राजनीति-समाज

‘१८ करोड लेनदेन आरोपको सत्यता पुष्टि नगरी निष्कर्षमा पुग्नु हुँदैन’

‘१८ करोड लेनदेन आरोपको सत्यता पुष्टि नगरी निष्कर्षमा पुग्नु हुँदैन’


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा भएको भनिएको १८ करोड रुपैयाँको आर्थिक चलखेलबारे सार्वजनिक आरोपको सत्यता पुष्टि नगरी निष्कर्षमा पुग्न नहुने बताएका छन् ।

शनिबार कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै व्यक्तिको भनाइ वा सामाजिक सञ्जालमा फैलिएको चर्चालाई मात्रै आधार बनाएर आरोपलाई सत्य मान्न नहुने बताएका हुन् । 

Advertisement

पार्टी सभापति गगन थापाको नाम जोडेर सार्वजनिक भएको आर्थिक लेनदेनको आरोपतर्फ संकेत गर्दै शर्माले त्यसको कानुनी आधार र प्रमाणमाथि प्रश्न उठाए ।

‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ? सामाजिक सञ्जालका मान्छे त्यसैको होहल्लामा कुद्नुहुन्छ कि हुँदैन ?’ शर्माले प्रश्न गरे ।

पछिल्लो समय कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा बिचौलिया भनिएका इनम सापकोटाको नाम जोडिएको अडियो सार्वजनिक भएपछि १८ करोड रुपैयाँको आर्थिक चलखेल भएको दाबी बाहिरिएको थियो । यद्यपि, उक्त अडियोको प्रामाणिकता र त्यसमा उल्लेख गरिएको आर्थिक लेनदेनको आरोप स्वतन्त्र रूपमा पुष्टि भएको छैन । 

शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान, पद्धति र संविधानअनुसार सम्पन्न भएको दाबी गरे । महाधिवेशन कुनै व्यक्ति विशेषको प्रयासले नभई प्रतिनिधिहरूको सक्रिय सहभागिता र योगदानबाट सम्पन्न भएको उनको भनाइ थियो ।

यसअघि काँग्रेसले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा उठाइएका आर्थिक लेनदेनका आरोपबारे स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको माग गरिसकेको छ । वरिष्ठ उपसभापति शर्माले नै पार्टीको निर्णय सार्वजनिक गर्दै आरोपको सत्यतथ्य अनुसन्धानबाट स्पष्ट हुनुपर्ने बताएका थिए । 

काभ्रेमा आयोजित कार्यक्रममा शर्माले अब सभापति गगन थापाको नेतृत्वमा पार्टीलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । परिवर्तनको आकांक्षा र देशका लागि नयाँ सोच बोकेको नेतृत्वमार्फत काँग्रेसलाई आगामी कार्यदिशामा केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।

उनले पार्टीको संगठन सुदृढीकरण, नीतिगत तयारी तथा भावी कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन केन्द्रीय नेतृत्व प्रतिबद्ध रहेको बताए । हतारमा निर्णय गर्नुभन्दा पर्याप्त अध्ययन, मेहनत र आपसी संवादलाई प्राथमिकता दिनुपर्ने शर्माको धारणा थियो ।

कांग्रेसको आधिकारिकतासँग जोडिएको आर्थिक लेनदेनको आरोपले राजनीतिक तथा न्यायिक क्षेत्रमा प्रश्न उठाइरहेका बेला शर्माले आरोपको परीक्षण कानुन र प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिएका हुन् ।