साहित्य सिर्जना

दशैंको आशिष- बलात्कार नगर्नु

- सुनिता बस्नेत

प्रकाशित |
बर्षौं देखि मनाएको दशैँ
आजकाल दशा लाग्छ मलाई
झुल्के घामले घरक्क दैलो खेल्दा खेरि
अाँगनमा रोइ रहेकि पाउँछु लुटिएकी चेली
 
आजकाल चोकमा कामदेव नाङ्गै नाच्छ अरे
चेलीहरु लुछिएका, चुँडिएका र चिच्याएका छन् अरे
छोरीको आजकाल गोठालो नै बस्नु पर्छ अरे
आमाहरुको रातको निन्द्रा र दिनमा भोक छैन अरे
 
किचिएका छन् छोरी जातका कोपिलाहरु
निर्मम चुँडिन्छन् दिनहुँ नारी जातका फूलहरु
आतंकित छन् अहिले घरमा बस्ने भवानीहरु
बस्तीबस्ती डुलेको छन् बासनाका ब्वाँसाहरू
 
मेरो समाज बहिरो रहेछ सुन्दैन कुनै चीत्कार
मेरो गाउँ अन्धो पो रहेछ देख्दैन कुनै बलात्कार
परदेशी मन कुँडिन्छ यहाँ सुनिन्छन् यस्ता समाचार
ठेकेदारहरु भएछन् बरै अति नै अति लाचार
 
छोरीको इज़्ज़त आफ्नै घरमा लुटिएको बेला
हर्ष, उल्लास र विजयको उत्सव मनाउने दशैँ
‘जयन्तिमंगलाकाली’ भनि जिस्क्याउँछ मलाइ
रोइरहेको मनले भन कसरि दिउँ म ‘बधाइ’
 
साँच्चै नै रातो टिका निधारमा थाप्ने हो भने
पहेंलो जमराले सुश्वास्थ्यको कामना गर्ने हो भने
आशिष दिनु यो दशैँमा छोरा, भाइ अनि भतिजलाई
बलात्कार कदापी नगर्नु कुनै नारी जातीलाई । 
 
- ड्यालस टेक्सस

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया