मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

धादिङमा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु, मार्पाक र सत्यदेवीमा पाँच घाइते

धादिङमा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु, मार्पाक र सत्यदेवीमा पाँच घाइते


धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ । 
 
अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा सत्यदेवीको साइस्वाराँका राजु गोलेको घर पूर्णरुपमा क्षति पुगेको छ । घटनामा राजुकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, छोरी १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं रामबहादुर केसीले जानकारी दिए । 
 
पहिरोमा गोले सकुशल छन् भने छोरा १२ वर्षीय विकास घाइते भएकाले स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि सदरमुकामतर्फ ल्याइँदैछ । 
 
यसैगरी, सोही गाउँपालिका–४ चिउरीखर्कमा घरमाथिबाट आएको पहिरोले शमशेर घलेको घर पहिरोले पुरेको छ । पहिरोमा पुरिएका ६५ वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको छ । 
 
सुतेको अवस्थामा पहिरो आएपछि उनीहरु कँही भाग्न नसकेर पुरिएका थिए । मृतकको शव आज बिहानमात्र प्रहरीले गाउँवासीको सहयोगमा निकालेका थिए । 
 
यसैगरी, सोही वडाको टोड्केमा पहिरो आएर हरिबहादुर रिजाल, लालबहादुर थापामगरको घर पुरिएर क्षति पुगेको छ । गाउँमाथिबाट पहिरो आएका कारण सोही क्षेत्रको खड्करी गाउँका १२ घर रातिदेखि जोखिम बढेपछि विस्थापित भएर मड्किला गाउँमा आश्रय लिएर बसेको गोपाल रिजालले जानकारी दिए । 
बस्ती बस्न अयोग्य भनिएपनि गाउँवासीले सोही गाउँमा घर बनाएर बस्न थालेका थिए । लगातारको पानीका कारण गाउँमाथिबाट पहिरो खस्न थालेपछि एकबहादुर थापामगरसहितका १२ परिवारले राति नै गाउँ छाडेका हुन् । 
 
यसैगरी, नेत्रावती डपजोङ गाउँपालिका–१ मार्पाकस्थित ढोकरपुर गाउँमा पहिरो गएपछि पाँच घरमा क्षति पुगेको छ । गाउँका दीपक गुरुङ, मानबहादुर गुरुङ, सन्तमान गुरुङ, वीरबहादुर गुरुङ तथा दलमान श्रेष्ठको घर पहिरोले पुरेको हो । 
 
वर्षाका कारण आएको पहिरोमा परेर ६९ वर्षीय हीरामायाँ तामाङ, ६५ वर्षीय सन्तमान तामाङ र ६० वर्षीया मीनाकुमारी श्रेष्ठ घाइते भएकाले उपचारका लागि स्वास्थ्यचौकी लगिएको छ । 
 
खनीयाबास गाउँपालिका–४, पाख्रीबोटमा पहिरो गएर तीन घर पुरिएको छ । घटनामा २३ वर्षीय रविन गौतम, २३ वर्षीया कल्पना गौतम तथा दुई वर्षीया रेश्मी गौतम घाइते भएका छन् । 
 
घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर जान सकेको छैन जसले गर्दा दार्खास्थित इलाका प्रहरी कार्यालयमा रहेका प्रहरीको टोली विभिन्न घटनास्थलमा गएको छ । 
 
वर्षको शुरुवातमै पहिरोले धनजनको क्षति पुगेकाले घटनास्थलमा राहत पु¥याउन जिल्ला प्रशासन कार्यालयबाट राममणि मिश्रको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको, मृतकको गाउँमै परीक्षण गर्नका लागि डाक्टरको टोलीसमेत पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए ।रासस