साहित्य/सिर्जना

भित्ते पात्रो

भित्ते पात्रो


संघारमा नयॉ वर्षको पदचाप सुन्दा खेरि
ढोका खोल्न आतुर र उत्ताउलिएकि म
उसंग आफ्नोपन साट्न औंला गनिरहन्थें
उसंग नै रम्ने र झुम्ने रहरमा डुबि रहन्थें
उसैको आलिंगनमा आफ्नो गन्ध खोजिरहन्थें
सोर्ह सिंगारले अनुहारका मुजाहरु छोपेर पनि
उसैको प्रतिक्षामा बाटो ढुकेर बसिरहन्थें
उसैको आगमनको आभासले ढोका खोल्न हुत्तिएकि म
संजालमा नै शुभकामना महोत्सव मनाएकि म
अनायासै सिथिल हुन्छु, अनि ऑखा रसिला हुन्छन्
क्षितिज पारी उनी बेचैन छिन् अरे भनि सुन्दा
 
उनी त दरो पटुका बानेर रात भरि कोल्टे फेर्छिन् रे
सपनाको परिकारहरु मनै भित्र पस्किएर अघाउंछिन् रे
उनको पेटको ज्वाला मार्ने अन्नको भाउ त वरै
सगरमाथा चुलिए जस्तै माथि माथि चढ्दै गा’छ रे
प्रक्रितीले लछारपछार पारेर थलिएकि उनी बर्षौं देखि
आकासे छानो मुनि मनको पीर सरि तारा गन्छिन् अरे
कहिले काहिं त उनी लछारिने र पछारिने पनि हुन्छिन् रे
अबलाको नाममा कुटिएकि लुटिएकि हेपिएकि उनी
भाव विहीन ऑखा र रहर विहीन मनको मलामी भएर
निरिह प्राणी सरि आफ्नो जीवन घिसारि रहेकि छिन् अरे
 
धेरै पटक आए यी नयॉ बर्ष नयॉ अनुहार फेरि फेरि
अनगिन्ति बने उनैको नाम बेचेर काया बदल्ने योजनाहरु
तर पनि उनि उहि रुपमा छिन् विवश, निरिह र लाचार
सायद पॉच तारेमा उनैकोलागि योजना बनाउंदा
डकारेका गन्धहरुले उनको बस्ति नगन्हाएको भए
प्रशब खपेर जन्माएका सन्तानहरुले पसिना नबेचेको भए
उनको पेवा विर्तामा सन्तानहरुको लुछाचुंडी नभएको भए
उनि पनि म जस्तै लालायित हुन्थिन् होला यो दिन हेर्न
ती हातहरु सलवलाइ रहन्थे होला एउटा भित्ते पात्रों फेर्न
 

शेयर गर्नुहोस:

0
Shares