मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

पुराना साहित्यकार एवम् रेडियोकर्मी दाहाल यज्ञनिधि रहेनन्

पुराना साहित्यकार एवम् रेडियोकर्मी दाहाल यज्ञनिधि रहेनन्


काठमाडौँ । शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिए । 
 
मिर्गौला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि मस्तिष्काघातका कारण अस्पतालको सघन उपचार कक्षमा अचेत अवस्थामा थिए । मस्तिष्कको शल्यक्रिया गर्ने या नगर्ने, गरेर उनको जीवन बच्न सक्ने नसक्ने वा शल्यक्रिया गर्दा नियमित डायलासिसलाई असर पर्ने त होइन भन्ने जिज्ञासा परिवारका सदस्य र चिकित्सकहरुबीच छलफल चलिरहेको थियो । बिरामीलाई भेट्नका लागि उनका श्रीमती र परिवारका सदस्यलाई पनि दिइएको थिएन । 
 
उनको समग्र अवस्था हेरेर श्रीमती सुधा दाहाल र चिकित्सक डा वसन्त पन्त सहितको टोलीले मस्तिष्कको शल्यक्रिया नगरी नियमित डायलासिससहित अब्जर्भेसनमा राख्न धापाखेलको सुमेरु अस्पतालमा ‘रेफर’ गर्ने निर्णय गरेको थियो । अन्ततः साँझ दाहाललाई बचाउन नसक्ने घोषणा चिकित्सकले गरिदिए । पछिल्लो समय रेडियो अन्नपूर्णमा हरेक शनिबार प्रसारित हुने ‘जदौ’ कार्यक्रमको सञ्चालक रहेका यज्ञनिधिलाई साहित्य र पत्रकारिताका खरो स्वभावका देशभक्त र राष्ट्रवादी स्रष्टाका रुपमा लिइन्छ । झर्रोवादी शैलीका दाहालले लामो समय दरबार हाई स्कूलमा नेपाली विषयको शिक्षण पनि गरेका थिए । 
 
“कार्यक्रम सञ्चालनबापत मासिक तलब लिएर पत्रकार र कर्मचारीलाई चिया ख्वाउनुहुन्थ्यो । उहाँ यसपल्टको शनिबारको कार्यक्रम सञ्चालनको तयारीमा हुनुहुन्थ्यो तर अचानक हामीले उहाँलाई गुमाएका छौँ,” रेडियोका स्टेशन म्यानेजर एवं साहित्यकार ठाकुर बेल्वासेले भने । मृत्युलाई पटकपटक नजिकबाट नियाँले पनि बाँच्नुको कलाबारे बोल्नु पर्दा थकित नहुने दाहाललाई युवा पुस्ताका स्रष्टा र सञ्चारकर्मीले पनि उद्घोषणकला र साहित्य सिर्जनाबारे सम्मानका साथ लिने गरेका छन् । 
 
साहित्यकार, रेडियोकर्मी यज्ञनिधिको भौतिक शरीर नरहेसँगै उनले रेडियो तरङ्गमा छाडेर गएका साहित्यिक वाणीहरु अमर भएका छन् । खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मेका दाहाल २०३० सालमा साहित्यमा लागेका उनले भानु मावि, दरबारमार्गमा लामो समय शिक्षण गरेका थिए । यसैबीच, २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बनेका उनको २०५७ फागुन १० मा मिर्गौला प्रत्यारोपणका कारण साहित्यिक कार्यक्रमको यात्रामा अल्पविराम लागेको थियो । 
 
पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक भएर, लोक जनजीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै ‘जदौँ स्रोता, जदौँ, खुल्यो साहित्य संसारको दैलो’ भन्ने यज्ञनिधिलाई गाउँ गाउँका बूढापाकाले समेत सम्झन्थे । पछिल्लो दशकका उनलाई अभिनन्दन गर्न गठित आयोजक समितिको ग्रन्थ, साहित्यकार रमेश शुभेच्छुको सम्पादनमा प्रकाशित ‘जदौँ’ कृति भयो भने पछि ‘जदौँ’ साझा प्रकाशनले उनको निबन्ध प्रकाशन गरेको छ । 
 
बोलीमा मिठास अनि भाषामा लयात्मकता र झर्रोपना अनि गणतान्त्रिक विचारले परिस्कृत यज्ञनिधिले लोकतान्त्रिक साहित्यिक आन्दोलनका समयमा आफ्नो अनामनगरस्थितको निवासलाई गणतन्त्र काव्यटार घोषणा गरेको विशेष स्मरणीय मानिन्छ । नाम नभएको नगरका रुपमा अनामनगरको नाम पनि दाहालले राखेका थिए । 
 
नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार हुँदै लोकतान्त्रिक साहित्यकार सङ्घ र पछि लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चलाई अस्तित्वमा ल्याई सक्रिय गराउन उनले जनताको सत्ता र लोकजीवनको सधैँ वकालत गरेका थिए । “दासता र रैतीबाट मानिसलाई नागरिक बनाउनुपर्छ भन्ने त्यसबेलादेखिकै मेरो अभियान हो । शरीरले साथ दिएको भए अहिले पनि त्यसलाई निरन्तरता नै दिने थिएँ,” उनले भन्ने गर्थे । 
 
यसैबीच, प्रगतिशील संघका अध्यक्ष मातृका पोखरेलले दाहाल सोच र चिन्तनका हिसाबले क्रान्तिकारी एवं प्रगतिशील हुनुहुन्थ्यो भन्दै उनको निधनबाट समाजले सांस्कृतिक रुपान्तरणको एक अग्रजलाई गुमाउनु परेको बताए । रासस