हिमालयखवर संवाददाता
न्यूयोर्क (अमेरिका) – आधा शताव्दी अघि नेपालमा नयाँ बनेका सडकहरुमा सबैभन्दा पहिले गाडी चलाउनेमा सरदारजीहरु हुन्थे । शीरमा फेटा गुथेका तिनै सरदारजीहरुका चेलाहरु अहिले गाउँगाउँमा उत्पादन भएका छन् । एक हिसाबले भन्नुपर्दा नेपाल सार्वजनिक सवारी साधन सञ्चालन गर्न आवश्यक सवारी चालकमा आत्मनिर्भर भएको छ ।
तर, अमेरिकामा अहिले ठूला मालबाहक ट्रक, जसलाई १८ पाङ्ग्रे (एटिन ह्विलर) भनिन्छ । ती १८ चक्के ट्रक चलाउन सक्ने ड्राइभरको ठूलो अभाव भएको छ । जसलाई पुरा गर्न दुई वर्षयता ३० हजार पञ्जावी (शिख) हरु ड्राइभिङ पेशामा लागेका छन् ।
सिबिएस न्यूजले जनाए अनुसार अरु कतिपय पेशामा लाग्न शिख सम्प्रदायले पाल्ने लामो कपाल, दाह«ी जुँगा, शीरमा बेर्ने फेटाले गर्दा सुरक्षात्मक अप्ठेरो पर्छ । अरु काममा लाग्नका लागि शीरमा फेटा बाँध्न नपाइने, कपाल र दाह«ी जुँगा पाल्न नपाइने कारणले गर्दा उनीहरु आफ्नो परम्पराबाट पछि हट्नुपर्ने अवस्था छ । तर ड्राइभिङ पेशामा लाग्दा यी कुनै पनि अवरोध नहुने भएकाले पछिल्लो दुई वर्षमा ३० हजार शिख सम्प्रदायका व्यक्तिहरु ठूला ट्रक चलाउन आकर्षित भएका छन् ।
वासिङटन पोष्टले जनाए अनुसार अहिले अमेजन, वालमार्ट, जनरल फुड्स, टाइसन, फेडेक्स, युपिएस जस्ता ठूला कम्पनीहरुका लागि डेलिभरीका निम्ति ५१ हजार ट्रक चालकको तत्काल आवश्यकता परेको छ । अमेरिकन ट्रकिङ एसोसिएसन (एटीए) का अनुसार माग अनुसार ट्रक चालक नपाउँदा सामानको डेलिभरीमा ढिलाइ हुँदै आएको छ ।
मिनिसोटा राज्यस्थित ब्रेनी ट्रान्सपोर्टले केही महिना अघि ड्राइभरको पारिश्रमिकमा १५ प्रतिशत वृद्धि गरेको थियो । कम्पनीकी प्रमुख जोयस ब्रेनीका अनुसार पारिश्रमिक बृद्धि गर्दा पनि कम्पनीले आवश्यक अनुसार चालक पाएको छैन । उनले बार्षिक ८० हजार डलर पारिश्रमिक हुने गरेको बताइन् ।
एटीएले आगामी वर्षहरुमा यो समस्या झनै चर्किने जनाएको छ । मध्य अमेरिकी राज्य वोमिङका मिन्टु पन्धेर त्यस्ता शिख हुन् जस्ले साथी, सहकर्मीहरुलाई १८ चक्के ट्रक चलाउन प्रेरित गर्दै आएका छन् । १३ वर्ष अघि सानो ट्रेलर किनेर ट्रक चालक भएका मिन्टुले अहिले ल्यारमीमा ट्रकस्टप खोलेका छन् । जहाँ शिख मन्दिर बनाएका छन् । ट्रक चालकहरुलाई आवश्यक पर्ने खानेकुरा, कपडा लगायता सबै बिक्री गर्दै आएका छन् ।
१८ पाङ्ग्रे ट्रक चलाउँदा अमेरिकाको पूर्बी तटीय शहरदेखि पश्चिम तटीय शहरसम्म पुग्नुपर्छ । सडककै ट्रकलाई छेउ लगाएर सुत्नुपर्ने, खाने बस्नेको कुनै ठेगान नहुने भएकोले धेरै अमेरिकीहरु यो पेशाप्रति आकर्षित छैनन् । परिवारसँग लामो समय छुट्टिनुपर्ने र सुरुमा पारिश्रमिक समेत तुलनात्मक रुपमा ज्यादै कम हुने भएकोले अमेरिकीको ड्रिम–जबका रुपमा यो पेशा स्थापित हुन सकेको छैन ।
ट्रक ड्राइभिङमा बार्षिक ८० हजार डलरसम्म पारिश्रमिक हुन्छ । केहीले एकलाख डलर पनि कमाउँछन् । एकलाख तलब पुग्न ४० वर्षसम्म चलाउनुपर्छ । तर सुरुमा घण्टाको १७÷१८ डलरबाट सुरुवात गर्नुपर्ने हुँदा यो क्षेत्रमा जनशक्तिको अभाव भएको हो ।
सरकारी तथ्यांकलेनै देखाएको छ कि–मध्यमस्तरका ट्रक ड्राइभरले वर्षभरिमा बढीमा ४२ हजार डलर कमाई गर्छन् । वासिङटन पोष्टसँग माइकल डाउ नाम गरेका ट्रक ड्राइभरले गुनासो गरेका छन्–‘यही पेशाका कारण मेरो दुईपटक डिभोर्स भैसक्यो ।’
पोष्टले सातजना ट्रक ड्राइभरसँग गरेको अन्तरवार्तामा सबैले वाध्यतावशः यो पेशामा लाग्नुपरेपनि आफ्ना सन्तानहरुलाई भने लाग्न नदिने बताएका छन् । अमेरिकी समुदायमा ट्रक ड्राइभिङप्रति बढ्दो निराशा र अनाकर्षणले गर्दा जनशक्तिको अभाव बढेको छ ।
१८ चक्के ट्रक चलाउनु निकै जोखिमयुक्त, थकान लाग्ने पेशा भैकन पनि आकर्षक पारिश्रमिक नभएका कारण धेरै चालकहरु यो पेशाबाट विस्थापित भएका छन् । जसले गर्दा अमेरिकामा पञ्जाबीको वाहुल्यता ट्रक ड्राइभिङमा देखिएको छ ।
कुनै समय नेपालका सडकहरुमा पञ्जाबीले चलाउने ट्रकमा लेखिएका हिन्दी सायरी, गुरु नानकको तस्विर जस्तैगरि हिजोआज अमेरिकाका हाइवेहरुमा चल्ने १८ चक्के ट्रकहरुमा त्यस्तै शायरी देखिन्छन् । बलिउडका फिल्मी पोष्टरहरु, नायिकाका तस्विरले क्याबिन सजिएका हुन्छन् ।
अमेरिकाको उत्तरतर्फ पर्ने क्यानडामा पनि ठूला ट्रक ड्राइभरमा पञ्जाबी शिख समुदायकै वाहुल्यता छ । क्यानडाबाट प्रकाशित हुने क्यानडियन बजारका अनुसार ट्रक चालकमा ६० प्रतिशत हिस्सा पञ्जाबी समुदायको छ ।
अन्य उद्योग, व्यबसायमा काम गर्दा हप्तामा मुस्किलले ४ देखि ५ सय हुन्छ । तर ट्रक चलाउँदा चारदेखि पाँचहजार डलर कमाई हुने भएपछि पञ्जाबी समुदायको नयाँ पुस्ता ट्रक ड्राइभिङमा आकर्षित भएको छ ।
क्यानडामा सन् १९८० को दशकदेखि पञ्जाबीहरुको प्रवेश बढेको हो । तस्बिर: द क्यानाडा बजार
प्रतिक्रिया