मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

राजधानीमा दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढे

राजधानीमा दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढे


काठमाडौँ । वर्षायामको शुरुआतमा टाइफाइडका बिरामी बढेका छन् । दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् । 
 
गत वर्षको वर्षायामको शुरुआतमा भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताए । उनले भने, “गत वर्ष हप्तामा दुई–तीन जना मात्र टाइफाइडका बिरामी आउँथे, अहिले यो संख्या बढेको छ, अहिले हप्तामा आठ÷नौ जनासम्म यस्ता बिरामी प्रयोगशालाका जाँचमा देखिएका छन् ।” 
 
गत वर्ष हैजाका बिरामी टेकुमा आएका थिएनन् तर यस वर्ष वर्षायामको सुरुआतमा नै तीन जनामा हैजा देखिएको बताए । वर्षायाम शुरु भएकाले यो संख्या बढ्न सक्ने अस्पतालको भनाइ छ । टेकु अस्पतालमा आएका बिरामीमा आउँका बिरामी भने गत वर्षभन्दा कम देखिएका छन् । 
 
वर्षा हुने समय शुरु भएकाले सरुवा रोगका बिरामी अझै बढ्न सक्ने अनुमान अस्पतालको छ । गर्मीयाममा पानीको अभाव हुन, वर्षाका कारण पानीका मुहान दूषित भएको पानी पिउँदा र खानाका कारण बिरामीको संख्या बढेको हुनसक्छ । यो संख्या शिक्षण, वीर र पाटन अस्पतालमा पनि बढेको बताइएको छ । 
 
वीर अस्पतालका प्रयोगशाला विभागका प्रमुख डा हरिशचन्द्र उप्रेतीले हेपाटाइटिस ए, सी र ई तथा पखालाका बिरामी पनि आइरहेको बताए । यस वर्ष जेठ र असार १५ सम्म वीर अस्पतालको प्रयोगशालाबाट हेपाटाइटिस ई जाँच गराएका २५ बिरामीमध्ये नौ जनामा हेपाइटिस ई देखिएको थियो । उनले भने, “धेरैजसो पानीजन्य रोगका बिरामी टेकु जाने भएकाले हामी कहाँँ कम संख्यामा आउने गर्छन् ।” 
 
निरन्तर वर्षाका कारण पानी, कीट र हावाजन्य रोगको जोखिम बढेको छ । वर्षाका कारण पानीका मुहान् दूषित हुने हुँदा पानी उमालेर मात्र पिउन चिकित्सकले सुझाएका छन् । 
 
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सिधै मुहानबाट ल्याइएको पानी मात्र नभई किनेर ल्याइएको जारको पानी पनि उमालेर मात्र प्रयोग गर्नुपर्ने बताए । 
 
उनले भने, “जारको पानीमा पनि भर पर्ने अवस्था छैन, गत वर्ष पनि जारको पानी पनि दूषित पाइएको थियो, जारको पानी शुद्धीकराण नगरी पनि बेच्ने गरेकाले जोखिम छ, पानी उमालेर मात्र पिउनुपर्छ ।” 
 
दूषित पानी, सरसरफाइ नपुग्दा तथा भाइरस र ब्याक्टेरिया संक्रमणले बिरामीको संख्या बढेको असपतालका सरुवा रोग विशेषज्ञ पुनले बताए । 
 
दूषित पानी, हावा र खानाबाट सर्ने टाइफाइड, हैजा, आउँ, पखाला र रुखाखोकी छिटो एकबाट अर्को व्यक्तिमा सर्ने रोग हो । समयमा उपचार नभए यस्ता रोगले ज्यानसमेत लिन सक्छ । बान्ता हुने, पातलो दिसा हुनु र जीउ शिथिल हुने लक्षण देखिने हैजा रोग ब्याक्टेरियाबाट सर्ने गर्दछ । यसबाट बच्न स्वच्छ पानी, सफा शौचालय प्रयोग गर्ने, सफा, ताजा खानेकुरा खाने र साबुनपानीले हात धुने गर्नुपर्ने डा पुनको भनाइ छ । 
 
अस्पतालमा आउने बिरामीलाई हेर्दा हैजा र पखालाका बिरामीको संख्या बढ्नुको मुख्य कारण दूषित पानी भएकाले पानीमा सचेतता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । उपत्यकामा हैजाको जोखिम सधैँ रहने गरेको छ । हैजा, पखालासँगै हेपाटाइटिस ए, टाइफाइडजस्ता सरुवा रोगको पनि यो समयमा उच्च जोखिम हुने गरेको छ । रासस (तस्बिर : फाइल)