मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

डा केसीको स्वास्थ्य अवस्था झनै जटिल

डा केसीको स्वास्थ्य अवस्था झनै जटिल


काठमाडौँ । चिकित्सा शिक्षा र जनताको स्वास्थ्योपचारमा सुधारको माग राख्दै १५ दिनदेखि जुम्ला पुगेर आमरण अनसनमा रहेका शिक्षण अस्पतालका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । 
 
डा केसीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै अनसनस्थलमा इमर्जेन्सीका औषधि तथा उपकरणहरु तयारी अवस्थामा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले बताए । 
 
डा केसीको स्वास्थ्य शनिबार बिहानैदेखि जटिल बनिरहेको छ । मुटुको गतिमा असामान्य  परिवर्तन देखिएको छ । उपचारमा संलग्न चिकित्सकहरुले भेन्टिलेटर र डिफिब्रिलेटर अनसन स्थलमा राखेको छ । साथै, इमर्जेन्सी अवस्थामा चाहिने सबै औषधि पनि सिरिन्जमा लोड गरेर तयारी अवस्थामा राखिएको बताइएको छ । 
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले डा.केसीको उपचार गर्न आफूहरु सक्षम रहेको बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै डा. केसीले जुम्लामै अनसन जारी राख्न चाहेको अवस्थामा आफूहरु उनको उपचार गर्न सक्षम रहेको बताएका हुन् । 
 
सत्याग्रहको १५ औँ दिनमा डा केसीको स्वास्थ्यमा दुई मुख्य समस्या देखिइसकेको छ  । रगतमा घट्दो सेतो रक्त कोशिकाको संख्यासँगै डा. केसीलाई घाँटीको संक्रमण पनि देखिएको छ । घाँटी दुख्ने, खसखस गर्ने, खोकी लाग्ने र आवाजमा परिवर्तन आएको उनको उपचारका संलग्न चिकित्सकले बताएका छन् । 
 
तर, डा केसीले आफूले राखेको माग पूरा नभई कुनै पनि एन्टिबायोटिक्स प्रयोग नगर्ने अडान राख्दै आएका छन् । स्लाइनपानीका लागि खोलिएको नसामा पनि संक्रमण देखिएर हात सुन्निएका छन् । यसरी हात सुन्निएको अवस्थामा बिरामीलाई निकै धेरै दुख्ने चिकित्सकहरु बताउँछन् । 
 
 
सरकारले वार्ता टोली नबनाएको भन्दै डा केसीले भद्र अवज्ञास्वरुप कुनै पनि स्वास्थ्य जाँच गर्न नमानेको उनको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । 
 
उनको मागको समर्थनमा दिनहुँजसो काठमाडौँमा विरोध ¥याली र प्रदर्शन भइरहेका छन् । विभिन्न पेसाकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी, चिकित्सक तथा सर्वसाधारणले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । डा केसीले शनिबार काठमाडौँमा आयोजित कोणसभाको सम्बोधनका लागि अनसनस्थलबाटै ‘अडियो रेकर्ड’ पठाएका थिए ।