मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

‘तामाङ सोसाइटी अफ अमेरिका’ उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी ढुक्क छौ’ – लक्यान लामा

‘तामाङ सोसाइटी अफ अमेरिका’ उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी ढुक्क छौ’ – लक्यान लामा


‘तामाङ सोसाइटी अफ अमेरिका’ उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी ढुक्क छौ’ – लक्यान लामा, सदस्य सचिव, उत्तर अमेरिका तामाङ सम्मेलन आयोजक तदर्थ समिती उत्तर अमेरिकाभरी छरिएर बसोबास गर्ने तामाङहरु यतिखेर उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा जुटेका छन् । सम्मेलनको मिती जनवरी १३ र १४ मा न्युयोर्कमा हुने गरी तय भएको छ ।
 
अमेरिकामा सबै भन्दा पहिले दर्ता भएको तामाङ संगठन ‘तामाङ सोसाइटी अफ अमेरिका’लाई उत्तर अमेरिकामा छारिएर रहेका तामाङ संघ संगठनहरुको साझा छाता सँगठन बनाई यसको सामर्थ्यलाई अझ बलियो र गुणस्तरीय बनाउँदै लैजाने र यसलाई बृहत्तर तामाङ हितमा लगाउँने बारेमा आवश्यक्ता र सम्भावना पहिचान गर्न तामाङ सोसाईटी अफ अमेरिकाको आयोजनामा गत जनवरी महिनाको २६ र २७ मा न्युयोर्कमा एक भेला भएको थियो ।
 
भेलामा अमेरिकी राज्यहरुबाट तथा क्यानडाबाट समेत प्रतिनिधीहरु उपस्थित भै छलफलमा सहभागी भएका थिए । उत्तर अमेरिकी तामाङ सम्मेलनको लागि तयारी बैठकको रुपमा अँगिकार गरिएको सो भेलामा आवश्यक मुलभूत कुराहरु सहित गत मे महिनाको २० र २१ तारीक न्युयोर्कमा उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने निर्णय भएको थियो ।
 
पर्सा जिल्ला निर्मलवस्ती गाविस हालको ठोरी गाउँपालिकाको ब्रम्हनगरमा जन्मेका लक्यान लामाले नेपाल ल क्याम्पस काठमाडौंबाट स्नातक गरी त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् । नेपालमा कानून ब्यबसायी हुँदा सर्बोच्चा अदालतमा बहसको काम गरेको प्रशस्त अनुभव संगालेका लामा विभिन्न मन्त्रालयमा काम गर्दै समाज कल्याण परिषदका सहायक निर्देशकको पनि जिम्मेवारी सम्हालेको अनुभव छ ।
 
सन् २००७ देखि अमेरिकाको न्यूयोर्कमा बसोबास गरीरहेका लामाले तामाङ सोसाइटी अफ अमेरिकाको सचिव र महासचिव पदमा रही समुदायको लागि आफनो क्षमता अनुसारको योगदान गरि सकेका छन् ।
 
सबै भन्दा प्रस्ट पारी दिनुहोस् किन यसरी उत्तरी अमेरिकी तामाङ सम्मेलनको डेटलाईन सर्दै गएको छ ?
 
उत्तर अमेरिका भित्र बसोबास गर्नु भएका सम्पूर्ण तामाङहरुको साझा संगठन बनाउनु पर्ने भएकोले बृहत्तर रुपमा सबैलाई समेटेर सम्मेलनमा सहभागी गराउन र सबैको भावनालाई अटाउना व्यापक छलफल गर्न आवश्यक थियो । नाम मात्रको सम्मेलन गर्नु भन्दा केहि साझा भावना निर्माण गर्ने गतिलो प्लेटफर्म बनाउने प्रयास गर्दा समय सार्नु परेको हो ।
 
सम्मेलन तयारीको के के कामहरु पुरा भए ? अब बाँकी कामहरु चाँही के के छन् ?
 
गत जनवरी २७ तारिक न्युयोर्कमा भएको ऐतिहासिक भेलाले तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष शान्त थोकर संयोजक र सदस्य सचिवमा मलाई ज़िम्मेवारी दिदै २५ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ । त्यहि कमिटीले कार्य सम्पन्न गर्दैछ । हामीले बिधान उपसमिती, आर्थिक संकलन उपसमिती लगायत गठन गरेर तदारुकताका साथ काम भैरहेको छ । प्रचार प्रशारमा व्यापक जोड दिएका छौ । सम्मेलको लागि हल बुक भैसकेको छ । प्रतिनिधिहरु बस्नलाई व्यवस्था गरीसकेका छौ । छोटकरीमा भन्नु पर्दा हाम्रो तयारी अन्तिम अन्तिम चरणमा पुगी सकेको छ ।
 
बाँकि कामहरु भनेको समय सापेक्षा गर्दै जानु पर्ने हुन्छ । सम्मेलनबाट एउटा सशक्त कार्यसमितीको चयन समेत गरिने हुँदा अब निर्बाचन कमिटी गठन गर्ने प्रक्रियामा हामी रहेका छौ ।
 
त्यसो भए उत्तर अमेरिकाको साझा संगठन वनाउने कार्यमा व्यस्त हुनुहुन्छ?
 
हो, सदस्य सचिवको ज़िम्मेवारीको नाता र हाम्रो साझा समस्याको समाधान गर्ने संगठनको आवश्यकताले गर्दा उत्तर अमेरिकाको आस्था बोक्दै तामाङ समुदायको सारथी बन्न शक्ति सम्पन्न संगठन वनाउने अभियानमा लागेको छु ।
 
कस्तो खालको संस्थाको परिकल्पना गर्नु भएको छ ?
 
सोत र साधन सम्पन्न, उत्तर अमेरिका भरीका सम्पूर्ण तामाङ जातीको आस्था बोकी विश्व भरीका तामाङ जातीको सारथी बन्न सक्ने संस्थाको परिकल्पना गरेका छौ ।
 
कसरी संभव देख्नु भएको छ? सक्नु हुन्छ त ?
 
जीवनको सबै भन्दा ठुलो उपलब्धी भनेको समस्याको समाधान हो चाहे त्यों ठुलो होस् या सानों । समस्या भए पछि त्यसको निराकरण खोजिन्छ । हामीमा भएको समस्याको निराकरण गर्ने साधन भनेको हामीले परिकल्पना गरेको संस्था नै हो । २०४६ साल पछि हाम्रो समाजमा आएको परिवर्तनले हाम्रा समस्या र निराकरणका उपाय समेत तामाङ समुदायले बुझिसकेको मैले अनुभव गरेको छु । त्यसैले यो अभियानमा सबै क्षेत्रबाट हामीलाई सहयोग मिल्ने कुरामा म विश्वस्त छु ।
 
सबैको समान उद्देश्य र अभियान पनि प्रष्ट छन् भने समस्या के वन्ला र ? मलाई त लाग्दैन यो ठुलो समस्या हो भनेर । त्यसैले यति ठुलो अभियानमा सानोतिनो समस्याले त्यति ठुलो हिस्सा बोक्छ भन्ने पक्षमा म छैन । हामीमा आत्माविश्वास छ, मिलाएर लान्छौ ।
 
तामाङ सोसाइटी अफ अमेरिकाको इतिहासलाई नै लगेर जानु पर्छ भन्ने सुनिन्छ नि, के यो कुरामा अन्य राज्यका संस्थाहरु मान्न तयार होलान ?
 
तामाङ सोसाइटी अफ अमेरिकाको इतिहास सहित नजाने भन्ने कुरै आउदैन । इतिहास भनेको संगठनको सम्पति हो । यसको संरक्षण गर्नु प्रत्येक सदस्यको दायित्व पनि हो । त्यसैले हामीले सबै संस्थाहरुलाई स-सम्मान दिदै प्रत्येक संस्थाको इतिहास मिलाएर लैजानु पर्छ । त्यसो नगरेको खण्डमा एकताको अनुभूती नै हुदैन नि । हामी यो कुरामा स्पस्ट छौ ।
 
उत्तर अमेरिकी साझा संगठन वन्ने कुरामा ढुक्क हुनुहुन्छ ?
 
विज्ञहरुको राय अनि अनुभवीहरुको अनुभवलाई बोक्दै र नया सोच-विचारलाई अघि सार्दै हामी काम गरीरहेका छौ । उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी ढुक्क छौ र यही संगठन मार्फ़त हाम्रो भावि योजना तर्जुमा गर्नेअनि हाम्रो अभियान सफल हुने कुरामा पनि हामी पुर्ण रुपमा आशावादी छौ ।
 
एउटै शक्ति केन्द्र वनाउने कार्यले कतै भएका संघ/संस्थाहरु टुक्राउने त हैन?
 
शक्ति केन्द्र वनाउने कार्य भनेको संघ संस्थालाई एकता वनाउने हो । यदि टुक्रिन गयो भने हाम्रो अभियान असफल भएको मान्नु पर्छ । त्यसैले हामी त्यस पक्षमा अति संवेदनशील छौ । हाम्रो अभियान कसैको विगतका इतिहास मेट्न हैन, न त विगतका उपलब्धीलाई ईन्कार गर्न नै हो ।
 
यो केवल समय र परिस्थिती अनुसार हाम्रो अभियानलाई फरक ढंगबाट परिचालन गर्नका निमित्त संघ/संगठनलाई एकतावद्द गर्दै तामाङ समुदायको एउटै शक्ति केन्द्र वनाएर लैजाने हो । सबै संघ संस्थालाई मिलाएर लानुको अर्कों विकल्प म देख्दिन ।
 
धेरै पटक अभियानका कुरा गर्नु भयों तर अभियान प्रस्ट बुझिएन, बझाई दिनु हुन्छ की ?
 
उत्तर अमेरिकाको यो “केन्द्रिय संगठन” विश्व भरीका तामाङ समुदायको सारथी बनाएर हरेक तामाङलाई आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा क्रियाशील गराई सबल, सक्षम र योग्य तामाङ जनशक्ति बनाउन प्रयास गर्ने हाम्रो अभियान हो ।
 
कतै हिजो विशेष योगदान दिनेहरुको इतिहास मेटिने त हैन ?
 
पक्कै हैन । बरु हिजो जो जहाँ जसरी समाज परिवर्तनका लागी अग्रपंतिमा हुनुहुन्थ्यो, ती सबै व्यक्ति विशेषलाई स-सम्मान गर्दै विगतका घट्नाक्रमलाई लेखबद्द गरी इतिहासलाई भावि पुस्ताको अध्ययन केन्द्र बनाउदै तामाङ जातीको सम्पति वनाएर राखिने छ । यसो गर्दा योगदान मेटिने भन्द पनि कदर भएको महसुस हुनेछ ।
 
सम्मेलनमा बिभिन्न राज्यहरुबाट प्रतिनिधित्व हुने डेलेगेट्स छनौट प्रकृया कसरी हुनेछ ?
 
तामाङ संघ संस्था दर्ता भै सकेका राज्यबाट १० जनासम्म मनोनित गरी पठाउन सकिने छ भने संस्था दर्ता नभई सकेका राज्यबाट तीनजनासम्म प्रतिनिधी रहन सक्ने व्यवस्थाको निर्णय हामीले गरेका छौ । यस बाहेक सम्मेलन आयोजक तदर्थ कमिटीका सबैजना प्रतिनिधी रहने छन् ।
 
नेतृत्वको पनि वहस चलेको छ, कसरी चयन हुनेछ नया नेतृत्व चाँही ?
 
शक्ति सम्पन्न साझा संगठन वन्दै गर्दा नेतृत्वको वहस चल्नु स्वभाविक नै हो भन्ने मलाई लागेको छ र सबैले स्वभाविक नै मान्नु पर्छ भन्ने मेरो भनाई हो । तर यो बेला नेतृत्वमा को आउने वहस भन्द कसरी सबैलाई समाहित गरेर साझा संगठन वनाउने भन्ने महत्वपुर्ण छ । तैपनि नेतृत्वको गरम वहस चलेकै छ र यसले संगठनलाई मजबुद नै वनाउछ भन्ने मलाई लाग्छ ।
 
प्रक्रियाको सन्दर्भमा चाँही निर्वाचन कमिटीको गठन पछि गत बर्ष सम्मेलन तयारी बैठक स्वरुप भएको भेलामा भएका निर्णयहरु र तदर्थ समितीका विभिन्न बैठकबाट पारित निर्णयहरु समेतलाई आधार बनाएर निर्बाचन कमिटीले बनाएको मापदण्ड अनुसार निर्वाचन गरी कार्यसमितीको चयन गरिने सल्लाह भएको छ ।
 
नेतृत्वमा के के गुण हुन ज़रूरी हुन्छ जस्तो लाग्छ तपाईलाई ?
 
सबैको मनोभावनालाई बुझेर सहि र छिटो निर्णय दिन सक्ने अनि समय र परिस्थिति अनुसार चल्न सक्नेले राम्रो नेतृत्व दिन सक्छ जस्तो लाग्छ । जातीय संगठनमा चाँही यसको अलवा जातीय एजेण्डा राम्रो गरी बुझेको व्यक्तिलेमात्र नेतृत्व दिन सक्छ । त्यसैले नेतृत्वको सवालमा कुनै सौदा वाजी गरिनु हुदैन भन्ने मेरो स्पस्ट भनाई राख्न चाहन्छु ।
 
तपाई चाँही जातिय संगठनमा कहिले देखि लाग्नु भएको हो ?
 
“सामाजिक सेवा नेपाल” नामको संस्था खोलेर महिला र वाल-वालिकाको क्षेत्रमा काम गर्दा रोजीरोटीका लागी सर्वोच्च अदालतमा कानुन व्यवसायीको रुपमा वकालत गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल रहेर जातीय संगठनमा प्रवेश गरेको हो मैले । मेरो यात्रा दार्जिलिंगमा भएको दोश्रो तामाङ अन्तराष्ट्रीय सम्मेलनमा नेपालको तर्फवाट विधान संशोधन कमिटीमा काम गरेर शुरु भएको हो र आजसम्म विभिन्न तह तप्कामा काम गर्दै निरन्तर यही यात्रामा रहेको छु ।
 
सम्मेलन सफल बनाउनका लागि आम तामाङ जनसमुदायबाट के अपेक्षा राख्नु भएको छ ?
 
यो सम्मेलन हामी सबैको साझा अभियान हो भन्ने सोचेर सकारात्मक भै सुझाव सल्लाह र नैतिक सहयोग मात्रै दिनु हुँदा पनि हाम्रो मनोबल प्रशस्तै बढ्ने हुन्छ ।
हरेक कार्यक्रम गर्न आर्थिक आवश्यक पर्ने कुरा मैले भनी रहनु पर्दैन, सबैजना जानकार नै हुनुहुन्छ । सबैले एकताका साथ सक्रिय सहभागिता जनाउदा हाम्रो अभियान सोचे अनुरुप सफल हुने भएकोले हाम्रो अपेक्षा पनि यही रहन्छ ।