मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

देश विकासको बाधक दलाल पूँजीवादः मुख्यमन्त्री गुरुङ

देश विकासको बाधक दलाल पूँजीवादः मुख्यमन्त्री गुरुङ


लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश विकासको बाधक दलाल पूँजीवाद भएको बताएका छन् । 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङद्वारा आज बेँसीशहर नगरपालिका–८ मा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विदेशमा उत्पादित सामान नेपालमा ल्याएर बेच्नु र देशभित्रै काम गर्नेगरी विदेशी कम्पनीलाई जिम्मा दिने प्रवृत्ति दलाल पूँजीवाद भएको बताए । 
 
उद्योग, कलकारखाना सञ्चालन, स्वदेशमा उत्पादन, आम्दानी गर्न र रोजगारीको सिर्जना गर्दै गरीबीको अन्त्य गरी आम्दानी नगरेसम्म देशमा पूँजीको विकास नहुने उनले बताए । 
 
सामान्तवादको अन्त्य गर्ने र पूँजीवादी व्यवस्था ल्याउने कुरामा लोकतान्त्रिक पार्टीको सहयोगले नेपालमा नयाँ संविधान बनेसँगै नयाँ युगको शुरुआत भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो । “रोजागार र उत्पादनशील शक्तिको वृद्धि गर्ने सरकारको लक्ष्य छ”, उनले भने । 
 
प्रशिक्षण कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवम पूर्वमन्त्री हितराज पाण्डले पार्टी र सरकारको सम्बन्धका बारेमा प्रशिक्षण दिँदै जनतासँगको सम्बन्ध प्रगाढ बनाउँदै सरकारको माध्यमद्वारा जनताको सेवा गर्नु अहिलेको मुख्य प्रथामिकता हो भने । 
 
केन्द्रीय सदस्य, लमजुङ इन्चार्ज एवम गण्डकी प्रदेशसभामा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले तीनै तहको सरकारले गरीबी, पछौटेपन, विभेद हटाउँदै अघि बढनुपर्ने बताए । 
 
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले समाजवादको आधार तय गर्न आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणको खाँचो रहेको बताए ।