अन्तर्वार्ता

डीएफडब्लुमा नेपाली समुदायका लागि हेल्थ क्लिनिक सञ्चालन गर्ने तयारी (भिडियो अन्तर्वार्ता)

डीएफडब्लुमा नेपाली समुदायका लागि हेल्थ क्लिनिक सञ्चालन गर्ने तयारी (भिडियो अन्तर्वार्ता)


हिमालयखबर संवाददाता
अमेरिका- अमेरिकाको टेक्सस स्थित ड्यालस फोर्टवर्थमा साप्ताहिक स्वास्थ्य (हेल्थ) क्लिनिक संचालन गर्ने तयारी गरिएको छ ।
 
सन् २००९ देखि टेक्सस अर्भिङ्मा प्रत्येक दुइ महिनामा संचालन हुँदै आएको हेल्थ क्याम्पलाई नियमित रुपमा सातामा एक पटक संचालन गर्न लागिएको हो । उक्त क्षेत्रमा नेपाली समुदायको ठुलो बस्ती छ । नेपाली समुदायको वढ्दो जनसंख्यालाई नै दृष्टिगत गरी साताको एक पटक हेल्थक्याम्प संचालन गर्न लागिएको हो ।
 
नियमित साप्ताहिक रुपमा क्लिनिक संचालन गर्न डीएफडब्लु क्षेत्रमा वस्ने नेपाली डाक्टर, नर्स र समुदायका अन्य समाजसेवी सकृय भएका छन् । नेपाली समुदायलाई निशुल्क सेवा दिने उद्देश्यले उक्त क्लिनिक संचालन गर्न लागिएको हो ।
 
नेपाली समुदायको संख्या बढ्दै गएकाले साप्ताहिक क्लिनिकको आवश्यकता देखिएको हो डीएफडब्लुमा बस्दै आएका डा सञ्जीव श्रेष्ठले भने । डा सञ्जीवकै सकृयतामा सन् २००९ देखि नेपाली समाज टेक्ससको सहकार्यमा नेपाली समुदायका लागि हेल्थ क्याम्प शुरु भएको थियो ।
 
शुरुमा उक्त हेल्थ क्याम्पमा जम्मा १०/१५ जना मात्र आउने गरेकोमा अहिले ८०/ ९० जना पुगेका छ्न् । यसले गर्दा पनि साताको एक पटक हेल्थ क्लिनिक संचालन गर्नु पर्ने आवश्यकता रहेको डा संजिवले बताए ।
 
'अर्को दुई महिनाको एक पटक हेल्थ क्याम्प गर्दा रिर्पोटहरु हेर्न र विरामीलाई परामर्श लिन कठिनाईपनि परेको हुँदा साताको एक पटक गर्नु पर्ने आवश्यकता महसुस भएको हो' डा श्रेष्ठले भने ।
 
क्लिनिक संचालन हुँदा विशेष गरी नेपालवाट पारिवारिक भेटघाटमा आउनु हुने बा आमा र परिवारका सदश्य, स्वास्थय बीमा नभएको व्यक्तिहरु, विद्यार्थी लगायतलाई फाइदा पुग्ने डा संजिवले वताए ।
 डा संजिव  श्रेष्ठर डा दिपेश  विष्ट
 
यसबाहेक क्लिनिकवाट स्थास्थ्य संबन्धि विभिन्न जानकारीहरु पनि उपलव्ध गराउन सकिने अर्का डा. दिपेश विष्टले जानकारी दिए । नेपाली भाषामा आफ्ना समस्या राख्न पाइने भएकालेपनि यो नेपाली समुदायका लागि लाभदायी हुने छ डा विष्टले भने ।
 
नेपाली समुदायलाई साप्ताहिक रुपमा स्वास्थय सेवा दिनका लागि टेक्ससमा कार्यरत डाक्टर र नर्सहरुले टेक्सस नेप्लिज मेडिकल एशोसियशन (टीएनएमए)पनि स्थापना गरेका छन् । गत वर्ष गठन भएको टीएनएमएमा हाल करिब तीन सय नेपाली डाक्टर र नर्स आवद्ध भईसकेका छन् । यसमा सदस्य हुनेको संख्या बढीरहेको छ संस्थाका प्रवक्ता लिला श्रेष्ठले भने ।
 
साताको एक पटक क्लिनिक संचालनका लागि केही पूँजीको पनि आवश्यकता पर्ने भएकाले आउने नोभेम्बर १६ मा डलासमा गाला डिनरको आयोजना गरिएको छ । उक्त गाला डिनरमा सहयोग गर्न नेपाल समुदायलाई आग्रह गरिएको छ । गाला डिनरमा करिव ६० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको छ ।
 
डाक्टर नर्सलाई किन चाहियो सहयोग ? भन्ने प्रश्न पनि उठेको उल्लेख गर्दै डा सजिव भन्छन्-'क्लिनिक संचालन सजिलो बिषय होइन विभिन्न तहमा स्विकृती लिनुपर्छ र क्लिनिक संचालक गर्दा ग्लोब्स लगायत कयौं सामाग्रीहरु आवश्यक पर्छ यो हामीहरुले मात्र जुटाउन कठिन भएर नेपाली समुदायको सहयोग मागेका हौ, नेपाली समुदायलाई हाम्रो अभियानमा आवद्ध हुन आग्रह गरेका हौं ।'
 
उक्त अभियानमा लागेका स्थानिय बादल भुजेल र दिनेश शर्माले यस्तो स्वास्थ्य सेवा यहाँ बस्ने नेपाली समुदायका लागि आवश्यक देखिएकाले साप्ताहिक रुपमा संचालन गर्न समुदायको सहयोग चाहिएको बताए ।
 
हेल्थ क्लिनिकमा विभिन्न ल्याव टेष्ट, दन्त चिकित्सा लगायतका सेवा दिइने उद्देश्य राखिएको छ । क्लिनिक संचालनमा विभिन्न क्षेत्रका नेपाली डाक्टर र नर्सले निशुल्क सेवा दिने छन् ।
 
( डा संजिव र डा दिपेश सँगको वृस्तृत सम्वादका लागि तलको विशेष कुराकानीको भिडियो हेर्नुहोला।)