मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मिर्गौला बेच्ने पाँच गिरोह पक्राउ

मिर्गौला बेच्ने पाँच गिरोह पक्राउ


चितवन । आर्थिक प्रलोभन देखाइ मिर्गौला बेच्ने पाँच गिरोह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले २०७५ असार २५ गतेदेखि परिचालन गरेको ७ जनाको मेडिकल रेस्पोन्स टिम (एमआरटी)ले विभिन्न स्थानबाट उक्त गिरोहलाई पक्राउ गरेको हो । 
 
पक्राउ पर्नेमा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ४ बस्ने बर्ष ४१ का हरि परियार भनिने दुर्गाबहादुर दर्जी, रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ४ बस्ने बर्ष ३५ का बिक्रम पहरी, मकवानपुर जिल्ला बकैया गाउँपालिका ५ बस्ने बर्ष २८ का प्रकाश तामाङ, मोरङ जिल्ला बयरवन गाउँपालिका ६ बस्ने बर्ष ३४ का दीपक लिम्बु र रसुवा जिल्ला उत्तरगया गाउँपालिका ३ बस्ने बर्ष २८ का विशाल नेपाली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव निरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
 
पहारी, प्रकाश तामाङ र लिम्बुलाई साउन १ गतेका दिन चितवनबाट, दर्जीलाई सोही दिन काठमाण्डाँैंबाट र नेपालीलाई भने साउन ४ गते रसुवाबाट पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अशिक्षित, गरिब तथा दुर्गम भेगका मानिसहरूलाई आर्थिक प्रलोभन देखाई भारतको दिल्ली पु¥याएर उनीहरूको मिर्गौला निकालेर बिक्री गरेको आरोपमा पक्राउ गरिएको प्रनानि ढकालले बताए । 
 
दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पताल पुगी १/१ वटा मिर्गौला बिक्री गरेको र सोही क्रममा सर्वसाधारणलाई प्रलोभनमा पारी अस्पतालको सम्पर्कमा मिर्गौला तस्कर हुने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए । ‘मिर्गौला खरिद गर्ने मानिस खोजीदिए वापत एक जनाको मिर्गौला बिक्रीबाटै ५० हजार रूपैयाँदेखि एक लाख रूपैयाँ सम्म कमिसन लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
पक्राउ परेकाहरूमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मेडिकल सिटीको रूपमा विकास हुँदै गरेको चितवनमा विभिन्न खालका आपराधिक गतिविधि बढ्दै गएको भन्दै प्रहरीले निगरानी बढाएको छ ।