिक्षा र कर छुटको सन्तुलन: हिनाहोजा र अन्य डेमोक्र्याटहरूले प्रायः कर कटौती विधेयकहरूको सिधै विरोध गर्नुको सट्टा, ती विधेयकले सार्वजनिक विद्यालयको बजेटमा पार्ने नकारात्मक असरको विरोध गरेका थिए। उनीहरूको तर्क छ— विद्यालयको बजेट नकाटी र सर्वसाधारण घरधनीलाई प्रत्यक्ष राहत पुग्ने गरी कर घटाइनुपर्छ, केवल कर्पोरेट वा धनी व्यवसायीहरूलाई मात्र छुट दिने गरी होइन। ‘स्कुल भौचर’ कार्यक्रमले सरकारी विद्यालयमा जाने बजेट निजी (बोर्डिङ) स्कुलमा पुर्याउनेछ, जसले गर्दा अमेरिकामा पनि नेपालमा जस्तै दुई खालको शिक्षा प्रणाली सिर्जना हुने खतरा छ।
राजनीतिक दाबी र वास्तविकता: तसर्थ, हिनाहोजाले “टेक्सस सरकारलाई कर घटाउन नदिएको” भन्ने दाबी एउटा राजनीतिक चुनावी नारा मात्र हो। टेक्सस राज्य संसद्मा रिपब्लिकन पार्टीको स्पष्ट बहुमत रहेकाले डेमोक्र्याटहरूले मात्र चाहेर कुनै पनि मुख्य विधेयक रोक्न असम्भवप्रायः हुन्छ।
चुनावी विज्ञापनमा देखाइएको दृश्य राजनीतिक प्रचारको एउटा पाटो मात्र हो। जिना हिनाहोजाले कर घटाउन नदिएको भन्नुभन्दा पनि उनले कर कटौती गर्ने ढाँचा र त्यसले सार्वजनिक सेवा (विशेष गरी शिक्षा) मा पार्ने असरबारे फरक मत राखेकी हुन्।
अर्कोतर्फ, गभर्नर ग्रेग एबटले आफ्नो कार्यकालमा पटक-पटक (विशेष गरी २०१५, २०१९ र २०२३ मा) कर कटौतीका प्रस्तावहरू अघि सारेका थिए। तीमध्ये बहुसंख्यक मुख्य प्रस्तावहरू संसद्बाट पारित गराउन उनी सफल पनि भएका थिए।
अर्को अनौठो पक्ष के छ भने, घरधनीहरूको प्रोपर्टी ट्याक्स छुट (सहुलियत) लाई चौथो कार्यकाल जित्नका लागि चुनावी मसला बनाएका ग्रेग एबटले भाडा वा अपार्टमेन्टमा बस्नेहरूका लागि भने कुनै एजेन्डा राखेका छैनन्। अपार्टमेन्टमा बस्ने धेरैले हरेक वर्ष लिज नवीकरण गर्दा भाडा बढाइने समस्या भोग्दै आएका छन्। भाडा वृद्धिलाई नियन्त्रण गर्ने वा अङ्कुश लगाउनेतर्फ टेक्ससको रिपब्लिकन प्रशासनको कुनै चासो वा चुनावी एजेन्डा छैन। न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीले दुई वर्षसम्म भाडा बढाउन नपाउने गरी ‘रेन्ट फ्रिज’ लागू गर्दा टेक्ससको रिपब्लिकन प्रशासनले विरोध गर्छ। टेक्ससका सर्वसाधारण भाडामा बस्ने जनताको पक्षमा उभिनुको सट्टा उनीहरू अपार्टमेन्ट साहुहरूको लबिङ गर्न तल्लीन छन्।
भर्खरै बाहिरिएको खबरअनुसार, टेक्सस राज्य सरकारले अटिजम भएका बालबालिकाका लागि विनियोजन गर्दै आएको बजेटसमेत कटौती गरेको छ। गत वर्ष अटिजम भएका बालबालिकाको थेरापीका लागि १ करोड ३० लाख डलर बजेट थियो। तर सन् २०२८/२९ का लागि प्रस्तावित बजेटमा यो शीर्षकमा शून्य बजेट राखिएको छ।
डेमोक्रेटिक पार्टीले कर घटाउन अवरोध गरेको भन्ने ग्रेग एबटको आरोप चौथो पटक निर्वाचित हुने दाउबाहेक अरू केही होइन। किनभने, जो व्यक्ति १२ वर्षदेखि निरन्तर बहुमतका साथ सत्तामा छ र टेक्ससमा जे चाह्यो त्यही गर्न सक्ने शक्तिमा छ, उसले ‘अरूले अवरोध गरे’ भन्नु रिपब्लिकनको चुनावी फन्डा मात्र हो।
टेक्ससबासीले बिर्सनै नमिल्ने विषय के हो भने यो राज्य अमेरिकामा उच्च प्रोपर्टी ट्याक्स हुने राज्यहरूको सूचिमा पर्छ । उच्च कर भएका १० राज्यहरूमा टेक्सस पर्छ ।













प्रतिक्रिया