मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

विश्व मधुमेह दिवस : मधुमेहले आँखामा असर

विश्व मधुमेह दिवस : मधुमेहले आँखामा असर


काठमाडौँ । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ । 
 
समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा (रेटिना)मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनेप्याथी भनिन्छ । मधुमेहको असरले गर्दा शुुरुमा आँखाको पर्दामा रक्तश्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुन्निने हुनसक्छ । मधुमेहले आँखाको पर्दामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने चिकित्सकको भनाइ छ । 
 
समयमै उपचार नभए अत्यधिक रक्तश्राव भई आँखाको दृष्टि सधैँका लागि गुम्ने खतरा हुने तिलगङ्गा आँखा प्रतिष्ठानका आँखाको पर्दा विशेषज्ञ डा रबा थापाले बताए । उनले भने, “मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको  (३० वर्षमुनि हुने मधुमेह) करिब सबै र दोस्रो प्रकारको ९३० वर्षपछि हुने)  मधुमेहमा करीब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ ।” 
 
आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुने र त्यतिबेला उपचारपश्चात् पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुने डा थापाले बताए । 
 
मधुमेहले आँखाको पर्दाको रक्तकोशिकामा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुन गई दृष्टि कमजोर हुन्न जान्छ । 
 
आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ । मधुमेहले शरीरका अन्य भागजस्तै आँखाको दृष्टि पर्दाको नसामा पनि असर गर्दछ । आँखाको पर्दा आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो । 
 
मधुमेहको रोकथाम र सचेतनालाई व्यापक बनाउने अभियानअनुरुप यस वर्षको विश्व मधुमेह दिवस ‘मधुमेह, हरेक परिवारको सरोकार’ भन्ने नारासाथ आज विश्वभर मनाइँएको छ । नेपालमा पनि विभिन्न स्वास्थ्य सम्बन्धी संघसंस्थाहरुले मधुमेह दिवस मनाएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाइरहेको छ । 
 
यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मधुमेहको आँखामा असरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिए । 
 
अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस ‘प्रकार दुई’ मधुमेहको जोखिममा छन् । साथै आधा जति मधुमेहका बिरामीलाई आफूलाई मधुमेह भएकै थाहा छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिन्छ । रासस