मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बिरामीको मृत्यु भएपछि भरतपुर सामुदायिक हस्पिटलमा तनाव

बिरामीको मृत्यु भएपछि भरतपुर सामुदायिक हस्पिटलमा तनाव


चितवनको हस्पिटलरोडस्थित भरतपुर सामुदायिक हस्पिटलमा ढाडको उपचार गराइरहेका एक बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।
 
ढाडको अपरेशन गरेका रत्ननगर–१५, माधवपुरका ४५ वर्षीय सोमबहादुर तामाङको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्तले अस्पताल बाहिर विरोधमा उत्रिएका हुन् ।
 
बिरामी मृत्युपश्चात् तनाव भएपछि अहिले अस्पताललाई प्रहरीले सुरक्षा दिइरहेको छ । अस्पतालका चिकित्सक डा. कृष्ण पौडेलले सो बिरामीको हृदयाघातबाट निधन भएको जनाएका छन् ।
 
तर, मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चिकित्सकलाई कारबाही हुनुपर्ने माग गरेका छन् । फागुन ११ गते ढाडको अप्रेशन गरेका तामाङ सोमबार दिउँसो २ बजेसम्म आफन्तसँग कुराकानी गरिरहेका थिए । उनी अस्पतालको शौचालयमा लडेर हृदयाघात भएको अस्पतालको दाबी छ ।
 
तामाङको अप्रेशन हाडजोर्नी तथा नशारोग विषेशज्ञ डा. कृष्णप्रसाद पौडेललगायतको टिमले गरेको थियो । डा. पौडेलले मधुमेहका रोगीसमेत रहेका तामाङको हृदयाघात भएर मृत्यु भएको बताए । अस्पतालले सोमबार बेलुकी तामाङको मृत्यु भएको आफन्तलाई जानकारी गराएको थियो ।
 
अस्पताल परिसरमा उनका आफन्तहरु रोइकराइ गर्दै अस्पतालकै लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै कारबाही गरिनुपर्ने माग गरेका छन् । यस सम्बन्धमा पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ ।
 
चितवनमा निजी अस्पतालमा जथाभावी उपचार गर्दा बिरामीको मृत्यु हुने गरेको छ । केही साताअघि भरतपुरकै नेशनल सिटी अस्पतालमा एक बिरामीको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालले करिब ६ लाख रुपैयाँ क्षतिपूर्ति दिएर तनाव हल गरेको थियो ।