मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ । 
 
सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ ।
 
राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडकखण्डको जोखिम मोल्नु पर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिँदैन । जसका कारण घण्टौँ सडकमा खतरा व्यहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनु परेको छ । 
 
नारायणगढबाट मुग्लिनसम्मको दूरी ३६ घण्टाको समय लाग्ने गर्छ । तर पहिरोका कारण सडक अवरुद्ध हुँदा लामो समयसम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था रहेको छ । पश्चिम नेपालबाट काठमाडौँ जान आउने सवारीका साधन बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जान सक्ने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । 
 
बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दूरी १५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दूरी २३३ किलोमिटर पर्छ । ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने भएपछि यात्रु र सवारी चालकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने उनको सुझाव छ । करिब एक घण्टा ३० मिनेट बढी यात्रा गरेपछि यो जोखिम छल्न सकिन्छ । 
 
त्यसैगरी, पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौँ जाँदा १४६ किलोमिटर दूरी पर्छ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौँ जाँदा १८७ किलोमिटर दूरी पर्ने खनालले बताए । 
 
यो दूरी ४१ किलोमिटरमात्रै बढी हो । जुन एक घण्टाको थप यात्राले सहज पार गर्न सकिन्छ । तर पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौँ जाँदा ११५ किलोमिटरमात्रै पर्छ । हेटौँडा– नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ जाँदा भने २१८ किलोमिटर पर्छ । यो सडक प्रयोग गरेमा १०३ किलोमिटर दूरी कम हुन्छ । वैकल्पिक मार्ग प्रयोग गर्न सकिएमा यतिबेलाको जोखिममा कमी आउने आयोजनाका प्रमुख रोहितकुमार विसुरालले बताए । 
 
नारायणगढबाट काठमाडौँ जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर, त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दूरी छोटो पर्छ । यद्यपि यी सडक कम प्रयोग भई सवारीको चाप नारायणगढ–मुग्लिन सडकखण्डमा बढिरहेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैकल्पिक मार्ग प्रयोग गर्ने र जोखिम कम गर्ने विषयमा आजै छलफल गर्न लागिएको बताए । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले यो सडक प्रयोग गर्दा सावधानी अपनाउन सूचना जारी गर्दै आएको र पहिरो खसेलगत्तै सकेसम्म छिटो सफा गर्ने काम भइरहेको बताए । यद्यपि पहिरो खसिरहेकाले वैकल्पिक मार्ग प्रयोग गराउन सकेमा सवारी चापमा कमी आउने उनले बताए । 
 
राजधानी प्रवेश र बाहिरीने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन् । पछिल्लो समय सडकस्तरीय बनेसँगै सवारी चाप थपिएको थियो । यो सडकको स्तरोन्नतिका क्रममा अधिकांश ठाउँमा भित्तो काटिएकाले पहिरोको जोखिम उच्च भएको हो । रासस