मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सर्वव्यापी सर्वेन्द्रलाई सफलताको शुभ कामना, सफल शैलेन्द्रलाई स्वागत…

सर्वव्यापी सर्वेन्द्रलाई सफलताको शुभ कामना, सफल शैलेन्द्रलाई स्वागत…


‘पोलिटिकल सेन्स वीथ ह्युमर’ केपी शर्मा ओली प्रधानमन्त्री, ‘फाइनान्सियल नलेज वीथ स्माईल’ डा. युवराज खतिवडा अर्थमन्त्री, ‘वर्क वीथ डेडिकेसन’ शैलेन्द्र खनाल शष्त्र आईजीपी, ‘सक्सेसफुल ईन एक्सन ‘ सर्वेन्द्र खनाल जनपद प्रमुख ! देशले यस्ता मान्छे पाउँदा पनि जनताले शान्ती र उन्नतीको अनुभुति गर्न पाएनन् भने पत्याउनै पर्छ, साँच्चै यो देश सतिले सरापेकै रहेछ !

यसअघि थुप्रै सफल काम गरेका सर्वेन्द्र खनाल आज प्रहरी प्रमुख बनेकाछन् । फुटबलमा फिक्सिङ गर्ने खेलाडी पक्राउको घटना होस् वा विभिन्न हत्या र अपरहरण काण्डका नायकहरूलाई सर्वाङ्ग गराउने योजना होस्, अपराधका यस्ता थुप्रै जालो चुँडाउने सर्वेन्द्र खनाललाई बधाई तथा शुभ कामना ।

पुलिसले चोर समात्यो, यो प्रमुख समाचार होइन । डाका पक्राउ गर्यो, यो पनि हाइलाइट गर्ने न्यूज    मानिँदैन । तस्करलाई कब्जामा लिने, गुन्डालाई गोली ताक्ने, अपहरणकारीलाई अदालत पुर्याउने, हत्यालाई जेल हाल्नेजस्ता कार्यहरू प्रहरीको दायित्वभित्र पर्ने सामान्य कर्तव्य हुन् ।

तर जब प्रहरी यी सामान्य दायित्वभन्दा माथि उठेर काम गर्न थाल्छ, त्यतिबेला समाचार मात्र होइन, उसलाई सहयोग, हौसला र धन्यवाद पनि दिनुपर्छ । ‘प्रहरीद्वारा नेताको भेषमा हिँड्ने डन पक्राउ परेको’ कुरा समाचार बन्नुपर्छ । ‘कर्मचारीको भेषमा हिँड्ने तस्कर समातेको’ कुरा न्यूजमा आउनुपर्छ । ‘खेलाडीको आवरणमा दौडने सट्टेबाज समातेको’ कुरा ब्रेकिङ न्यूज बन्नुपर्छ । ‘वरिष्ठ समाजसेवी’ को मुकुन्डो लगाएर जनता ठग्ने ठगलाई ठेगान लगाएको’ विषयलाई सार्वजानिक रूपमा स्वागत गरिनुपर्छ ।

तर सर्वेन्द्र खनालको मात्र नाम लिइरहँदा अपराध नियन्त्रणको योजना बनाउने प्रहरीको केन्द्रीय संगठनलाई नजर अन्दाज गर्नुहुँदैन । त्यसैगरी, ज्यानको बाजी लगाएर फिल्डमा खटिने जुनियर अधिकृत तथा सिपाहीहरूलाई मन खोलेर धन्यवाद दिँदा चाकडी ठहरिंदैन, गाली र तालीको सिद्धान्तअनुसार नै हुन जान्छ ।

सर्वेन्द्रहरूलाई पनि भ्रष्टको निवासमा खानतलासी गर्न जाँदा ‘बढुवा गराई दिने’ आस देखाईयो होला !

डनका ‘केन्द्रीय कार्यालय’मा छापा मार्न जाँदा ‘जागिर खाइदिने’ त्रास दिईयो होला ! अपहरणकारीका महलहरूमा रेड हान्दा ‘परिवार सिध्याइदिने’ धम्की पनि आयो होला ! यस्तो अवस्थामा पनि ज्यान, लोभ, डरको विषाक्त ग्रन्थिलाई कर्तव्य योगले शमन गर्ने राष्ट्रसेवकहरूलाई साधुवाद दिन किन आइतबार कुर्नु ! अपराध नियन्त्रणमा प्रहरीको सक्रियता जे–जति हुँदैछ त्यो ‘जागिरमात्र खाने’हरूबाट भएको होइन र सम्भव पनि छैन ।

राजनैतिक आवरणमा हुने अपराधहरूको आतंकसँग त्यो मात्र भिड्न सक्छ, जसले गुन्डागर्दीको पीडा आफैंले भोगेको छ, तस्करीको जालो आफ्नै आँखाले देखेको छ । अपहरण र हत्याले पीडितको दर्दनाक कथा हेरेको छ, पीडितको व्यथा सुन्न नसकेर तरक्क आँसु चुहाएको छ, त्यही राष्ट्रसेवकले मात्र अपराधको आगो निभाउन सक्छ । यसअघि हत्या, अपहरण, भ्रष्टाचारको हाँगा काटिरहेका ‘सर्वेन्द्र’लाई अपराधको जरै उखेल्ने शर्तमा पुन: बधाई तथा शुभकामना ।