अमेरिका समाचार

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि उनको अभिव्यक्ति केही नरम देखिए पनि थप आक्रमणको सम्भावना कायमै छ ।

फक्स न्युजका अनुसार ह्वाइट हाउसमा बुधबार र बिहीबार यसबारे महत्त्वपूर्ण बैठक भएका थिए । ट्रम्पले बिहीबार पत्रकारहरूसँग इरानको आणविक कार्यक्रम स्थायी रूपमा समाप्त गर्न थप आक्रमण आवश्यक पर्ने वा नपर्ने विषयमा अमेरिकाले चाँडै निर्णय गर्ने बताए। उनले सम्भव भएसम्म इरानको बाँकी भाग नष्ट गर्न नचाहेको तर आवश्यक परे त्यसो गर्नुपर्ने हुन सक्ने उल्लेख गरे । 

Advertisement

यसअघि ट्रम्पले इरानको बाँकी सैन्य क्षमता, ऊर्जा पूर्वाधार र पुलहरूलाई निशाना बनाउन सकिने चेतावनी दिएका थिए । इरानको पुनर्निर्माणमा २५ वर्ष लाग्न सक्ने उनको अनुमान छ । यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले इरानमा प्रमुख सैन्य कारबाही पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको भए पनि ह्वाइट हाउसको औपचारिक निर्देशन प्राप्त भइसकेको छैन ।

यसअघि अक्टोबर ८ मा ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका थिए । निर्वाचनपछि इन्धनको मूल्यवृद्धि र युद्धप्रति जनसमर्थन घटिरहेको अवस्थामा थप सैन्य कारबाहीले प्रशासनलाई राजनीतिक चुनौती दिन सक्ने देखिएको छ ।

यसैबीच, इराकका प्रधानमन्त्री अली फालेह अल–जैदीले बिहीबार राष्ट्रपति ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्नो देशको भूमि छिमेकी राष्ट्रविरुद्ध आक्रमण गर्न प्रयोग गर्न नहुने बताएका छन् । उनले सबै राष्ट्रको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

इरानमाथि थप आक्रमण गर्ने वा वार्ताबाट द्वन्द्व समाधान गर्ने अमेरिकी निर्णयले हर्मुज जलघाँटी हुँदै हुने समुद्री ढुवानी र विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्ने देखिएको छ ।