राजनीति-समाज

संविधानको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्छ : मुख्यमन्त्री भट्ट

संविधानको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्छ : मुख्यमन्त्री भट्ट


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानले गरेका परिकल्पना पूरा गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी रहेको बताएका छन् । 
 
सुदूरपश्चिम प्रदेश संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री भट्टले आज यहाँ आयोजित समारोहमा संविधानले परिकल्पना गरेका जनताका अधिकारलाई सुनिश्चित गर्न सकिएमा मात्र यो दिवस मनाउनुको औचित्य पुष्टि हुने बताए । 
 
नेपालको संविधान संसारकै एक उत्कृष्ट संविधान रहेको उल्लेख गर्दै उनले भने, “यसको पालना गर्नका लागि सबै राजनीतिक दल, सरकारलगायत सबै दृढ भएर लाग्नुपर्छ ।” 
 
मुख्यमन्त्री भट्टले राष्ट्र र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै यो प्रदेशलाई सबैको साझा फूलबारीको रुपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । 
 
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको नेपालको संविधान– २०७२ संसारकै उत्कृष्ट संविधान रहेको भने । 
 
समारोहमा स्थानीय लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । मुख्य समारोहअघि बाजागाजा र झाँकीसहितको प्रभातफेरी गरिएको थियो । 
 
प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक विद्यार्थीलगायत सर्वसाधारणको सहभागिता थियो ।