साहित्य सिर्जना

उत्तराधिकारी

- किशोर सापकोटा

प्रकाशित |
पार्किङ लटमा झरेका रंगीन पातहरुलाई कुल्चिदै शैलेश अगाडि बढ्यो । 
 
स्मृति कारबाट ओर्लिन अलि ढिला गरी । गाडीको ऐनामा मेकअप मिलाइ । थोरै मुस्कुराइ । गाडीबाट ओर्लिदा सुन्दर पातहरु पैतालामुनि नपरुन भनेर सावधानी अपनाइ । 
भर्खर सुरु भएको फल सिजन । रुखहरु आफ्नै पातले रंगिएका थिए । आँखा घुमाइ । मौसम अनुसार आफुलाई पनि निकै सुन्दर महसुस गरी उसले । उमेर ढल्किए पनि अझै राम्रै छु – मनमनै भनी । 
अमेरिकामा पातहरु झर्ने समयमा रुखहरु रंगीविरंगी हुने गर्छन । शैलेशको ध्यान मौसमपट्टी थिएन । पत्नीलाई समेत नपर्खिइ ऊ अघि वढ्यो । हिडाइको गति उमेरकोझै छ । पतिलाई भेटाउन स्मृतिले गति बढाइ । एउटा हलमा छिर्नै लागेको पतिको हात समाइ ।
 
खचाखच भरिएको हल । शान्त छ । मधुरो आवाजमा बजिरहेछन् वुद्धमन्त्रहरु । शैलेशले आँखाले खाली सिट खोज्यो । खाली देखिएका थोरैमात्रै कुर्सीहरुमा पनि रिजर्व ट्याग छ  । 
सामुन्नेमा जेम्स प्रकट भयो । शैलेश र स्मृतिको एक्लो छोरा । आमाबुबालाई बसाएर ऊ लम्कियो । 
 
जेम्स अमेरिकी संस्कृतिमा हुर्कियो । शैलेशको यस्तै चाहना थियो । छोरोको नाम पनि अमेरिकीझै जेम्स राखिदियो । शिक्षा त्यस्तै दियो । आफ्नो धर्म वारेमा केही भनेन । संस्कृतिबारेमा कहिल्यै दीक्षित गरेन । अमेरिका आएदेखिनै नेपाल सम्वन्धी कुनैपनि कार्यक्रममा सहभागी भएन । परिवारलाई सरिक गराएन । 
 
तर बढ्दो लहराले आफै थाँक्रो खोज्ने रहेछ । केवल एकदिनले जेम्सको जीवनको बाटो नै बदलिदियो । कलेजको एसाइन्मेन्ट गर्नका लागि उसले आनी कर्माको प्रबचन सुन्यो । बस्, तानियो । शैलेशले बुद्ध दर्शनको प्रभाववाट छोरोलाई रोक्न खोजेको हो, तर सकेन । 
 
खोलालाई पहाडी चट्टानहरुले रोक्न सक्दो रहेनछन्, समुद्रपट्टी नै बग्यो । ज्ञानले डरको दाम्लो चुँडाल्दो रहेछ ।
आफुभन्दा ज्ञानी भइसकेको छोरासँग उसले तर्क गर्न सकेन । चुप लाग्यो ।
 
हलमा बुद्धमन्त्र बज्न रोकिए । वातावरण शान्त भयो । मञ्चको अग्रभागमा जेम्स देखियो । चारैतिरवाट फैलिएका प्रकाशहरु उसको अनुहारमा ठोकिएका थिए । करिव २५ वर्षे जवान सांच्चिनै आकर्षक देखिएको थियो । 
 
हाम्रो छोरा कति राम्रो देखिएको छ है– स्मृतिले शैलेशसँग भनी । 
शैलेशले गोजी छामछुम पार्यो । आँखा मिच्यो । आँखा गाडेर हेर्यो । धेरै ठम्याउन सकेन । 
'आज पनि चश्मा बिर्सनुभयो ?' स्मृतिले सोधी । 
उसले सहमतिमा टाउको मात्रै हल्लायो ।
 
जेम्सले उपस्थितिका लागि सवैलाई धन्यवाद ज्ञापन गर्यो । आनी कर्माप्रति विशेष आभार व्यक्त गर्यो, जो कार्यक्रममा वुद्ध दर्शनसम्वन्धी प्रबचन दिन नेपालबाट आएकी थिइन । 
विहानको झुल्के घामझै आनी कर्मा स्टेजमा झुल्किइन । स्याफ्रोन रोव्सले ढाकिएको शरिर । खौरिएको टाउको । ज्योतिझै चम्किएको अनुहार । मिलेका दाँत । आनी कर्माको व्यक्तित्व निकै ओजस्वी थियो । सवैले उठेर स्वागत गरे । शैलेश पनि श्रद्धासाथ स्वस्फुर्त रुपमा उठ्यो । शायद, जीवनमा पहिलोपटक उसले कसैप्रति श्रद्धा व्यक्त गर्यो । आनी कर्माले सबैलाई बस्न संकेत गरिन । 
फेरी शान्त हल । सवै आनीलाई सुन्न आतुर थिए ।
 
मन्त्रोच्चारणबाट आनीको प्रवचन सुरु भयो । सवको मनमा एकप्रकारको कम्पन महसुस भयो । ओजपूर्ण आवाज । व्याकग्राऊण्डमा वुद्धमन्त्रको मधुरो धुन  । आनी कर्माको विद्धतापूर्ण प्रवचन र ओजपूर्ण आवाजले सबैलाई मोहित वनाएको थियो । मानिसहरु निष्प्राणझै टक्क अडिएका थिए । 
 
आनी कर्मालाई नेपालबाट अमेरिका ल्याउन जेम्सले निकै मेहनत गरेको थियो । हरेक वर्ष विदाको समयमा आनीको अभियानको लागि फन्ड रेजिङ गर्थ्यो । आनी कर्माले नेपालमा महिला स्वास्थ र शिक्षाको लागि अभियान चलाएकी थिइन । देशभर थुप्रै स्थानमा निशुल्क स्कुल र क्याम्पस सञ्चालनमा थिए । 
 
आफ्नो अभियानलाई सहयोग जुटाएकोवाट आनी कर्मा जेम्ससँग प्रभावित भएकी थिइन । त्यसैले त जर्मनीको पूर्वविनर्धारित कार्यक्रम सारेर उनी अमेरिका आइपुगिन । कार्यक्रमलाई सफल बनाउन उच्च तयारी गरिएको थियो र मानिसहरुको उपस्थिति पनि सोही अनुपातमा थियो । आनीको आवाज जादुमय भयो । सबै मानिसहरु चुपचाप उनमा समर्पित भए । तर शैलेशलाई यो आवाज
कताकता सुनेजस्तो लाग्यो । फेरी गोजी छाम्यो । चश्मा भेटिए हुन्थ्योझै गर्यो । आाँखा तन्कायो । मिच्यो । तर अहँ... अनुहार चिन्न सकेन । झट्ट अनितालाई सम्झियो । 
अनिताको जस्तै बोल्ने शैली रहेछ – आफैँसँग बोल्यो उ । 
दिमागको रंगशालामा अनिता दौडन थाली । 
 
000  
 
३० वर्ष अघिको काठमाडौं । सुशेली मासिकको कार्यालय । शैलेश सम्पादकको कुर्सीमा थियो ।  म्यागेजिन भोलीपल्ट बजारमा पठाउनु पर्ने चटारो । अधिकांश पानाहरु छापिइसकेका थिए भने अझै केही पाना फाइनल गरेर प्रेसमा पठाउनु पर्ने थियो ।
टेलिफोनको घण्टी वज्यो । 
शैलेशले हेलो पनि भनी नसक्दै नारी आवाज गुञ्जियो । 
'सम्पादकज्यूलाई पाऊन हजुर ।'
'बोल्दैछु '
'मैले एउटा कथा पठाएकी थिए । यो अंकमा प्रकाशित गरिदिन संभव होला हजुर ?'
'यो अंक त भोली बजारमा जाँदैछ, भ्याउँदैन । योग्य रहेछ भने म अर्को अंकमा हालिदिन्छु नि ।'
'हुन्छ । अर्कोमा चाहिं पक्का है हजुर ।' 
'हस्, म हेरौंला ।' 
फोन राख्नै लाग्दा शैलेशले रोक्यो ।
'ए पख्नु त, तपाइको नाम के रे ?' 
'अनिता ।' 
अनिताले नमस्कार गरेर सम्मानका साथ फोनबाट विदा भइ । 
शैलेश एकछिन चुप वस्यो । पानी पियो । के गरौ के गरौको भावमा शरीर बटार्यो । चाङवाट अनिताको कथा निकाल्न आदेश दियो । केही मिनेटमा हस्तलिखित कथा सामुन्ने थियो । 
कति राम्रा अक्षर – शैलेश मनमनै बोल्न चाहेको थियो । 
आवाज निस्किहाल्यो । छेऊमा भएका सहयोगीहरुले कर्मचारीहरुले मुखामुख मात्रै गरे ।
काम पन्छाएर शैलेश कथा पढ्न थाल्यो । केही अनुच्छेद पढ्यो । अनुहारमा खुसी छाएको प्रष्ट देखिन्थ्यो ।
 
000
 
भोलीपल्ट । अनिता पत्रिकाको कार्यालयमा आइ । पहिला आफ्नो परिचय दिइ । कार्यालयमा भएका सवैलाई मिठाइ बाँडी ।
धन्यवाद सर । 
सम्पादक भएकोले शैलेशप्रति उसले विशेष आभार व्यक्त गरी । 
'यो कथा हाम्रो कभर स्टोरीसँग मिल्दो रहेछ, त्यसैले मैले तत्कालै हाल्ने निर्णय लिएको हुँ ।'
खासै महत्व नदिएको झै देखाउन शैलेशले भन्यो । 
'यो मेरो पहिलो कथा हो' – अनिताले भनी – 'यो कथा आज प्रकाशित भएपछि मेरो फोन बजेको बज्यै छ । बधाइ पाएकी पायै छु ।'  
'राम्रो लेख्नु हुँदो रहेछ, लेख्दै गर्नुहोला ।'
 
दिनहरु बिते । भेट्ने क्रम निरन्तर चल्यो । सम्पादकलाई कथा चाहिने, कथाकारलाई पत्रिका । अनिता रुपमा जति सुन्दर थिइ, त्यो भन्दा सुन्दर कथाहरु हुन्थे । भाषालाई यसरी चलाउथी कि जसरी कुमालेले माटोलाई चलाएर भाँडा वनाउँछ । 
 
म्यागेजिनलाई अझ राम्रो बनाउन अनिताले आफै बसेर शैलेशलाई सघाउन पनि थाली । सुशेली म्यागेजिनलाई नामझै हरेक युवायुवतीको सुशेली बनाउन सफल भइ । उच्च घरानाकी छोरी रहिछे । कर्पोरेट हाउसहरुसँग निकट सम्वन्ध । केही महिनामा नै शैलेशको पत्रिकामा विज्ञापनको चाप वढ्यो । एउटा कथा लेख्ने केटीले शैलेशको जीवनको कथा नै बदलिदिइ । एउटा घिसिपिटी पत्रिका चलाइरहेको शैलेश एकाएक सेलिव्रेटी प्रकाशकको रुपमा स्थापित भयो । कथावबट सुरु भएको भेटघाटले अर्को कथा वुन्यो । प्रेमको । 
 
विवाहको भव्य तयारी सुरु भयो । शैलेश डेराबाट घरमा सर्यो । उच्च घरानाको जीवनशैली सुरु भइसकेको थियो । शैलेशलाई अनितासँगको सम्वन्ध जादुमय भयो । 
'तिमी मेरो जीवनमा कुनै रंगमञ्चकी नायिकाझै आयौ, केही पलमा नै जीवन फेरिदियौ'– विवाहका सामग्रीहरु किन्ने क्रममा एकदिन शैलेशले भन्यो । 
'म फेरि रंगमञ्चकै नायिका जसरी हराउन बेर लगाउँदिन नि' –आँखामा आँखा जुधाउँदै अनिताले भनि ।
शैलेशले तुरुन्तै टाढा हुन्छेकी झै अनितालाई च्याप्प समायो । 
'प्लीज, त्यस्तो नबोल । जुनीजुनी सँगै हुन चाहन्छु ।'
'जष्ट किडिङ ।'
अनिता मुस्कुराइ । शैलेशले शान्तिको श्वास लियो । 
विवाहको दिन आइपुग्यो । शैलेश अन्मिएर ढोकावाट बाहिरिदै थियो । निर्धारित समय भन्दा ढिला भइसकेको थियो । 
मोवाइलमा घण्टी बज्यो । पहिलो पटक त हतारमा भएकोले हेरेन । फेरि बज्यो । 
अनिताको रहेछ । 
अन्मिइ सके । 
हेलो पनि नभनी जवाफ दियो । 
'म अनिताको वुवा बोलेको' –उताबाट आवाज आयो ।
'मर्जी होस् हजुर ।'
'आज विवाह नहुने भो हजुर' – अनिताको वुवाको आवाजमा पीडा थियो । 
केही क्षणमा शैलेश अस्पतालमा पुग्यो । अनितालाई अपरेशन थियटरमा लैजाने तयारी भइरहेको थियो । उसले शैलेशलाई भेट्न चाहेकी थिइ ।
शैलेशले गएर अनिताको हात समायो । सहानुभूति दियो । अनिताले आँखाबाट तरर आँशु झारी । 
शैलेशले आँशु पुछ्दै भन्यो – 'हिम्मत नहार । निको हुन कति दिन पो लाग्छ र ?' 
अनितालाई अपरेशन थियटरमा हुलेपछि शैलेश बाहिरियो । सर्जरी सकेर अनिताको होस आउँदा शैलेशसँगै थियो । 
अस्पतालमा अनितालाई भेट्न शैलेश दिनहुँ पुग्थ्यो । आफ्नो प्रेमीलाई साथमै पाउँदा अनिता चाँडै तंग्रिइ । 
अनिता डिस्चार्ज भएर घर गएपछि भने शैलेश एक पटक पनि भेट्न गएन । मायाको रंग उडेर फुङ्ग भयो ।
अनिताले कल गरि । धेरैजसो उठाएन । उठाउँदा पनि हतार भएको बहाना गरेर राखी हाल्थ्यो । 
सोची – माया पनि एउटा विन्दुमा पुगेपछि स्वादविहीन हुने रहेछ । 
शैलेशको आफुप्रतिको बेवास्ता वुझी । हिम्मत हारिन । 
टेक्स्ट लेखि – 'तपाइसँग अन्तिम कुराकानी गर्न चाहन्छु । भोली ५ वजे जुनेली बारमा कुरीरहेकी हुनेछु ।' 
'म समयमा नै आउँछु,' तुरुन्तै जवाफ आयो । 
 
शैलेशको जवाफ पाउँदा ऊ खुसी भइ । यति दिन देखि दुखी रहेको दिलमा तीनवटा शव्दले मलहम लगाइदिए । 
जुनेली बारमा अनिताभन्दा पहिला नै शैलेश पुगेको थियो । अनितालाई पुष्पगुच्छाले स्वागत गर्यो । समाएर कुर्सीमा बसाल्यो । अनिताले शैलेशसँग आँखा जुधाइ । सुटमा सजिएर बेहुलाझै देखिएको थियो । एउटा पर्फेक्ट लोग्ने मान्छे । यसअघि शैलेशप्रति नराम्रो सोचेकोमा आफैलाई धिक्कारी ।
मनमनै भनी – 'भन्यो भने त आजै बेहुली भएर जान्छु ।'
 
अनिताको स्वास्थको वारेमा कुरा भए । चाँडै तङ्ग्रिएर बाहिर हिडडुल गर्न सकेकोमा शैलेशले खुसी व्यक्त गर्यो । धेरैदिन पछि भेट भएकोमा अनिता पनि कम खुसी थिइन । शैलेशको काँधमा ढल्किरही । सँगसँगै खाए । धेरैपछि सँगै खान पाउँदा दुबै रमाएका देखिन्थे । 
 
'अबको प्लानिङ के छ त ?' – निकै समय वितेपछि अनिताले शैलेशको काँधमा रहेको आफ्नो टाउको उठाउँदै सोधी ।
शैलेशले अनिताको दुवै काँधमा आफ्नो हातलाई राख्यो र आँखामा आँखा जुधायो ।
'आज म अमेरिका जाँदैछु' – संक्षिप्त जवाफ दियो ।
'ह्वाट ?'
अनिता आश्वस्त हुन चाही । 
शैलेशले त्यही कुरा दोहोर्यायो । 
अनिताको बोली अलि बदलियो । शायद एकपटक पनि जानकारी नदिएकोमा ननिको लाग्यो होला । आफुलाई सामान्य बनाउने प्रयास गरी ।
'कहिले फर्कने त ?'
'नफर्कने । सदाका लागि जाने ।'
जवाफ सुनेर अनिताको दुनिया भासियो । 
निकैबेर बोल्न सकिन । अनुहार हेरि । शैलेश शान्त थियो । मानौँ केही भएको छैन । 
शैलेशले ठट्टा गरेको हो कि भन्ने ठानी ।
'आर यु किडिङ ?' 
'आइ एम सिरियस ।'
अनिताको अनुहार रातो भयो । घाँटी गाँठो परेझै भयो । बोली थर्थरायो । आँखावाट आँशु वगे । शरिरका सवै अङ्गले प्रतिक्रिया व्यक्त गरे । प्रतिक्रियाविहीन त शैलेश थियो ।
'अनि हाम्रो विवाह ?'
अनिताले मनको अन्तिम प्रश्न गरी ।
'त्यो त त्यही दिन समाप्त भयो, जुन दिन तिमी मेरो घरमा बेहुली बनेर भित्रिने समयमा अस्पतालको पाहुना बन्यौ ।' 
शैलेशले एकदमै रुखो जवाफ दियो । 
अनिता बोल्नै सकिन । एकैपटक डाँको छाडेर रोइ । 
वरिपरीका मानिसहरुले हेर्न थाले । कोही नजिक आइहाल्न सकेनन ।
शैलेशले सम्हालेन । 
आफ्नै मुखमा सल कोचेर रुवाइलाई कम गर्न खोजी तर सकिन । 
जुरुक्क उठी । तत्कालै बाहिर जान दौडिन खोजी । खुट्टा लुला भएका थिए । सन्तुलन गुमाएर लड्न खोजी ।
शैलेशले च्याप्प समायो । कुर्सीमा बसायो । रुन अलि कम भयो  । 
अनिताले फेरी आशाको आँखाले हेरिरही ।
 
'हेर अनिता, परिवर्तनलाई हामीले स्वीकार गर्न सक्नुपर्छ'– केहीबेर रोकिएर शैलेश बोल्यो– 'म हाम्रो सुनौलो संसारको कल्पना गर्दै बेहुलो भएर अन्मदै गर्दा तिमी अस्पतालमा पुग्यौ । चिकित्सकहरुले कैँची त तिम्रो शरिरमा चलाए तर मेरा सपनाहरु काटेर फाले । म सन्तानविहीन संसार कल्पना पनि गर्न सक्दिन, तर त्यो दिन मेरो उत्तराधिकारी जन्माउने तिम्रो पाठेघर नै सर्जरी गरेर फालिएको थियो ।' 
एकाएक अनिताको रुवाइ पुरै रोकियो । भावशुन्य भइ । 
 
मनमनै सोची – 'स्वास्नी मानिसलाई सन्तान जन्माउने कारखाना मात्रै ठान्ने मान्छेसँग मैले कसरी मायाँ गरे होला ?' 
फेरि पनि शैलेश नै बोल्यो-'शायद तिमी यतिबला मलाई संसारको क्रुर मान्छे ठानी रहेकी छ्यौ होला है, आफुलाई चोट परेको बेला ठान्नु स्वभाविक हो ।' शैलेश केहीबेर रोकियो । अनिताको प्रतिक्रिया पर्खियो । 
अनितासँग कुनै प्रतिक्रिया नै बाँकी थिएन ।
 
'तिमी अहिले जति जलिरहेकी छ्यौ, त्यो भन्दा पनि बढी विवाहको दिन म जले' – शैलेशले भन्यो –' हामी विवाहलाई दुइ आत्माको मिलन त भन्छौँ, तर सपना दुइ आत्माको मिलनभन्दा धेरै परसम्म परिणाममा देखिरहेका हुन्छौ । मैले पनि त्यस्तै सपना देखेको थिए, बेहुलो भएर जव ढोकावाट अन्मिएर बाहिर निस्किए, मैले मेरो घर परिसरमा मेरा उत्तराधिकारीहरु खेलिरहेको देखेको थिए।  तर ती कल्पनालाई तिम्रो बाबाको एक फोनले उढाइदिए ।'
शैलेश शान्त भयो । पानी पियो । 
 
अनिता भावशुन्य थिइ । शैलेशका कुरा सुनिरहने या जाने भन्ने विषयमा समेत सोच्न सकिन । 
फेरि पनि शैलेश बोल्यो – 'अपरेशन थियटरमा तिमीलाई हुलेपछि म अर्की केटी खोजेर विवाह गर्न निस्किएको थिए । विवाहका लागि नातागोता धेरै जम्मा भएका थिए । धेरै खालका विचारहरु आए । सबैले अन्मिइ सकेपछि बेहुली लिएर नै फर्कनुपर्छ भने । त्यत्रा मान्छेमा कसैले पनि तिमीलाई पर्खनुपर्छ भनेनन् । एकसे एक केटीहरुका अफर आए । एउटा अमेरिकी ग्रीनकार्ड भएकी केटीको पनि कुरा आयो । मेरो दिमागले के सही के गलत निर्णय गर्न सकेन । सर्जरीका कैचीहरुले तिम्रो र मेरो सम्वन्ध पनि काटेजस्तो लाग्यो । तिमीलाई लिन जान अन्मिएको थिइ, अर्कीलाई भित्र्याए । उनैसँग सदाका लागि अमेरिका जाँदैछु ।' 
शैलेशले आफ्नो कुरा टुंग्यायो । 
अनिता केही बोलिन । शैलेशको फोनको घण्टी बज्यो ।
'ए पार्किङ लटमा आइपुग्यौ, एकै मिनेट पर्ख । म निस्किहाले ।'
फोनमा संक्षिप्त कुरा गर्यो । 
फेरि अनितालाई हेर्यो । 
 
'म तिमीसँग माफ माग्दिन । माफी लायक काम मबाट भएको छैन' – केहीबेर चुप रह्यो । 
अनितालाई निहालेर हेर्यो र बोल्यो – 'तिम्रो सामु अब यसरि आँखा जुधाएर सधै बाँच्न सक्दिन । आफ्नो संसार वनाउने सोचेर विवाह त गरे तर त्यसैदिन देखि संसार सकिएको महसुस गरे । तिमीलाई घर पुर्याएपछि भेट्ने आँट सम्म पनि गरिन ।' 
अनिता केही बोलिन । भावशुन्य भइ । 
'ल हामी अब यसैगरि बाँचौ ल ।'
शैलेश अगाडि बढ्यो । अनिता पनि चुपचाप बाहिरसम्मै गइ । एकपटक फर्किएर पनि हेरेन । फटाफटी पार्किङ लटमा पुग्यो, जहाँ उसकी पत्नी स्मृति पर्खिरहेकी थिइ । 
 
000
 
स्मृतिले शैलेशलाई झक्झक्याइ । 
जाने होइन ? प्रबचन त सकियो त ।
 
शैलेशले यसो अगाडि हेर्यो । आनी कर्मा त्यहाँबाट गइसकेकी थिइन । मधुर स्वरमा वुद्धमन्त्रहरु बजिरहेका थिए । अहिले भने वुद्धमन्त्रले पनि उसलाई शान्ति दिन सकेन । बोलेन । शिथिल देखियो । पत्नीलाई पछ्यायो मात्रै । गाडीको चाबी वुझाएर र अर्को पटी बस्यो । स्मृतिले गाडी चलाउन थालेपछि मोबाइलमा इन्टरनेट ब्राउज गर्यो । आनी कर्माको बारेमा २० लाखभन्दा वढी सामग्री अपलोड भएका थिए तर खोजेको जवाफ थिएन । मनमा दुविधा भइरह्यो । 
 
आफ्नै पूर्वप्रेमिकाको वारेमा जान्न पनि इन्टरनेट सर्च गर्नुपर्ने दिन आए – आफैभित्र बेचैनीको हाँसो हाँस्यो । 
राती अबेरसम्म निद्रा भने परेन ।
 
भोलीपल्ट विहान शैलेश र स्मृति सदाझैं अलि ढिला ब्युँझिए । घरमा केही व्यक्तिहरु कुराकानी गरिरहेको आवाज सुने ।  शायद जेम्सका साथीहरु आएका होलान । यस्तै सोचे । फ्रेस भए निस्किए । उनीहरुका आँखा पहिला आनी कर्मा र त्यसपछि अन्य भिक्षुहरुमा परे । स्मृतिले आनी कर्मालाई सहजै चिनीहाली । अगाडि गएर नमस्कार गरी । शैलेशले पनि नमस्कार गर्यो । त्यसपछि उनीहरुका आँखा एकजना भिक्षुमा पुगेर टक्क अडिए ।  दिमाग शुन्य भयो । त्यो भिक्षु अरु कोही नभएर उनीहरुको छोरा जेम्स थियो ।
 
भिक्षु पोशाकमा सजिएको जेम्स बाबुआमाको सामुन्ने आयो । बाबुआमाको खुट्टा छोयो । शैलेश र स्मृति परिस्थिति नबुझेर चुपचाप उभिए मात्रै । 
'हिजो हतारमा चिनाउन पाइन,' आनी कर्मापट्टी हेर्दै जेम्सले भन्यो – 'उहाँ मेरो बुबाआमा हुनुहुन्छ ।' 
 
'शैलेशजीलाई म राम्ररी चिन्छु' – आनी कर्माले शान्त स्वरमा भनिन् – 'देशको होनाहार पत्रकार हुनुहुन्थ्यो । मलाई यो स्थानमा पुुर्याउन उहाँको अतुलनीय योगदान छ । उहाँको पलायनले देशलाई धेरै क्षति पुग्यो भन्ने लागेको थियो तर तपाइजस्तो देशलाई माया गर्ने सपुत जन्माउनु भएछ । उहाँ मेरा लागि महान हुनुहुन्छ ।' 
'धन्यवाद' – शैलेश त्यसभन्दा बढी बोल्नै सकेन । 
जेम्सले फेरी वुवाआमाको खुट्टा छोयो । दुबैको अनुहार हेर्यो । अलि भावुक पनि भयो । 
आशिर्वाद र विदा दिनु बुबाआमा । आजबाट म एउटा महत्वपूर्ण जिम्मेवारीमा जांँदैछु । 
स्मृति बोल्नै सकिन । 
छोराको अकस्मात आएको प्रस्तावले उनीहरुलाई के गर्ने र कसो गर्ने जस्तो स्थिति सिर्जना गरिदियो । 
'तँ हाम्रो एक्लो उत्तराधिकारी होस्, हामीलाई छाडेर कहाँ जान्छस् ?' शैलेश छोराको सामु गिडगिडायो ।  
आनी कर्मा अगाडि आइन । शैलेशको काँधमा थपथपाइन । 
 
'रगतको मात्रै उत्तराधिकारी हुँदैन शैलेशजी, विचारको पनि उत्तराधिकारी हुन्छ' – आनी कर्माले ओजपूर्ण आवाजमा भनिन् – 'रगतको उत्तराधिकारी त एकदुइ जना हुन्छन् तर विचारको उत्तराधिकारी लाखौ हुन्छन् ।' 
 
जेम्स फेरी बुबाआमाको अगाडि पर्यो ।
आनी कर्मालाई नै हेर्नुन । यदि उहाँ पनि घरवार भनेर बस्नुभएको भए कुनै चारदिवार भित्र मात्रै सिमित हुनुहुन्थ्यो होला तर उहाँले घरवार छाडेर बाहिर निस्किएकोले संसारभर यशकीर्ति छ । म उहाँको उत्तराधिकारी बन्न गइरहेको छु, यो भन्दा अहोभाग्य यो जीवनमा मेरो लागि केही हुनेछैन । 
शैलेश र स्मृति बोल्नै सकेनन् । 
 
'घरवार सम्हाल्नु पनि यो सृष्टिको महान कार्य हो जेम्स' – आनीले शैलेशपट्टी हेर्दै भनिन् – 'त्यो मेरो भाग्यमा थिएन र भाग्यले मलाइ यो बाटोमा डोहोर्यायो । 
शैलेशलाई पहाडले किचेझै पीडा झल्किन्थ्यो ।
 
'जेम्सलाई मैले मेरो ट्रष्टको उत्तराधिकारी बनाउने निर्णय गरे र उसले सहर्ष स्वीकार गर्यो, यो मेरो लागि धेरै खुसीको कुरा हो' –आनी कर्माले शैलेश र स्मृति दुवैका आँखामा आँखा जुधाउँदै भनिन् –'म तपाइहरुको अनुमतिका लागि पर्खिरहेकी छु ।'
 
'हाम्रो एक्लो छोराले साथ छाड्दा हामी अब कसरी बाँच्न सक्छौ र ?'  शैलेश भारी स्वरमा बोल्यो । 
'परिवर्तित परिस्थितिलाई वुझ्नुपर्छ शैलेशजी'– आनी कर्मा वोलिन्– 'जब म यो ज्ञानमार्गमा आउने निर्णय गरे, मेरो अघिपछि तलमाथि कोही पनि थिएन, एक्लै यो स्थान बनाए । तपाइहरुको छोरा त भाग्यमानी रहेछ, मेरो उत्तराधिकारी भएर नेपाल जान लागेको हो, तपाइहरुसँग भेटघाट गर्न त आइरहन्छ नि ।' 
 
'आशिर्वाद दिनुहोस् बुबाआमा, आनी कर्माले भनेझै म रगतको उत्तराधिकारी होइन, विचारको उत्तराधिकारी हुन चाहन्छु, मेरो विचारका उत्तराधिकारीहरु जन्माउन चाहन्छु ।'
जेम्सले बुबाआमाको पाऊ फेरी छोयो । कुनै पनि जवाफको अपेक्षा नगरी अगाडि वढ्यो । अरु भिक्षुहरुले पनि उसलाई पछ्याए । सवैभन्दा पछाडि आनी कर्मा लागिन । 
शैलेशका आँखा आनी कर्माको घाँटीमा अडिए, जहाँ उसको नामको ट्याटु अझै थियो ।
 
(लुइभेल, केन्टकी, अमेरिका) 

कथा

कथा -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया