मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

गजलले चुमेको आकाश

गजलले चुमेको आकाश


अलिकति पीएँ त के भो ? 
अलिकति जीएँ त के भो ?
 
मिसाएर नशा यो गजलमा 
अलिकति दिएँ त के भो ? ….
 
ड्यालसबाट भर्खरै गजल उत्सवमा सहभागी भएर हुस्टन फर्केकी मलाई गजलका नशा यति बिघ्न चढेको छ, ज्यान जाला यो उत्रेला जस्तो छैन | यसैको उपज यो आलेख पनि हो | हुन पनि छ घण्टा निरन्तर गजल श्रवणको नशा अब सजिलै नउत्रिएकै बेश ! 
 
देउतालाई धिक्कार्दै भाग्य छैन भन्छन मान्छे 
देउताकै भाग्य बिगार्ने पो त ठूलो मान्छे 
 
म्याद पुगी अरुलाई झैँ काल लिन आउँदा 
भोली आउनु भन्दै टार्ने पो त ठुलो मान्छे …
 
मृत्युलाई आज होइन पख ! भोली आइज भन्ने सेरू उदासको फ्यान भएँ म | अति सहज ढंगले चोटिलो ब्यङ्ग प्रहार गर्न खप्पिस रहेछन उनी | मन र मस्तिष्कलाई प्रभाव पार्ने गजल कसलाई मन नपर्ला !
 
एउटा म छँदै छु, एउटा तपाईं हुनुहुन्छ ,
विदेशमा अर्को पागल जहाज चढेर आउँछ …
 
– भाइ पवन लामिछानेको यो दमदार शेरले विदेश पलायनको मार्मिक तस्विर खिचेको छ  | जसको प्रशंसा जति गरे नी कम हुन्छ |
 
मालिक! मेरो बस्तीले दशैं यसरी मनाउनु पर्छ 
पेट खाली छ, निधारमा चामल लगाउनु पर्छ …..
 
  • भाइ बासु पुष्पाका गजल जोशीला उस्तै , प्रस्तुति धमाका झन कुरै नगरौं ! 
 
मृत्यु सम्झदा सम्म पनि , आहा लाग्न थाल्यो 
अचेल कोहि मरेको सुन्दा,डाहा लाग्न थाल्यो 
 
हरियो खाट, सेतो तन्ना, पहेँलो सिरक आहा 
यस्तै यस्तै अचम्मको , चाहा लाग्न थाल्यो …..
 
  • सरू कालीको दर्द भरिएका मिठो गजलको शेरहरु हुन यी | 
 
गाडीमा घन्कि रहेछन शुरेस वाग्लेको गजल  – 
 
तिमी साथ भए भगवान पनि चाहिन्न 
मेरो रात जगमगाउ बिहान पनि चाहिन्न …
 
गजल उत्सव – २ मा सर्जकहरुले बाचन गरेका केही गजलले मलाई निरन्तर पछ्याई रहेका छन  | 
मेरो भान्चा, बिछ्यौना, बाटोघाटो काममा पनि आइरहने यी गजलको तारिफमा मेरो मनबाट निस्कने शब्द हो वाह ! 
अनि अर्को सम्मान सर्जकप्रति सलाम ! 
 
मनसँग मन जोड़ने गजलहरु उत्कृष्ट हुने नै भए | अमेरिकाको ६  वटा राज्य र १२  वटा शहरबाट सहभागी सबै  २६  गलकारहरुको गजलहरु एक से एक थिए , कहीं कतै खोट लाउने ठाउँ नै पाइएन  | 
 
साहित्यकारहरु गोवर्धन पूजा र  भुपेन्द्र महतसँग पहिले नै चिनजान थियो, फेरि  भेट्न पाइयो  | पदम विश्वकर्मा, कृष्ण कुशुम, नरेश गौतम, डिल्लु चम्लागाईं, किरण मानिके लगायतका अन्य गजलकारहरुसँग पहिलो रमाइलो भेटघाट थियो यो | यस्तो दुर्लभ भेट जुर्याउने गजल उत्सवप्रति नतमष्तक छु | 
 
हुस्टनबाट सतीश त्रिपाठी , विदुर दवाडी , अमृत लामिछानेको चोटिलो प्रस्तुतिले हुस्टनवासी हुनुको गौरव महसुस भईरह्यो | 
 
सबैलाई जुरमुर्याउने डालस आफै प्रसंशाको पात्र छ | खेम राज गैराघरे, राधाकृष्ण काफ्ले, नेत्र प्रसाद आचार्य, पूजा वागीश लगायतका सबै गजलहरु राम्रा थिए | 
 
गजल गायनले झन चार चाँद लगायो | केशव पौडेल, सविन दंगाल, भिम चापागाईं र बिलोल पोख्रेलको मिठो आवाजमा श्रोताहरु झुमेका थिए | 
 
गजल यात्रा र  नेपाल अन्तराष्ट्रिय साहित्य समाज डालस स्यावासीका हकदार छन |  गजल उत्सव -२  को लागि विशेष गरी भाइ पवन र बासु पुष्पाको जाँगर , आँट र हिम्मतको उच्च मूल्यांकन गर्नै पर्छ |  त्यस्तै गरी डालसका अन्य सहयोगी संस्थाहरु र साहित्यिक मनहरुको सहयोगले पनि उत्तिकै महत्व बोकेको छ | 
 
विदेशी भूमि, अति व्यस्त जीवन हुँदाहुँदै पनि नेपाली भाषा साहित्यको उत्थान र सम्वर्धनप्रति गजल यात्राको यो लगाव स्तुत्य छ | यस्तै सफलता मिल्दै गयो भने अमेरिका मात्र होइन अन्तराष्ट्रिय स्तरमै व्यापक हुन जाने उज्वल भविष्यलाई नकार्न सकिन्न | 
 
श्रोताले खचाखच भरिएको माहोल, उत्साहित सहभागी र हदसम्मको सन्तुष्टि गजल उत्सवको बेजोड सफल पक्ष हो | 
 
जिन्दगीको दुईदिन अविस्मरणीय बनेको सबै सहभागीले महसुस गरेका छन | केही गजल सर्जकहरुले यसको महत्व दर्शाउदै आफ्नो फेसबुकमा स्टाटस पनि लेखेका छन | 
 
यति हुँदाहुँदै पनि हामीले हाम्रा कमजोर पक्षलाई केलाउनु पर्ने हुन्छ | हामी कहाँनेर चुक्यौ त त्यसको समीक्षा पनि गर्न जरुरी छ  | ताकि आउँदा दिनमा यसलाई अझ परिस्कृत र ओजिलो बनाउन सकौं | 
 
निर्धारित समयमा कार्यक्रम शुरू र अन्त्य गर्न नसक्नु हाम्रो कमजोरी थियो | 
पट्यार लाग्ने वा लामो समयले गर्दा अन्त्यतिर हल खाली हुनु हाम्रो अर्को कमजोरी रह्यो | 
प्रत्येक सहभागीको एउटै मात्र गजल प्रस्तुत गरिएको भए अझ प्रभावकारी हुन्थ्यो भन्ने मेरो ठम्याई हो | अरु गजल रात्रिभोजमा वाचन गर्न पनि सकिन्थ्यो | 
कार्यक्रमको सबैभन्दा ठूलो सफलता त्यसको निष्पक्षता हो | गजल वाचनको लागि यदि वर्णानुक्रम अनुसार नाम बोलाइएको भए अन्त्यतिर गजल वाचन गर्ने सर्जकहरूले गुनासो गर्नुपर्ने थिएन | 
हामीले कमजोरी, गल्तीहरू बाटै सिक्दै र परिमार्जित गर्दै जाने हो | आगामी दिनमा यी गल्तीहरु हामीसबैलाई पाठ हुनेछन | 
 
गजलको मेरो पहिलो पाइला गजल उत्सव -२  सँगै शुरु भएको छ | एक से एक सर्जकसँगको भेट मेरोलागि अत्यन्तै सुखद र उत्साहप्रद रह्यो | जुन जीवन पर्यन्त मेरो मानसपटलबाट मेटिने छैन |
 
अन्त्यमा ,
यो ऐतिहासिक महाउत्सवपछि नेपाली गजल आकाशमा डालसलाई विश्वले चिनेको छ | यो पहिचान चानचुने नबनोस | 
शिखर चढेर ऊँचाई नाप्नेहरुलाई बताईदिनु  
म त डुबेरनै आहा ! नौलो क्षितिज चुमिरहेछु !!