मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परदेशमा नेपाली चाडपर्व

परदेशमा नेपाली चाडपर्व


नेपालीको मौलिक एवम् राष्ट्रिय पर्व बडादसैं स्वदेश एवम् विदेशमा धुमधामका साथ मनाउने गरिन्छ । नेपालमा दसैंलाई परम्परागत शैलीका साथ विशेष रूपमा मनाइन्छ भने विदेशमा रहेका नेपालीले पनि यो पर्वलाई व्यस्तताको बाबजुद निकै महत्वका साथ मनाउने गर्छन् । यो पर्व नेपालीबीच भाइचाराको रूपमा समेत प्रवर्धन हुँदै आएको छ ।
 
दसैंको पूर्वसन्ध्यामा राजधानी काठमाडौंलगायत विभिन्न सहरबाट ठूलो संख्यामा मानिसहरू जन्मथलोतिर फर्किने गर्छन् । साथै, रोजगारीका सिलसिलामा मलेसियालगायत विभिन्न खाडी मुलुकमा गएकाहरू पनि दसैंको मौका पारेर परिवारसँग खुसी साट्न स्वदेश फर्कने गर्छन् । यस्तै, स्वदेश फर्कनका लागि बिदा नपाउनेहरूले भने आफ्ना परिवारलाई दसैंमा खुसी बनाउन पैसा पठाएर चित्त बुझाउने गर्छन् । 
 
दसैंले रोजगारी तथा व्यापार–व्यवसाय गर्न परिवार छोडेर बाहिर गएकाहरूलाई घर फर्काएर सपरिवारबीच दुःखसुख साट्ने, मीठो–मसिनो खाने, पिङ खेल्ने, इष्टमित्रसँग भेटघाट एवम् रमाइलो गर्ने अवसर जुटाउने गरेको छ । विजयादशमी अर्थात् टीकाको दिन अभिभावक तथा मान्यजनबाट निधारभरि टीका अनि शिरमा जमरासहित आशीर्वाद लिने गरिन्छ । यो पर्वमा पाँच दिनसम्म आफन्तजन तथा गण्यमान्यकहाँ गएर टीका एवम् आशीर्वाद लिने परम्परा रही आएको छ । 
 
यस्तै, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानाडा, कोरिया, युरोपलगायतका देशहरूमा रहेका नेपालीहरू भने दसैं मनाउने नाममा कमै मात्र स्वदेश फर्कने गर्छन् । विदेशमा रहेका नेपालीको कथा–व्यथा अलि फरक हुने गर्छ । यी देशहरूमा रहेका नेपालीहरूलाई कामको चाप र समय व्यवस्थापनको कठिनाइका कारण नेपालमा जस्तो फुर्सदिलो भएर दसैं मनाउने अवसर हुँदैन । यहाँ रहेका धेरै नेपालीको साथमा आफन्त नहुँदाको पीडा त छँदै छ साथै सबै नेपाली एकै ठाउँमा भएर रमाइलो गर्ने अवसर पनि कमै मात्र मिल्ने गर्छ । रोजगारी तथा व्यवसायका लागि मिनेट–मिनेटको महत्व हुने हुँदा विदेशमा रहेका नेपालीहरूको दसैं विगतको सम्झना र पारिवारिक यादका बीचमा बित्ने गर्छ ।
 
सामाजिक सञ्जालमार्फत शुभकामना बाँडेर मनलाई शान्त बनाउन खोज्ने नेपालीको संख्या पनि विदेशमा कम छैन । यसैगरी, आफ्नो परिवारबाट टाढा हुँदाको पीडा सहँदै बसेका र आफ्नो घरमा आमाले पकाएको परिकार सम्झेर मन भारी बनाउनेको संख्या पनि उत्तिकै छ, विदेशमा । जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि विदेशमा बस्ने नेपाली समुदायले आफ्नो देशको संस्कार एवम् पहिचानलाई जीवन्त राख्न कुनै कसुर बाँकी भने राखेका छैनन् । दसैं, तिहार, छठ, लोसार, माघीजस्ता पर्वलाई उत्तिकै महत्वका साथ प्रवर्धन गर्दै आएका छन् । नेपालको पहिचान बोकेका मठ–मन्दिर, गुम्बालगायत विभिन्न सम्पदा स्थापना गरेर विदेशी भूमिमा जीवन्त राख्नुका साथै विश्वमाझ नेपाललाई चिनाउने कार्यमा नेपालीहरू सधैं अग्रसर हुने गरेका छन् । 
 
हामी सम्पूर्ण नेपाली स्वदेश तथा विदेश जहाँ रहे पनि एकअर्काबीच दसैंको खुसी बाँडौं । नेपाली चाडपर्वलाई आफ्नै ढंगले हर्षोल्लासका साथ मनाऔं । सम्पूर्ण नेपालीबीच सकारात्मक सोचका साथ भाइचाराको सम्बन्ध कायम गरौं । आमनेपालीको जीवनमा दसैंको टीका, जमरा र आशीर्वादले थप ऊर्जा मिलोस्, सफलताका आयामहरू थपिँदै जाऊन् । टीकाको दिनमा हरेक घरदैलोभित्र बन्ने अक्षता शुभ बनून् । विजयादशमी २०७६ को अवसरमा स्वदेश तथा विदेश रहनुभएका सम्पूर्ण नेपाली मनहरूमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! दुर्गा भवानीले सबैको कल्याण गरून् !!