साहित्य सिर्जना

कालिम्पोङ्ग पुग्ने हतार र टिष्टाका छचल्काहरु

- लिला श्रेष्ठ

प्रकाशित |

दिउँसोको ठिक साढे तीन बजे सिलगुडीबाट कालिम्पोङ्ग जाने बस स्टार्ट भयो । हामी क्रमशः सिटमा गएर बस्यौँ । बस छुट्यो । मेरो मनमा अनेकौँ कुराहरु खेल्न थाले । भारतीय जनजीवनको स्तर झुल्न थाल्यो । साँच्ची यहाँको स्तर अत्यधिक फरक छ । सडकमा टिप्करी झाडू लगाउनेदेखि ठूला–ठूला उद्योगपतिसम्म । होटलमा जूठो थालको सिता टिप्नेदेखि विलासितसम्म आदि आदि । यति विशाल राज्य भएर, यति सम्पन्न राज्य भएर पनि जनजीवनमा समानुपातिक विकास हुन भने सकेको छैन भारतमा ।

सिलिगुडी बजार छोडेर बस उकालो लाग्न थाल्यो । शहरी वातावरणको आँखा पोल्ने प्रदूषणबाट स्वच्छ वातावरणको भूमिमा पाइला परेपछि म झक्झकिएँ । आहा ! कति स्वच्छ वातावरण ! आनन्दोल्लासमा म तरङ्गिएँ । मुन्टो उठाएर बसका सबै सिटहरूमा आँखा डुलाएँ । मलाई त उतै धरान–धनकुटामै यात्रा गरिरहेजस्तो लाग्यो । बसमा ९९ प्रतिशत नेपालीभाषीहरु थिए । उही आँखा, उही नाक, उही मुख ! खुशीले गद्गद् भएँ । कति मज्जा नेपालमै भएको आभास भयो । वास्तवमा सुगौली सन्धिअघि यो क्षेत्र नेपालमै त पथ्र्यो नि ! अहिले पो ...!

जति–जति बस अगाडि बढ्दै गयो । उति–उति स्वच्छ वातावरणको रमणीय दृश्यहरुसँग अपूर्व आनन्दको हृदयसाथ म हर्षले गद्गद् भएँ । कालिम्पोङको परिकल्पनामा चुर्लुम्म डुबेर अनेकौँ तर्कहरुमा रुमल्लिन थालेँ । “ताप्लेजुङ्गको राँगालाई कालिम्पोङ्गको चुलेसीले....... काटेर फूलै लाउँला केसरी खाउँला बेसरी ...।” मेरो कानमा गुञ्जिन थाल्यो । म सानै छँदा नेपाली गन्धर्वहरुले गाउने यो लोकगीत साह्रै मन पराउँथेँ । पछि ठूलो भएपछि रेडियो नेपालबाट पनि प्रसारण भएको सुनेको थिएँ । यसको रचनाकार, स्वरसंगीत कसको पो हो अहिले मलाई एकीन भएन । बारम्बार यो गीत मेरो कानमा गुञ्जिन थाल्यो ।

उकालो सकिएपछि बस टिष्टा नदीको किनारै–किनार बग्न थाल्यो । अत्यन्तै साँगुरो, घुमाउरो र कहाली लाग्दो टिष्टा किनारको भीरको बाटो टिष्टाको प्रवाह र छचल्काहरु आँखामा छचल्किँदा मुटुले ठाउँ छोड्यो । यस्तो बाटो छ भनेर मैले कल्पना पनि गरेको थिइनँ । कथंकदाचित बस खुस्कियो भने झ्वाम्मै टिष्टा नदीको बीचमा पुग्थ्यो ।

वारिपारिकी प्रकृति रसिली, हँसिली पहिरन पहिरेर गमक्क परेकी थिई । सडक बीच–बीचमा धस्केको पाइन्थ्यो । अकस्मात एउटा ट्रक ठ्याम्मै घुम्तीमा भेट भयो । न त ट्रक नै पछि सर्न सक्छ न त हामी चढेको बस नै पछि सर्न सक्छ । यात्रुहरुले “लौ न नि ... अब के गर्ने ...?” भन्न थाले । मैले रामनाम जपिसकेको थिएँ । दुवै निकै बेर रोकिए । कसो–कसो गर्दा दुवै अति असजिलो पाराले सकुशलै क्रस हुन सके धन्य छ ईश्वर ! ... धन्य छ ड्राईभर !!

टिष्टाको छालमाथि बुर्कुसी मार्न खोज्दै बस अगाडि बढ्यो । यो किनारको बाटो अझै अनन्त देखिन्थ्यो । साँझ झमक्कै पर् यो । बसको हेड्लाइट टिष्टाको छालमा छचल्किँदा मेरो मुटु पनि सँगै छचल्किन्थ्यो । अँध्यारोमा बारम्बार छलल्काहरु नदेखिने भएकोले मन एकप्रकार त ढुक्क हुन्थ्यो तर बसको आवाजसँग मिसिएर आउने टिष्टाको स्वरले मन नधमिल्याउन सकेन । बस अगाडि बढिरह्यो, बढिरह्यो ।

गौतमजी, म र देवेन्द्रजी एउटै सिटमा लहरै बसेका थियौँ । अब वारिपारिका दृश्यहरु नदेखिने भैसकेका थिए । बसभित्रै जोल्टिङ्ग खेल्दै हामी कालिम्पोङ पुग्ने कल्पनामा व्यस्त हुन थाल्यौँ । हाम्रो अगाडि हामीतिर फर्केर एउटी अर्धबैंसे महिला बसेकी थिइन् । उनीसँग हाम्रो परिचयको आदान–प्रदान भयो । ती महिला कालिम्पोङ निवासी श्रेष्ठ रहिछिन् । उनीसँग हाम्रो भलाकुसारी चल्न थाल्यो । घरि–घरि बसले हामीलाई उनको काखमा पुर्याउँथ्यो । तैपनि ती महिलाले यसलाई सहजरुपमा लिन्थिन् ।

‘हामी नेपालबाट आएको कालिम्पोङ जाने’ भनेपछि ती महिला खुसी भइन् । उनले कालिम्पोङ्मा हामीलाई सस्तो र राम्रो लजमा पुर्याइदिने वचन पनि दिइन् । त्यसपछि ती महिला र गौतमजीबीच कुराकानी चल्न थाल्यो । एकछिनपछि गौतमजीले मलाई भन्नुभयो – “तपाईँ उहाँको सिटमा बसेर उहाँलाई यहाँ छोडिदिनोस्न है !” मैले पनि मानिहालेँ । तुरुन्तै मेरो सिट छोडिदिएँ । त्यसपछि अझ खुशी हुँदै ती महिलाले गफको डोरी फुकाउन थालिन् । बेला–बेलामा म बाटोमा पर्ने विभिन्न ठाउँका नामहरु चिनाइमाग्थेँ । ती महिला कत्ति पनि झर्को नमानी भनिदिन्थिन् । यात्रा खुवै हर्षोल्लासमा जान थाल्यो । सोम दाइ भने निदाइरहनु भएको थियो । कणेल दाइ घरि दृश्यावलोकन गर्दै र घरि मुसुमुसु हाँस्दै गौतमजीसँग ख्याल ठट्टा पनि गर्दै हुनुहुन्थ्यो ।

टिष्टाको पुल काटेपछि दुई—तीनजना युवतीहरु बसमा चढे । उनीहरुको हातमा फूलको बिटो थियो । मलाई भाइटीकाको यादले सताउन थाल्यो । लौ ! बस अलिकति मात्रै के हिँडेको थियो । एउटी युवतीले त देवेन्द्रजीको कपडाभरि बान्ता पो गरिदिई । देबेन्द्रजीलाई झोँक चल्यो क्यारे उहाँले आफ्नो सिट छोडेर त्यहाँ त्यही युवतीलाई राखीदिनुभयो । मैले देवेन्द्रजीलाई कानमा खुसुक्क सोधेँ “किन सिट छोडेको ? को पर्छ र ...?” “बाख्राकोटकी घिमिरे । गौतमजीको दायाँ–वायाँ नै राखिदिऊँ भनेर नि !” हामी दुवै हाँस्यौँ । देवेन्द्रजीले त अघि नै पो ती घिमीरे युवतीसँग परिचय गरिसक्नु भएको रहेछ । त्यसपछि देवेन्द्रजी ती युवतीसँग गफमा व्यस्त हुनुभयो । हामी नेपालबाट आएको नेपाली भनेपछि ती युवतीले हाम्रो खिल्ली पो उडाउन थालिन् । हामी ‘दैलो’ लाई ‘ढोका’ भन्छौँ रे ! ‘खिड्की’ लाई ‘झ्याल’ भन्छौँ रे ! ... आदि । बसको छतसँग जोडिएको डण्डीलाई समातेर झुण्डिँदै देवेन्द्रजी पनि युवतीसँग रसिक पारामा ‘दैलो’ र ‘ढोका’ अनि ‘खिड्की’ र ‘झ्याल’ को परिभाषा दिंदै ठट्टिँदै हुनुहुन्थ्यो ।

एकापट्टि कालिपोङकी श्रेष्ठ महिला अर्कोपट्टि बाख्राकोटकी घिमिरे युवतीलाई राखेर गौतमजी घरि यता घरि उता फर्किंदै कुराकानी गर्नुहुन्थ्यो । म यस आनन्दको रमझममा मन्त्रमुग्ध थिएँ । अकस्मात् मेरो झोला पहिले राखेको ठाउँमा नभएको खवर देवेन्द्रजीले बताउनुभयो । हामी सबै स्तब्ध भयौँ । देवेन्द्रजी ढोकातिर जानुभयो । यदि कोही बीचैमा उत्रे भने झोलातिर ख्याल राख्नैपर्थ्यो । आखिर रातिको मामला थियो । म सिटमुनि झोला छ कि भनेर छाम्न थालेँ । कतै भेटिएन । मैले कण्डक्टरलाई अनुरोध गर्दै भने “दाइ ! मेरो झोला हरायो, बत्ती बालिदिनोस्न !” हराउँदैन ! यहाँ काँ हराउँछ ? ... राम्ररी खोज्नु होस् न !” कण्डक्टरको यो आश्वासनयुक्त स्वरले हाम्रो लिखिर—लिखिर भएको मन केही साम्य त भयो तर छट्पटी भने हराएन । एकछिनपछि बत्ती बल्यो । थुक्क ! झोला त त्यही रहेछ नि ! सबैमा हाँसो फुट्यो । झोलाको सुर्तामा बिथोलिएको मनलाई फर्काएर हामी सबै पहिलेकै आनन्दमा डुब्न थाल्यौँ ।

निस्पट्ट रातमा आकाश—गङ्गामा चम्किने ताराजस्तै चम्केको बस्ती मिलिक्क देखियो । फेरि एकछिनपछि झलमल्ल देखियो । आहा ! कति आनन्द ! एउटा आनन्दमा अर्को आनन्द थपियो । ती श्रेष्ठ महिलाले भनिन् “त्यही हो कालिम्पोङ !” साँच्चिकै कालिम्पोङ चम्चम् चम्किरहेको थियो ।

बसले हामीलाई कालिम्पोङ बस बिसौनीमा पुर्याउँदा घडीले भारतीय समय साँझको सात बजाइसकेको थियो । अब हामीले गाँस–बाँसको टुङ्गो गर्नुपरेको थियो । ती श्रेष्ठ महिलाले हामीसँग उत्रेर बसबिसौनी नजिकैको एउटा लजतर्फ देखाउँदै “ऊ ... त्यहीँ लजमा गएर बस्नोस् ल !” भनेर आफ्नो बाटो समातिन् । अन्य लजहरु कहाँ छन् भनेर हामीलाई केही भनिनन् । हामी पनि त्यही लजमा गयौँ । होटलको नाम रहेछ ‘कोजी नूक’ । लजको काउण्टरमा गएर हामीले कोठाको बन्दोबस्त गर्यौँ । तीनवटा बेड भएको एउटा कोठालाई भा.रु. दुईसय १५ रुपियाँ भनेर सुरुमा तर्सायो । दलाली गर्दा–गर्दा बल्ल–बल्ल एकसय रुपियाँमा मिलाइदियो । हाम्रो कुम्लो कुटुरो सबै त्यहीँ राखेर त्यस नजिकैको उषा होटलमा गई खानपिन गर्यौँ ।

दीपावलीको चहलपहल सुरु भइसकेको थियो । पटका पड्केर कानै फुट्लाजस्तो ! घ्यार्र–घ्यार्र ट्याक्सीको आवाज उस्तै ! खानपिनपश्चात् सुत्न कोठातिर लाग्यौँ । सोम दाइ र कणेल दाइ एक–एकवटा खाटमा सुत्नुभयो । गौतमजी, देवेन्द्रजी र म दुईवटा खाट जोडी बनाएको अर्को एउटा खाटमा । उहाँहरु दुईजना छेऊपट्टि एउटै सिरक र एउटै तकियामा गुँडुल्किनुभयो । मलाई भित्तापट्टि एउटा तकिया र एउटा सिरक छाडिदिनुभयो । ओ ! खाटमा ढल्किनासाथ प्लाष्टिक पो खस्याक खस्याक गर्छ हाम्रो खाटमा !! साथीहरुले पनि मौका छोपिहाल्नु भयो । खितिति हाँस्दै मतिर इंगित गर्दै भन्नुभयो – “...तपाईँ कान्छो मान्छे, ओच्छ्यानमा पिसाब फेर्नुहुन्छ भनेर प्लाष्टिक ओच्छ्याइदिएको होला...।” जे होस् सुतियो ।

अर्कोदिन कालिम्पोङ बजार घुम्नु थियो । यहाँबाट कञ्चनजङ्घा हिमालको दृश्य रमणीय छ रे ! भनेको सुनेका थियौँ । उत्सुक हाम्रो आँखाले यो दृश्य देख्न सकेनन् । मिर्मिरेदेखि सूर्यास्तसम्म नै कञ्चनङ्घाको मौसमले घुम्टो आेिढरह्यो । बजारको कुना—कन्दरा र चेपचापको फेरो लाउँदा लाउँदै एउटा चोक ‘भानु’ र देवकोटाको सालिक आँखामा झुल्यो ।

“आज लक्ष्मीजयन्ती पनि हो !” कणेल दाइले सम्झाउनु भयो । यस्तो शुभमुहूर्तमा देवकोटाको सालिक अंकमाल गर्न पनि पछि परेनौँ । सबैले पालैपालो यी सालिकहरुसित अंकमाल गर्दै सम्झनाको परेलीमा फोटो खिच्यौँ । देवकोटाको सालिकमा लेखिएको थियो –

“राम्रो लाग्यो” हैन यो ढोङ

राम्रो लाग्यो – कालिम्पोङ ।”

त्यसैलाई अंग्रेजीमा यसरी उल्था गरेको रहेछः

“I liked not pseudo song

I liked Kalimpong”

देवकोटा कालिम्पोङ आएका रहेछन् । उनले यहाँ बसेर कविता साधना गरेका रहेछन् । कालिम्पोङको वर्णन गरेर । त्यसैले त उनलाई यहाँ श्रद्धा मिलेको रहेछ । धन्य कालिम्पोङबासीहरु ! साधुवाद छ नेपालीभाषी कालिम्पोङबासीहरु !!

अर्कातिर हातमा रामायण लिएको मुद्रामा भानुको सालिक थियो । उनको सालिकमा पनि लेखिएको रहेछ –

“यहाँ बसेर कविता याद गर्न पाऊँ

यसदेखि सोख अरुथोक म के चिताऊँ ।”

भानुले पनि यहाँ बसेर कविता याद गरेका रहेछन् । उनको पनि यहाँ श्रद्धा रहेछ । यो श्रद्धा मेरो मनमस्तिष्कमा घुम्यो । नेपालमा यस्ता आदिकवि र महाकविको श्रद्धा मनग्ये छैन । मैले कता–कता सुनेको थिएँ – विदेशीहरु भन्छन रे – “देवकोटा नेपालमा नजन्मी अन्य देश, जस्तै बेलायत, अमेरिकातिर जन्मेको भए उनी के–के बन्थे रे !”

घुम्ने क्रममै “कृष्ण प्रणामी मन्दिरको आकर्षणले हाम्रा आँखा तानिन्छन् । यो भवन निकै आकर्षक शैलीमा बनाईंदै छ । यस मन्दिरको अलिकति तल ‘अनाथ आश्रम भवन’ रहेछ । त्यहाँ थुप्रै अनाथहरु वृद्धा तथा केटाकेटी र युवक युवतीहरु पनि बस्दारहेछन् । अनाथहरुलाई आश्रय दिएर यस आश्रमले निकै गुन लगाएको रहेछ । एकछिनपछि उकालो चढ्दै दूरवीन—डाँडा पुग्छौँ । यस डाँडाबाट देखिने हिमाली श्रृङ्खलाहरु तथा वरिपरिका प्राकृतिक छटाले कुनै पनि पर्यटकलार्ई पक्कै मनोरञ्जन दिन्छ । यस डाँडाको टापुमा एउटा विशाल बौद्ध—विहार पनि रहेछ । बौद्ध भिक्षु तथा बौद्ध धर्मावलम्बीहरुको त्यहाँ धुइरो देखिन्थ्यो ।

(क्रमश:.......)

ड्यालस, अमेरिका

(सन् १९९२, संस्मरण डायरीबाट)

 


हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया