मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिउँदै नमरून रोशनी शाहीहरु

जिउँदै नमरून रोशनी शाहीहरु


यतिखेर नेपालको सिङ्गो राज्यसत्ता एउटी निरीह नारी रोशनी शाहीको विरुध्दमा छ | तसर्थ दुईशब्द नबोली रहन मनले मानेन | 
 
आफू लगातार शोसित हुनुको पराकाष्ट पछि एउटा साहसिक कदम चालेकी थिइन रोशनी शाहीले | उनको त्यही साहसले गर्दा नेपालको उच्च स्तरको सभामुख पदको मुखौटो जनता सामु नाँगियो | नियोजित अवस्था बाहेक अति नै नभए आफ्नो इज्जत दाउमा राखेर पुरुषलाई पोल्दै कुनै पनि महिला मीडियाको सामु यसरी आउन सक्दैनन | 
 
यस अर्थमा रोशनीको हिम्मतलाई दाद दिनै पर्छ | हुन त उनले बोली नफेरेको भए हुन्थ्यो | तर उनीमाथिको राजनैतिक शक्तिको दवाव हामी जस्ता सामान्य मान्छेको आँकलन भन्दा धेरै परको कुरा हुन सक्छ | 
 
समाजमा धेरैले उनलाई आज झुठी , बिरामी र बहुलाई भनेर चिनेको छ  | चरित्रहीन आइमाईको आक्षेपसँगै सामाजिक सञ्जालमा गाली बेइज्जतीको लर्को देखेर उनले आफूलाई कसरी संतुलित गरेकी होलिन | निरीह भएर कति दुःखद परिस्थिति भोगी रहेकी होलिन रोशनी शाही | 
 
तर उनको त्यो विष्फोट अगाडिका कथा व्यथा के होला बुझ्ने प्रयास गरेका छैनौं हामीले | यो घटनासँग जोडिने उनका अनेक घटनाका शृंखलालाई केलाउने जमर्को पनि गरेनौं हामीले | ( पढ्नुहोस कान्तिपुरमा बिनु सुवेदीले लेख्नुभएको  " महरा काण्ड – रोशनीले नबताएको कथा | "
 
यो आलेख लेख्दासम्म राज्य र महिला हितका संयन्त्रले रोशनीको जिउ ज्यानलाई यथोचित सुरक्षा दिएको कतै पढ्न सुन्नमा आएको छैन | लेखक बिनु सुवेदीले रोशनी बस्ने घरको गल्ली पछि सडकमा दुई प्रहरीले पहरा दिएपनि घर भित्र नै उनी असुरक्षित रहेको बताएकी छीन | महिला संस्थाहरु खोई कता छन ? अनि नेकपाका महिला नेत्रीहरु सायद मौन ब्रतमा छन ? कस्तो मानसिक अवस्थासँग जुधि रहेकी होलिन उनी यतिखेर | 
 
यस्तो विषम परिस्थितिमा उनको हत्या नहुन सक्ला भनेर भन्न सकिन्छ ? हत्या गरेर आत्महत्या गरेको भन्ने समाचार फैलाऊन सक्दैनन भनेर ठोकुवा गर्न सक्ने स्थिति छ ? वा मानसिक सन्तुलन गुमाएर आत्महत्या नै गर्न पनि के बेर ! 
 
यथेष्ट प्रमाण हुँदा हुँदै पनि दोषी फुक्का छ | त्यसै उखान बनेको रहनेछ – " ठूलालाई चैन , सानालाई ऐन " उसलाई समाउने तागत कोसंग छ ? 
 
रोशनीका पति माओवादी कार्यकर्ता चित्रजंग शाहीले आफ्नो पुरुषत्व देखाई हॉले | मिलापत्रमै सम्बन्ध विच्छेदको प्रक्रिया शुरू भएको खबर मीडियाले छापेको छ | जतिबेला लोग्नेको साथको आवश्यकता थियो रोशनीलाई उसैले लत्याएको छ | यो भन्दा ठूलो विडम्बना के होला र अब एउटी पत्नीको लागि ?
 
पत्रकार अमित ढकालले सेतोपाटीमा प्रकाशित आफ्नो आलेखमा उल्लेख गरे अनुसार महरासँग रोशनीको सम्बन्ध पुरानो थियो | महराबाट पहिलेदेखि नै पीडित रहेको उनको पुराना फेसबुक स्टाटसहरुले बताएको छ | पतिको जानकारी र सहमतिमै यो सम्बन्ध रहेको थियो भन्ने जो कसैलाई बुझ्न गार्हो हुन्न | सायद नखुलेको पाटो हुन सक्छ – लोग्नेबाट पनि त पीडित थिइन होली ऊनी | यति नै बेला हतारिएर रोशनीलाई सहमतिमै डिभोर्स गराउन चाहने लोग्नेको नौटंकी पनि जग जाहेर भै सकेको छ | 
 
यहॉंनिर बुझ्नु पर्ने कुरा यो हो कि , पुरुषहरुको जंजालबाट कति शोषित भैरहिन , अझै भइरहेकी छीन उनी | 
 
यी , यस्ता घटनाले देखाएको छ – महिलाको अवस्था आज पनि नेपालमा कति नाजुक छ | 
 
एउटा घटना यो बाहिर आयो सबैलाई थाहा भयो | केही बाहेक राजनीतिक पावरको आडमा भित्रभित्र यस्ता सम्बन्धहरु कति मौलाई रहेकै होलान | यस्ता कति महिला आज यौन शोषणको झ्यालखानामा कैद होलान !
 
यो काण्डमा विविध प्रमाणको आधारमा महरा दोषी हुन भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ | लंगडो सरकार अब कानो पनि भएको छ | हो , बलात्कार भए नभएको चाहीं  अनुसन्धान भए थाहा हुने कुरा न हो | 
 
सभामुख पदबाट राजीनामा दिए पनि महरा अझै देशको गरिमामय सांसद पदमा आसीन छन | सरकार विरोध हैन , कार्वाही होइन , वचाउको पक्षमा देखिन्छ | लाजमर्दो कुरा ! भोली पुन महरा सभामुख पदमै बहाली भए भने हामीले आश्चर्य मानि रहनु पर्दैन |
 
जनताको आक्रोशहरु एकातिर छ तर सरकारले कानमा तेल हालेको छ | सुधार्न सक्थ्यो सरकारले आफैलाई , गजबको मौका थियो जनताको विश्वास जित्न सक्ने पनि | तर सत्ताको उन्माद गजबको हुने रहेछ !  अहँ टसमस गर्दैन | 
 
निर्मला बलत्कार हत्या काण्डमा सरकारको औकात अवगत भएकै हो | शालिक राम पुडासैनी घटना , गुठी विधेयक , डा गोविन्द केसी प्रकरण यस्ता दर्जनौं घटनामा सरकार चुकी सकेको हो | 
 
यो पँक्तिकार, मुलुकदेखि धेरै टाढा विश्वको अर्को गोलार्धमा बसेर सबै हेरिरहेकी छु | सुक्ष्म रुपले खबरहरु केलाइ रहेकी छु | 
 
जुन पद्दतिले एउटी पीडित महिलाको संरक्षण गर्न सक्दैन , दुःखी र कमजोरको सहायता गर्न सक्दैन त्यसतो सरकारको आयु नलम्बियोस भन्ने मेरो कामना छ |  अब सरकारसँग भरोसा उठेको छ | हेर्दै जानुस लोकतान्त्रिक पद्दति अबलम्बन गर्ने ल्याकत सरकारमा छैन | यो सरकारले अब आएर लोकतान्त्रिक मर्यादा पालना गर्ला भन्ने झीनो आश अहँ ,मैले चाहीं राखेकी छैन | 
 
तर जसरी पनि रोशनी शाहीहरु मर्नु हुँदैन , हार्नु हुँदैन | हो, यो घटनाले पक्कै पनि अरु धेरै रोशनी शाहीहरु जागरूक भएका छन | शोषणका विरुध्दमा आवाज बुलन्द गर्न तम्तयार भएका छन |