काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति र समृद्धिका लागि वैदिक ज्ञानको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गद धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गर्ने बताएका छन् ।
नेपाल महर्षि वैदिक फाउण्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा आजदेखि राजधानीमा शुरु भएको तीनदिने वेद र आधुनिक विज्ञानसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सनातन धर्म र संस्कृतिले पारस्परिक सहअस्तित्वको पक्षपोषण गरेको बताए ।
“छिमेकी मित्रहरुकै बीचमा तनाव देखिएकाले शान्तिको आवश्यकता बढेको छ, भावातीत ध्यान, चेतनामा आधारित शिक्षालगायत वैदिक ज्ञानका माध्यमबाट शान्ति स्थापनामा सहयोग पुग्छ”, उनले भने । संस्कृत भाषामा ज्ञान र बुद्धिको भण्डार रहेकाले यसको संरक्षण हुनुपर्ने राष्ट्रपति भण्डारीले बताए ।
धर्म, संस्कृतिको संरक्षणका माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले यस्ता महासम्मेलनको योगदान रहने उनको भनाइ थियो । उनले शान्ति र समृद्धिका लागि महासम्मेलनले दिने वैज्ञानिक निष्कर्ष सहयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शङ्कराचार्य स्वामी अमृतानन्द तीर्थले वैदिक परम्पराका आधारमा मानी आएका विषयलाई आधुनिक विज्ञानले प्रमाणित गर्दै गएको बताए । गत वर्ष औषधि विज्ञानमा नोबेल पुरस्कार पाउने वैज्ञानिकले वर्षमा २४ दिन भोकै बस्नेलाई क्यान्सर लाग्दैन भन्ने तथ्यलाई ऋषिमुनिले वर्षका २४ वटा एकादशीमा व्रत बस्नु भनी उपदेश दिएको उनले सुनाए ।
जापानका पूर्वप्रधानमन्त्री योकियो हातोयामाले बुद्धको देशबाट विश्व शान्ति फैलाउन भावातीत ध्यान, चेतनामा आधारित शिक्षालगायत वैदिक ज्ञान उपयोगी हुने धारणा राखे ।
फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले वेद र संस्कृतको अध्ययन अध्यापन छोड्ने अवस्थामा पुग्दा देशलाई धेरै विषयमा बेफाइदा भइरहेकाले वैदिक जागरणका लागि सम्मेलन गरिएको बताए । विश्वव्यापी महर्षि वैदिक अभियानका प्रमुख टोनी नाडरले राजर्षि जनक र सीताको देश नेपालबाट विश्वभर शान्तिको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।
नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले वेद अपरिवर्तनीय संविधान भएकाले सबैले पालना गर्नुपर्ने बताए । वैदिक इण्डियाका अध्यक्ष स्वामी ब्रह्मदेवले वेदध्वनिले कृषि प्रणालीमा पार्ने प्रभावका बारेमा अध्ययन भइरहेको जानकारी दिए ।
प्राध्यापक विद्यानाथ कोइरालाले गुरुकुल शिक्षा पद्धतिले व्यक्तिलाई स्वावलम्बी बनाउन सबै प्रकारले उचित ज्ञान दिने बताए । आइतबारसम्म जारी रहने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा वेद र विज्ञानका अन्तर्राष्ट्रियस्तरका ५०० भन्दा बढी विद्वान्को सहभागिता छ ।
वेदका विषयवस्तु अध्यापन हुने विश्वभर आठ वटा महर्षि वैदिक विश्वविद्यालय रहेका सो अवसरमा जानकारी दिइयो । सम्मेलनमा वैदिक शिक्षा, स्वास्थ्य, कृषि, वास्तुलगायत विषयमा पनि छलफल हुनेछ ।
हाल नेपालका ८२ गुरुकुलमा रुद्राभिषेकसहित योग र ध्यानको कार्यक्रम सञ्चालन भइरहेको फाउण्डेशनले जनाएको छ । यसैगरी दुई दर्जनभन्दा बढी माध्यमिक तहका विद्यालयमा ध्यानसहितको चेतनामा आधारित शिक्षा दिइएको फाउण्डेशनका ध्यान शिक्षक मीनराज अधिकारीले बताए ।
हाल विश्वका १९२ देशमा भावातीत ध्यान र सिद्धि कार्यक्रमका नाममा यो ज्ञान दिने गरिन्छ । महर्षि महेश योगीले व्याख्या गरेको श्रीमद्भागवत्गीता नेपाली अनुवादसमेत सार्वजनिक गरिको थियो । सम्मेलनमा दिइएको जानकारीअनुसार श्रीमद्भागवतगीता १७६ भाषामा अनुवाद भइसकेको छ । रासस
प्रतिक्रिया