मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नारायणगढ–मुग्लिन सडक भासियो, सवारी आवागमन एकतर्फी

नारायणगढ–मुग्लिन सडक भासियो, सवारी आवागमन एकतर्फी


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भासिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाइएको छ । 
 
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भासिएको हो । 
 
सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको आधा भागसम्म भासिएको खनालले बताए । 
 
नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भासिनेक्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । उनले तलबाट नदीले खोलेर भासिएको हुनसक्ने अनुमान गरिएको बताए । 
 
आज विज्ञहरुको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेले बताए । नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ । एकलेन थप्न करीब पाँच मिटर उचाइबाट भित्तो काट्नु पर्ने बताइएको छ । 
 
अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य शुरु गरिएको छ । सोही ठाउँमा २०६० सालमा रक स्वायल एङकरिङ गरिएको थियो । तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भाँसिएर रक स्वायल एङ्करिङ गरिएको बताए । 
 
भित्तोमा ड्रिल गरी १०, १५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङकरिङ भनिन्छ । सोही ठाउँको रक एङकरिङले काम गर्न छोडेर धसिएको पनि हुनसक्ने अनुमान गरिएको छ । 
 
हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सोही सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवातजावत गर्दछन् । रासस